डोल्पाका गुम्बाको बहुमूल्य सामान चोरी
डोल्पा । माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका धोस्थित झ्याम्पा गुम्बाको बहुमूल्य सामग्री स्थानीयले घरमा लगेर राख्छन्। १४ औं शताब्दीमा स्थापना गरिएको गुम्बाका सामान चोरी हुने डरले स्थानीयले सहमतिमै घरमा राख्ने गरेका हुन्। विशेष पूजा वा अन्य समारोहमा भने ती सामग्री गुम्बामै लगिन्छ। कार्यक्रम सकिएपछि फेरि घरमै फर्काइन्छ।
सोही गाउँपालिकाको सेरिङ गुम्बाको बहुमूल्य बुद्धमूर्ति र अन्य धातु पनि गाउँलेले घरमा राखेका छन्। गुम्बा सुरक्षाका लागि प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा चासो नदिएपछि ती सामग्री घरमा राख्नुपरेको स्थानीयको गुनासो छ।
बहुमूल्य सामग्री चोरी हुने आशंकामा घरमा लगेर राखिएका यी दुई गुम्बा उदाहरण मात्र हुन्। यहाँका अधिकांश गुम्बाका सामग्री चोरी भइसकेका छन्। बाँकी सामग्री पनि हराएर गुम्बा रित्तिने अवस्था आएपछि घरमा राखिएको डोल्पोबुद्धकै स्थानीय बासिन्दा तथा गुम्बाका अध्यता ङ्वाङ लुम्डुप गुरुङले बताए। उनका अनुसार मेकिङ च्याङचु छोइलिङ, टाकमार देवा, डोल्पा मेन्चीखाङगलगायत गुम्बाका सामग्री पनि व्यक्तिका घरमा राखिएका छन्। पछिल्लो समय डोल्पाका बौद्ध गुम्बाका सामग्री चोरी हुने क्रम बढेको छ।
गत वर्ष मात्र से फोक्सुन्डो गाउँपालिकाको राहत गुम्बाबाट ४२ वटा बुद्ध मूर्ति चोरी गरेको आरोपमा प्रहरीले दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको थियो। जिल्लाभरबाट कति मूर्ति चोरी भए भन्ने यकिन तथ्यांक कसैसँग छैन। गुम्बामा कति बहमूल्य सामग्री तथा मूर्ति छन् भन्ने तथ्यांक पनि राज्यसँग छैन।
तर, ९० प्रतिशतभन्दा बढी मूल्यवान सामग्री हराइसकेको गुरुङको भनाइ छ। गुम्बाभित्र ऐतिहासिक मूर्ति, लिपि, बहुमूल्य धातु, पेन्टिङ, बुद्धको अस्तुलगायत सामग्री राखिएको छ।
परापूर्वकालमा बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको ठाउँमा र बौद्ध दर्शनको अध्ययनको विस्तार गर्ने उद्देश्य राखेर मुलुकको विभिन्न ठाउँमा गुम्बा स्थापना गरिएको थियो। गुम्बाभित्र सुन्दर पेन्टिङ, बहुमूल्य सामग्री तथा पुरातात्विक हिसाबले महत्व राख्ने थुपै्र दस्ताबेज राखिएका हुन्छन्।
गुम्बाका सामग्री जतन गर्न सुरक्षा प्रबन्धसहित छुट्टै संग्रहालय खोल्ने र त्यही संग्रहालयमा यस्ता सामग्री राख्ने विषयमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, गुम्बाका अध्यतालगायत व्यक्तिसँग छलफल भइरहेको तामाङले बताए।
मुखमा पट्टी बाँधेर आउने चोरले लामालाई बाँधेर सामग्री चोर्ने गरेका छन्। गत वर्ष से फोक्सुन्डो र दुई वर्षअघि घाघर गुम्बामा लामालाई यातना दिएर मूर्ति चोरिएको थियो। ती मूर्ति चोरेर कहाँ बेचिन्छ भन्ने पत्तो प्रहरीलाई पनि हुँदैन।
बौद्ध दर्शनका अध्यता तथा डोल्पो बुद्धकै स्थायी बासिन्दा डोल्पो टुल्कु रिन्पोछेले भने, ‘हिमाली जिल्लामा गुम्बाको सुरक्षा ठूलो चिन्ताको विषय बनेको छ। गुम्बाको सम्पत्ति भनेको राज्यकै सम्पत्ति हो। तर, यसमा प्रशासनले पर्याप्त चासो दिएको छैन।’
डोल्पामा आफूले बाल्यकालमा देखेका गुम्बामा भएको सम्पत्तिमध्ये ९० प्रतिशतभन्दा धेरै हराइसकेको रिन्पोछेले बताए। गुम्बाका सामग्री चोरी हुनबाट बचाउन गाउँलेलाई नै सुरक्षा तालिम दिएर सम्बन्धित ठाउँमा खटाउनुपर्ने उनको सुझाव छ।
‘राज्यले प्रहरी परिचालन गर्न नसक्ने हो भने एउटा गाउँका युवालाई तालिम दिएर अर्को गाउँको गुम्बा संरक्षणमा पठाउनुपर्छ। यसो गर्न सकियो भने बाँकी सामग्री संरक्षण गर्न सकिन्छ’, रिन्पोछेले भने। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी नारायण रञ्जितकारका अनुसार मूर्ति चोरीका आरोपमा अहिले दर्जनभन्दा बढी व्यक्तिविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ। हरेक वर्ष ५–६ वटासम्म मूर्ति चोरीका उजुरी आउने गरेको छ। उनका अनुसार डोल्पा जिल्लामा २६ वटा प्रहरी युनिट छ। तर, हिउँ पर्ने समयमा आधाभन्दा बढी युनिट बन्द हुन्छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिइएको हो ।
विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)
काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।
आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन
काठमाडौं । विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ । दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो । यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो । यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो ।
बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´ उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।
बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।