त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ यसरी गरे कांग्रेसमा अन्तर्घात

त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ यसरी गरे कांग्रेसमा अन्तर्घात
काठमाडौं, भदौ २८ ।
स्थानीय निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा उपकुलपति खनियाँसँग स्पष्टीकरण लिने कांग्रेसको निर्णय –

स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ पनि परेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो । कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि छानबिन गर्दै अन्तर्घात आरोपीलाई स्पष्टीकरण सोध्ने प्रक्रिया अघि बढाएको हो । प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ का स्थानीय निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेका दुई सय ५० जनामाथि समितिले छानबिन प्रक्रिया अघि बढाएको छ । अरू धेरैजसो नेता तथा कार्यकर्ता पेसेवर राजनीतिकर्मी भए पनि खनियाँ देशको सबैभन्दा ठूलो विश्वविद्यालयका नेतृत्वदायी प्राज्ञ हुन् । तर, उनीसमेत राजनीतिक कार्यकर्ता बनेका छन् र अझ पार्टीको अनुशासन नमानेको भनेर कठघरामा परेका छन् ।

स्पष्टीकरण प्राप्त भएपछि अनुशासन समितिले थप अनुसन्धान गरेर दोषी रहेको भए कारबाहीको प्रक्रिया अघि बढाउनेछ । ‘पार्टीका उम्मेदवारहरूलाई हराउन सक्रिय रहेको भनी परेका उजुरीहरूमाथि छानबिन अघि बढाएका हौँ, आधिकारिक उम्मेदवारलाई हराउन सप्रमाण भेटिएपछि अनुशासन कारबाही हुन्छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले नयाँ पत्रिकासँग भने, ‘प्रमाण पुगेमा निलम्बन र निष्कासनसम्मका कारबाहीको प्रक्रिया अघि बढाउँछौँ ।’ समिति बैठकले समितिको सचिव पदमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई नियुक्त गरेको छ ।

‘पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन केन्द्रीय कार्यालयमा दुई सय ५० जनामाथि उजुरी परेको थियो,’ समितिका एक सदस्यले भने, ‘जिल्ला सभापति, सांसद, विश्वविद्यालयका उपकुलपतिमाथि परेका अन्तर्घात आरोपका उजुरीपछि छानबिनको प्रक्रिया अघि बढाएका हौँ ।’

स्पष्टीकरण सोध्न सात दिन लाग्ने
जसका विरुद्ध उजुरी परेको हो, उनीहरूलाई स्पष्टीकरण सोध्न सात दिने लाग्ने भएको छ । उजुरी हेरेर पहिले जिल्ला सभापति, सांसदसहितका उच्च नेतालाई स्पष्टीकरण सोध्ने तयारी समितिले गरेको छ । ‘फाइल हेरेर स्पष्टीकरण सोध्न अझै एक साता लाग्छ,’ समिति सचिव केशव रिजालले भने, ‘पहिले जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसहितका उच्च नेतालाई सोध्छौँ । उहाँहरूले पत्र प्राप्त गरेपछि सात दिनभित्र लिखित स्पष्टीकरण पठाइसक्नुपर्ने छ ।’

कांग्रेसले २ असोजमा प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको निर्वाचनअघि अनुशासनको कारबाही अघि बढाएको सन्देश दिन खोजे पनि स्पष्टीकरण सोध्ने वेलासम्म निर्वाचन भइसक्ने देखिएको छ । कारबाही हुन सक्ने सन्देश दिन निर्वाचनको मुखमा प्रक्रिया अघि बढाए पनि प्रक्रियामा जानै ढिलाइ हुने देखिएको हो ।

हुलाकबाट स्पष्टीकरण पठाइने
उजुरी परेकामाथि समितिले हुलाकमार्फत स्पष्टीकरणको पत्र पठाउने भएको छ । यसअघि पनि हुलाकबाटै पठाइएकाले फेरि पनि त्यसरी नै सोधिने जानकारी रिजालले दिए ।

को–को हुन् अन्तर्घाती ?
-कांग्रेसमा अन्तर्घात गर्नेको सूचीमा बहालवाला जिल्ला सभापति, सांसद, पूर्वकेन्द्रीय सदस्यसम्म छन् । अनुशासन समितिको पहिलो बैठकले उनीहरूसहित सबैलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै, उम्मेदवारलाई असहयोग गर्नेमाथि उजुरी दिन १० असोजसम्मको समय पनि दिएको छ ।

-अहिलेसम्म छानबिन अघि बढाइएकोमा डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही, रुकुमकी सांसद मिठु मल्ल छन् । उनीहरूमाथि जिल्लाभित्रका स्थानीय तहका कांग्रेसका उम्मेदवारलाई हराउन सक्रिय भएर लागेको उजुरी परेको हो ।

-सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा सभापति कर्णविरुद्ध अमरगढी नगरपालिकामा कांग्रेसलाई हराउन लागेको आरोप लागेको छ । त्यस्तै, नुवाकोटका सभापति केसीविरुद्ध विदुर नगरपालिकामा कांग्रेसलाई हराउन सक्रिय रहेको भन्दै उजुरी परेको हो ।

-पूर्वकेन्द्रीय सदस्य जुम्लाका दीनबन्धु श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँसम्म छन् । पूर्वसांसद तीर्थ भुसाललाई पनि स्पष्टीकरण सोधिएको छ । भुसाललाई चितवनको माडी नगरपालिकामा कांग्रेस उम्मेदवारलाई हराउन सक्रियता देखाएको आरोप छ । कांग्रेस महासमिति सदस्य खनियाँलाई चितवनको एक नगरपालिकामा अन्तर्घात गरी कांग्रेस उम्मेदवारलाई हराउन लागेको आरोप छ । कैलालीका महासमिति सदस्य पदमराज भट्ट र लक्ष्मीराज पाठकविरुद्ध पनि उजुरी परेको छ । दैलेख जिल्ला अनुशासन समितिले जिल्ला सभापति र सचिवलाई कारबाही गरिसकेको भन्दै अनुमोदन गर्न केन्द्रमा पठाएको छ ।

-गत संविधानसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले नेतृ सुजाता कोइरालालाई कारबाही गरेको थियो । तीन महिना निलम्बन गरेको केही समय भुक्तान भए पनि पछि पार्टीले बाँकी समय मिनाहा गरिएको थियो । -नयाँ पत्रिकाबाट

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´  उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।

बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

लोकप्रिय