दरबारमार्गका पसल बन्द

दरबारमार्गका पसल बन्द
काठमाडौं, भदौ २२ । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक मोहन पुडासैनी संलग्न रहेको टोली रिबुक ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरतिर लग्यो ।

१ हजार ७ सय ५४ रुपैयाँमा खरिद गरेको टिसर्ट ३ हजार ७ सय ९० रुपैयाँ बिक्री मूल्य राखिएको थियो । त्यसमा ३० प्रतिशत छुट राखेर २ हजार ६ सय ५० रुपैयाँ बिक्री मूल्य तय गरिएको थियो । त्यस्तै, १ हजार ६ सय ४० रुपैयाँ खरिद मूल्य रहेको रिबुकको क्रस फिट जुत्ताको बिक्री मूल्य ७ हजार ६ सय १५ राखेको पाइयो । दुईवटा सामानको खरिद र बिक्री मूल्य हेर्दा अत्यधिक अन्तर देखिएपछि टोलीले उक्त पसलमा सिल लगायो ।

त्यसपछि बोसिनी ब्रान्डको सामान बिक्री गर्ने लाइन्स स्टाइल इन्टरप्राइजेजमा अनुगमन सुरु भयो । त्यहाँ ९ सय २५ रुपैयाँ खरिद मूल्य रहेको टिसर्टलाई १ हजार ८ सय ९९ रुपैयाँ बिक्री मूल्य राखेको भेटियो । त्यस्तै, १ हजार ६ सय ४५ रुपैयाँ खरिद मूल्य रहेको सर्टलाई ३ हजार ६ सय ९९ रुपैयाँ बिक्री मूल्य राखिएको भेटियो । दोस्रो पसलमा पनि खरिद र बिक्री मूल्य बढी भेटिएपछि टोलीले सिल गर्‍यो ।

तेस्रो नम्बरमा लिभाइज ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरको अर्को पसलमा अनुगमन भयो । त्यहाँ अनुगमन सुरु हुँदै गर्दा पसलअगाडि ३–४ जना व्यवसायी मलीन अनुहारमा छलफल गरिरहेका थिए । उक्त पसलमा ५ हजार २५ मा खरिद गरेको पाइन्टमा ९ हजार ७ सय ९० बिक्री मूल्य राखेको भेटियो । अर्को पाइन्ट ३ हजार ५ सय ७० मा खरिद गरी ७ हजार ६ सय ९९ रुपैयाँ बिक्री मूल्य राखेको भेटियो । त्यसपछि विभागका निरीक्षकहरूले खरिद र बिक्री मूल्यमा ठूलो अन्तर आएको भेटिएपछि सिल लगाउने तयारी गरे । त्यसपछि पसलअगाडि १०–१२ व्यापारी जम्मा भए ।

अनुगमन टोली बाहिर आएर सटर लगाई सिल लगाउने तयारी गरिरहेको थियो । ‘अनुगमनमा प्राप्त कैफियतका आधारमा सिल गर्न खोज्दा अगाडि बसेका व्यवसायीले कुनै प्रतिक्रिया जनाएनन्, हामीले आफ्नो काम सुरुसुरु गर्‍यौँ । तर, पसल सिल गरेर जब अनुगमन टोली अर्को पसको अनुगमन गर्ने तयारी गर्दै थियो, एकपछि अर्को गर्र्दै सो क्षेत्रका पसलका सटर लाग्न थाले । व्यवसायी आफैँले पो सटर बन्द गर्न थालेको देखियो,’ पुडासैनीले भने । दरबारमार्गका व्यवसायीको संघ छ । सोही संघको निर्देशनमा टोलीलाई पसल अनुगमन गर्न दिनुको सट्टा सटर बन्द गराइएको थियो ।

अनुगमन निरीक्षक श्रीराम अधिकारीले करिब चार बज्न लागेपछि धमाधम सटर बन्द हुने क्रम बढेपछि अनुगमन रोकिएको जानकारी दिए । ‘पसल नै बन्द हुन थालेपछि अनुगमन गर्ने कुरा भएन । त्यसपछि हामी फर्कियौँ,’ उनले भने । उनले अनुगमनका क्रममा घडी बिक्री गर्ने सुलक्स सेन्टर र वाच एन्ड सीलाई बन्द गरिएको जानकारी दिए ।

मासिक ३ लाख भाडा
दरबारमार्गस्थित ब्रान्डेड पसलधनीले मासिक तीन लाख रुपैयाँसम्म भाडा तिर्दै आएका छन् । बुधबार अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागसमक्ष बयान दिन आएका लेबल्स स्टोरका सञ्चालकले महँगो भाडा तिर्नुपरेकाले मूल्य बढी राख्ने गरेको बताएका छन् । एडिडास ब्रान्डको खेलकुद पोसाक र जुत्ता बिक्री गर्दै आएका पसलले बढी भाडा तिर्नुका साथै बिजुलीको धेरै बिल तिर्नुपरेका कारण मूल्य बढी राख्ने तर्क गरेको विभाग स्रोतले जानकारी दिएको छ ।

‘एउटा पसलको तीन लाख भाडा तिर्ने, २४ सै घन्टा बिजुली प्रयोग गर्नुपर्नेलगायतका कारण बढी मूल्य लिने गरेको व्यवसायीले तर्क गरेका छन्,’ विभागका एक कर्मचारीले भने । उनले भाडा बढी तिर्नुपरेको र त्यसको भार उपभोक्ता मूल्यमा जोड्नुपर्ने तर्क जायज नभएकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए ।

दैनिक लाखौँको कारोबार
दरबारमार्गका पसलले दैनिक लाखौँको सामान बिक्री गर्ने गरेका छन् । द लेदर प्रालिले बेन्ट्ली ब्रान्डका सामान बिक्री गर्दै आएको छ । उक्त पसलको बिक्री बिल विभागले जफत गरी ल्याएको छ । उक्त बिलप्याडमा उल्लेख भएअनुसार १८ भदौमा उक्त पसलबाट २३ वटा सामान बिक्री भएका छन् । जुत्ता, चप्पल र पर्सलगायत १ लाख ५१ हजार ५ सय २४ रुपैयाँको सामान बिक्री भएको छ । ‘एकैदिन यति ठूलो कारोबार गर्नेले महिनामा तीन लाख रुपैयाँ पसल भाडा महँगो भयो भन्न सुहाउँदैन,’ ती कर्मचारीले भने, ‘महँगो पसल भाडालाई देखाएर उपभोक्ताबाट बढी मूल्य असुलेको प्रस्ट देखिन्छ ।’ सो पसलबाट चप्पल ८ हजार ९ सय १५, ज्याकेट १५ हजार ४४, वालेट २ हजार ४ सय ६९ रुपैयाँसम्मका बिक्री भएको देखिन्छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय