दुई वर्षमा एटिम ह्याकिङ गर्ने १७ विदेशी पक्राउ

दुई वर्षमा एटिम ह्याकिङ गर्ने १७ विदेशी पक्राउ
काठमाडौं, भदौ २२ । गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्‍यो । पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत पैसा चोर्ने देशका रूपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो । तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटिएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन्।

सिआइबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । नौ हजार सात सय १० अमेरिकन डलर, एक हजार दुई सय २५ युरो, ३३ हजार रुपैयाँसहित उनलाई ठमेलको रोयल पेन्गुइन होटेलबाट पक्राउ गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । नक्कली एटिएम कार्डमार्फत नेपालमै निकालिएको पैसा बरामद भएको उनले बताइन् । ३४ वटा नक्कली एटिएम, कार्ड स्किमर मेसिन र ल्यापटपसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले एटिएमबाट पैसा निकाली डलर र युरो साटेका थिए ।

नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरी उनले पटक–पटक नक्कली एटिएमबाट पैसा निकालेको सिआइबीले जनाएको छ । विदेशी नागरिकको विदेशी बैंकमा रहेको खाताबाट पैसा निकालिएको हो । भिसा तथा मास्टरकार्डहरू विश्वभरि चल्ने भएकाले नेपाल आएर उनीहरूले पैसा निकाल्ने गरेका हुन् ।

२ वर्षमा १७ जना पक्राउ
पछिल्लो दुई वर्षमा सिआइबीले मात्र १५ जना विदेशीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले एकजना बुल्गेरियन तथा अपराध महाशाखाले एक भारतीयलाई नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा पक्राउ गरेको छ । सिआइबीले रोमानियन र बुल्गेरियन ४–४, तीनजना टर्किस तथा दुईजना भारतीयलाई पक्राउ गरिसकेको छ । विश्वभरि नै एटिएम ठगीमा टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरू कुख्यात छन् । जसको मुख्य नाइकेहरू भने टर्कीमा रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

कसरी हुन्छ ह्याकिङ ?
प्रहरीको अनुसन्धानअनुसार तीन तरिकाबाट एटिएम ह्याकिङ हुने गरेको छ । सबैभन्दा धेरै ह्याकिङ सपिङ मलहरूमा हुने गरेको छ । सपिङ गर्ने क्रममा ग्राहकले कार्ड स्वाइप गर्दा पिओएस मेसिनमा अतिरिक्त डिभाइस जडान गरी डाटा ह्याक गरी नयाँ एटिएम बनाउने गरिएको छ ।

त्यस्तै एटिएम बुथमा गोप्य डिभाइस र गोप्य क्यामरा राखेर डाटा र पिन नम्बर नै चोरी हुने गरेको छ । उक्त डाटा खाली कार्डमा भरेर नक्कली एटिएम बनाई सोही पिन नम्बर बनाएर पैसा चोरी हुने गरेको छ । जुन अपराधको ट्रेन्ड पछिल्लो समय नेपालमा देखिएको छ ।

ग्राहककै मिलेमतोमा चोरी
कतिपय अवस्थामा भने ग्राहककै मिलेमतोमा समेत चोरी हुने गरेको स्रोत बताउँछ । ग्राहकहरूले नै ह्याकरसँग मिलेर आफ्नो कार्डको विवरण दिई पैसा निकाल्न लगाउने र आफ्नो कार्ड ह्याक भएको भन्दै बैंकमा पैसा दाबी गर्दछन् । ह्याकरहरूले अर्काे देशमा गएर पैसा निकाल्ने भएकाले बैंकहरूले यस्तो बदमासी थाहा पाउँदैनन् । ह्याकरले निकालेको पैसा पनि बैंकले हालिदिने र ह्याकरहरूसँग पनि कमिसन खाने प्रवृत्तिसमेत देखा परेको छ । कतिपय देशमा बैंकका कर्मचारीहरू नै ह्याकरसँग मिल्ने गरेका छन् । बैंकहरूले पनि ग्राहकको पैसाको बिमा गर्ने गरेकाले बिमा कम्पनीबाट चोरी भएको रकम खातामा जम्मा गरिदिन्छन् । त्यसकारण यस्ता घटना बैंकले पनि गुपचुप राख्ने गरेका छन् । तर, एक गिरोहले त गोप्य क्यामरा र स्किमर मेसिन एटिएम बुथमा राखेर नेपाली ग्राहककै एटिएम ह्याक गरी पैसा चोरेका थिए ।

 नेपाल किन आए ह्याकर ?
बैंकहरूले सुरक्षामा लगानी गर्न हिच्किउँदा एटिएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ । विश्वका धेरै देशमा ‘फेजआउट’ भइसकेको मेग्नेटिभी स्ट्रिप प्रविधिको कार्ड नेपालमा प्रचलन छ । सुरक्षाका कारण विश्वभरि युएमभी चिप प्रविधिको कार्डहरू प्रयोग भइरहेका छन् । तर, युएमभी चिप प्रविधिका कार्ड जारी गर्न धेरै खर्च लाग्ने भएकाले बैंकहरूले त्यसलाई प्राथमिकता दिन सकेका छैनन् । ह्याकरहरू सक्रिय भएपछि मात्र हाल बैंकहरूले चिप प्रविधिमा जोड दिएका छन् । चिप प्रविधिका एटिएम कार्ड ह्याक गर्न कठिन हुन्छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूलाई चिप प्रविधिमा जान फेरि निर्देशन दिएको छ । मास्टरकार्ड र भिसाकार्डले पनि अबको ६ महिनाभित्र अनिवार्य रूपमा चिपकार्ड जारी गर्न डेडलाइन दिइसकेको छ । अर्काेतर्फ नेपालको सुरक्षा संयन्त्र कमजोर ठानेर पनि ह्याकरले नेपाललाई एटिएमबाट पैसा चोर्ने गन्तव्य बनाएको हुन सक्ने प्रहरी आशंका छ । पूर्वी युरोपियन देशका नागरिकहरू पटक–पटक नेपालमा पैसा चोरेर जाने गरेको खुलिसकेको छ । यसमा अन्तर्राष्ट्रिय गिरोह भएको र नेपाल आउनेहरू उक्त गिरोहका लागि काम गर्ने सामान्य व्यक्तिहरू मात्र भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

यसबारे प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनसँग समेत समन्वय गरेर अनुसन्धान गरिरहेको छ । -नयाँ पत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय