त्रिविलाई उत्कृष्ट केन्द्र बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएको छ ।
त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँं साधारण बैठक (सिनेट) लाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित स्ववियु निर्वाचन पनि गराउन आग्रह गरेको छ ।
उनले उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिविजस्तो इतिहास बोकेको संस्थाले सोच्नुपर्ने जनाउँदै यसको चुस्त शैक्षिक वातावरण निर्माणका पहल गर्न आग्रह गरे । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्रशासनिक र नीतिगत विषयमा आवश्यकताअनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न, उचित व्यवस्थापन गर्न पनि आग्रह गरे ।
उनले उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, कर्म र क्षेत्रको पहुँचमा पुर्याउन क्रमशः विकेन्द्रित र स्वायत्त बनाउनुपर्नेमा पनि जोड दिएको छ ।
प्रधानमन्त्रीले भने– ‘शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्छ र व्यवस्थापनमा विकेन्द्रिकरण र स्वायत्ततालाई क्रमिक अघि बढाइनु आवश्यक छ ।’
शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति धनीराम पौडेलले त्रिविको सुधार र विकासका लागि सरकारबाट गर्नुपर्ने सहयोगमा कमी नहुने विश्वास दिलाउँदै यसबाट उत्पादित प्रतिस्पर्धी विद्यार्थी विश्व बजारमा स्थान पाउन सकुन् भन्ने अपेक्षा व्यक्त गरे ।
उपकुलपति डा.तीर्थराज खनियाँले विश्वमा प्रचलित उत्कृष्ट गुणस्तर मानिएको सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने प्रक्रियामा त्रिवि रहेको जानकारी दिँदै त्रिविको सहमतिबिना आफ्ना क्याम्पस र भौतिक पूर्वाधारलाई अन्य विश्वविद्यालयमा हस्तान्तरण गर्ने सरकारी शैलीप्रति चिन्ता प्रकट गरेको छ ।
विश्वभरिका विश्वविद्यालयमध्ये त्रिवि हाल ४२४१ औं स्थानमा छ । त्रिविमा हरेक वर्ष दुई पटक यस्ता सभा बस्दै आएका छन् । बैठकमा त्रिविको ५५ औंँ वार्षिक प्रतिवेदन, त्रिविसम्बन्धी ऐन, नियमावलीमा परिवर्तन, संरचनात्मक सुधारका कार्यसूची छन् ।
नेपाल प्रवेश गरेको भारतीय जेविसी नियन्त्रणमा
दार्चुला । दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमति बिना भारतीय जेसिबी नेपालतर्फ आएको छ । महाकाली नदी पार गरेर भारतीय जेसिबी नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएपछि जेसिबी मेसिन र चालकलाई स्थानीयले पक्राउ गरेका छन् । दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरी आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ । भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत स्काइभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन । तर भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । भारतीय पक्षले नेपाली सीमामा दादागिरी गर्दै आएको स्थानीय महेश भट्टले बताउनुभयो । केही दिन पहिले पनि भारतीयले नेपालीहरुलाई ढुगां हानेको स्थानीयको आरोप छ । गत वर्षपनि भारतले नेपालतर्फ नदीको धार फर्किने गरी खलंगास्थित नदी किनारमा तटबन्ध निर्माणको काम गरेको थियो । नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । हिउँदमा महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठूलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताउनुभयो । नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो । "हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौं", स्थानीय सुन्दर धामीले भन्नुभयो, "तर भारतले भने महाकाली नदीको सीमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ।" २०७० सालमा बाढी आउनुअघि नेपालकै भूमि रहेको क्षेत्रमा अहिले भारतले कब्जा जमाएको उहाँले बताउनुभयो । दार्चुलाबासीले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको खलंगा बजारलाई क्षति पुग्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सो कार्य बन्द गराउन विगतदेखि नै जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् । आइतबार पक्राउ परेको जेसिबी चालकलाई समेत कार्वाहीको माग गरिएको छ । पक्राउ परेको जेसिबी मेसिन नेपालतर्फ नै रहेको र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । नेपाली सीमाबाट पक्राउ परेका भारतीय स्काइभेटर चालकले प्रारम्भिक सोधपुछका क्रममा भूलबस (गल्तीले) जेसिबी नेपालतर्फ पुगेको बयान दिएको प्रजिअ जोशीले बताउनुभयो । स्थानीयबासीले भने नेपाल सरकार र प्रशासनले भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेका छन् । जेसिबी नेपालतर्फ आएर पक्राउ परेपछि घटनाबारे अनुसन्धान भइरहेको र सीमामा देखिएको समस्या समाधान गर्न छलफल भइरहेको प्रजिअ जोशीले बताउनुभयो ।
राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार
काठमाडौं । पहिचान पुरस्कार कोषले ०८०/८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने भएको छ। मंसिर २८ गते बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट ‘ओ पेङ्दोर्जे’लाई नगद चार लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्रसहित पुरस्कार दिने घोषणा गरेको हो। ओ पेङ्दोर्जे कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानका लागि रगत–पसिना साथै जीवन आहुति दिने तामाङ जाति र अन्य भुइँमान्छेहरूले खेपेको शोषणबारे बताएको छ। उनका कविताले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन्। विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ। सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज बुलन्द गरिएका छन्। विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी गराए। संस्थाले जनाएअनुसार, ०८१ चैत २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका– ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिनेछ। तीन सालअघिदेखि चखियामा पुरस्कार प्रदान गरिँदै आएको छ। चैत २४ गते एकदिने ‘काव्य मुन्दुम पथ यात्रा’गर्ने तालिका पनि तय गरिएको छ।
सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
काठमाडौं । सामाजिक सञ्जालको व्यापकता र प्रविधिको तीव्र विकास र प्रयोगसँगै आमसञ्चार क्षेत्र देखिएका सम्भावना र चुनौतीबारे बौद्धिक विमर्श गर्ने उद्देश्यले आजदेखि काठमाडौंमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजदेखि सुरु दुई दिने उक्त सम्मेलनमा व्यापक हुँदै गएको गलत सूचना प्रवाह, सामाजिक सञ्जालको प्रयोग, सञ्चारमाध्यममा देखिने पक्षधरता र सञ्चार साक्षरतालगायत सञ्चारसम्बद्ध एक दर्जनभन्दा बढी विषयमा कार्यपत्र तथा अनुसन्धान पत्रहरुमाथि छलफल हुनेछन् । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख विषयवस्तु प्रस्तुत गर्दै प्राध्यापक पी खरेलले प्रविधिले पत्रकार र सञ्चारमाध्यमलाई जतिसुकै सुविधासम्पन्न बनाए पनि घटना क्रमको स्वच्छ तथ्य सङ्कलनमा आधारित समाचार सम्प्रेषण अझै पनि चुनौतीपूर्ण रहेको बताए । 'प्राप्त सूचनाको सत्यता परीक्षण र पुनःपरीक्षण हुनुपर्ने विचार बुद्धकै पालमा आएको हो तर अहिले पनि पुनःपरीक्षण नगरिएका समाचार सञ्चारमाध्यममा उल्लेख्य मात्रामा भेटिन्छन्,' उनले भने । यसबाहेक प्राकृतिक प्रकोप वा दुर्घटनाको समाचार सम्प्रेषणमा अपनाउनुपर्ने सचेतताको अभाव टडकारो देखिएको उनको भनाइ थियो । डिजिटल प्रविधिका कारण परम्परागत आमसञ्चारमाध्यमले आफूलाई अद्यावधिक गर्नुपर्ने उनले उल्लेख गरे । त्रिवि केन्द्रीय पत्रकारिता विभाग प्रमुख कुन्दन अर्यालले पाठक दर्शक र स्रोताहरु विगतको तुलनामा अत्यन्त सक्रिय रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक सम्पादन गरिएका सञ्चार सामग्रीको आवश्यकता अझै टडकारो ढङ्गले महसुस हुन थालेको धारणा राखे । सम्मेलनको उद्देश्य नियमित पठनपाठनलगायत सञ्चारसम्बन्धी प्राज्ञिक गतिविधि, पाठक, दर्शक र स्रोतालाई एक अर्कासँग नजिक ल्याउनु रहेको पनि उनले बताए । सम्मेलनमा नेपाल र दक्षिण एसियाली मुलुकहरु भारत बङ्गलादेश र श्रीलङ्काका सञ्चारविद् सहभागी छन् ।
त्रिविका उपकुलपतिलाई एमालेनिकट विद्यार्थीहरुको अवरोध
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् । ३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि बराल कार्यालय जान छाडेका हुन् । बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर काम गर्ने गरेका छन् भने कहिलेकाहीँ घरबाटै पनि काम गर्दै आइरहेका छन् । गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा पनि उपकुलपति बराल रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए । उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् । उनीसहित केही विद्यार्थीले उनीमाथि मात्रै दोष थुपार्दै अवरोध गरेपछि उपकुलपतिको काममा बाधा पुगेको छ । उनीहरूले उपकुलपति कार्यालयअगाडि मागसहित कालो ब्यानर टाँसेका छन् । उपकुलपति बरालले अवरोधका कारण आफू कार्यालय जान नसकेको बताए ।