डेंगुको सङ्क्रमणबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले मन्त्रालयले डेंगु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो ।
मन्त्रालयले एक सूचना जारी गर्दै डेंगुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झूल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ”, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले भने ।
उनले अहिले पानी परिरहेकाले सचेत रहन सबैलाई आग्रह गरे । “दैनिक पानी परिरहेको छ । पानी जम्मा भई लामखुट्टेले फुल पार्दछ”, उनले भने “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ । डेंगुको सङ्क्रमणबाट बच्न सरसफाइ गर्न आवश्यक छ ।”
रोग नियन्त्रण शाखाका प्रमुख डा. दाहालका अनुसार सन् २०२२ सम्ममा ५४ हजार छ सय ३० जनामा डेंगु देखिएकामा ८८ जनाको मृत्यु भएको थियो । गत पुस १५ देखि हालसम्म सात सय एक जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।
मन्त्रालयले हरेक शुक्रबार डेंगी विरुद्धका अभियान सञ्चालन गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरिपरि सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरेको हो ।
सामान्य प्रकारको डेङ्गुमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि जस्ता लक्षण देखा पर्दछन् । नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेंगुको सङ्क्रमण देखिँदै आएको छ ।
मन्त्रालयका अनुसार सन् २००६ मा ३२, सन् २०१० मा नौ सय १७, सन् २०१३ मा छ सय ८६, सन् २०१६ मा एक हजार पाँच सय २७, सन् २०१७ मा दुई हजार एक सय ११, सन् २०१८ मा आठ सय ११ र सन् २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२० मा पाँच सय ३० र सन् २०२१ मा पाँच सय ४० जना डेंगुका बिरामी देखिएका थिए ।
नेपालमा न्यून चापीय प्रभाव सकियो
काठमाडौं । बुधबार साँझतिर भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव लगभग सकिएको छ । यस प्रणालीले बिहीबार सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा गराएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार, उक्त मौसमी प्रणालीका कारण डडेलधुरा, बाजुरा, डोटीलगायत स्थानमा सामान्यदेखि मध्यम वर्षा भएको थियो । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भेगमा हिमपात भएको थियो । "पछिल्लो २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको देखिएको छ । प्राय: ठाउँमा सामान्य र थोरै स्थानमा मध्यम वर्षा भएको देखिन्छ । उच्च हिमाली भेगमा हिमपात पनि भएको छ । हाम्रो वेदर क्यामेराहरूले पठाएका फोटोहरूले सामान्यदेखि मध्यम हिमपात भएको देखाएका छन्," उनले भने । उनका अनुसार, डडेलधुराको साहुखर्कमा १६ मिलिमिटरसम्म वर्षा भएको छ । यस्तै, बाजुरामा १३.४ मिलिमिटर ताथा डोटीमा १०.२ मिलिमिटर वर्षा भएको छ । तर, आजदेखि उक्त मौसम प्रणाली लगभग सकिएको मौसमविद् पुडासैनीले बताए । आज वाग्मती, मधेस र कोसी प्रदेशमा आंशिक बदलीको सम्भावना छ । “पश्चिम नेपालमा हिजो वर्षा गराएको पश्चिमी न्यून चापीय प्रणालीको असर अहिलेलाई लगभग सकिएको छ । आज वाग्मती, मधेस र कोसी प्रदेशमा थोरै बदलीको सम्भावना छ । बाँकी ठाउँमा मुख्यतया आज मौसम सफा रहनेछ,” मौसमविद् पुडासैनीले भने ।
विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी
लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।