देशैभरी लोडसेडिङ अन्त्य गर्ने सरकारको तयारी
गोरखा, पौष ८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताएका छन्। शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको छ । काठमाडौंमा लोडसेडिङ अन्त्य गरिएको छ । देशैभरी लोडसेडिङ कसरी अन्त्य गर्न सकिन्छ भनेर हामीले गृहकार्य गरिरहेका छौं । हामी छिट्टै देशब्यापी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेका छौं । विश्वास छ, यसमा सरकार सफल हुन्छ ।’
‘व्यवस्थापनमा सुधार गर्दा, चुहावट रोक्दा, इमान्दार भएर काम गर्दा अद्भूत परिणाम आउँदो रहेछ । ठीक मान्छेलाई ठीक जिम्मा दिँदा र लक्ष्यप्रति निष्ठावान् हुँदा चार महिनामै उपत्यकामा लोडसेडिङ अन्त्य गर्न सकियो । नेतृत्वको ईच्छाशक्ति भयो, राम्रो व्यवस्थापन भयो र युद्धस्तरमा काम गरियो भने परिणाम उत्साहवद्र्धक आउँछ ।’
प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणमा म आफैं दौडिएको छु । मेरो निरीक्षणपछि कामहरु रफ्तारमा अघि बढेका छन् । सरकारले समयभन्दा अघि नै गुणस्तरीय काम गर्ने कर्मचारी र आयोजनाहरुलाई पुरस्कृत गर्नेछ । हामी सबैले निष्ठावान् भएर काम गरौं, परिणाम राम्रो आउँछ । राष्ट्र निर्माणमा हामी सबै जिम्मेवार भएर लाग्नुपर्छ ।’
कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले सरकारले ‘नेपालको पानी, जनताको लगानी’को अवधारणा अघि सारेको जानकारी दिँदै भने, ‘सम्माननीय प्रधानमन्त्रीको निर्देशन बमोजिम सरकारले उज्यालो नेपालको अभियान चलाइरहेको छ । हामीले प्रविधि र चुहावटमा भएको बेथिति कम गरेर काठमाडौंमा लोडसेडिङ अन्त्य गरेका छौं । नयाँ आयोजनाहरुको सञ्चालन, प्राधिकरणका बेथितिको अन्त्यले लोडसेडिङ अन्त्य गर्न सकिन्छ । अहिले काठमाडौंमा लोडसेडिङको अन्त्य गरिएको छ, यो प्रधानमन्त्री प्रचण्डको परिकल्पना र निर्देशनको परिणाम हो ।’
उद्घाटनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले भने, ‘प्रचण्ड नेतृत्वको सरकार जनप्रिय कामका लागि क्रियाशील छ । सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यूको निर्देशन बमोजिम उर्जा मन्त्रालयले देशैभरी लोडसेडिङ अन्त्यको प्रयास गरिरहेको छ । कालिका ‘ए’ साना जलविद्युत् आयोजनाले सरकारको योजनामा सहयोग गर्ने अपेक्षा गरेका छौं ।’
उद्घाटन कार्यक्रममा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले विगतमा काठमाडौंको सडक फराकिलो बनाएर माओवादी नेतृत्वको सरकारले लोकप्रियता हासिल गरेको र अहिले लोडसेडिङ अन्त्य गरेर अर्को लोकप्रियता हासिल गरेको भन्दै कालिका हाइड्रो लोडसेडिङ अन्त्यका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे । त्यसैगरी माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोडसेडिङ अन्त्य गर्ने अभियानमा कालिका हाइड्रोले महत्वपूर्ण योगदान गरेको बताए ।
कालिका पावर कम्पनि लिमिटेडले उत्पादन गरेको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाबाट ६ मेघावाट विद्युत् उत्पादन हुनेछ । २०६३ पौष ९ गते विद्युत् उत्पादनका लागि अनुमति पाएको कालिका पावर कम्पनिले १ अरब ३० करोड लागतमा आयोजना सम्पन्न गरेको र ग्लोबल आइएममी बैंकले मूख्य लगानी गरेको कालिका पावर कम्पनिका निर्देशक निकोलस पाण्डेले जानकारी दिए ।
भारतीय सेना प्रमुख द्विवेदी आइपुगे नेपाल
काठमाडौं। भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौं आइपुगेका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ। त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन्।
रुकुम पूर्वमा माओवादीले खोल्यो खाता, जगत् घर्ती निर्विरोध निर्वाचित
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ । पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित हुनुभएको हो । २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी हुनुभएको थियो भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गर्नुभएको थियो ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रचण्डको अपिल (भिडिओ)
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपिल गर्नुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै प्रचण्डले यस्तो अपिल गर्नुभएको हो । प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशीला भएकोमा जोड दिनुभयो । ‘यहीँबाट नयाँ युगको सुत्रपात भएको मान्न सकिन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘आजको दिन हामी सबैले स्मरण गर्नुपर्ने, हामी सबैले सम्मान गर्नुपर्ने दिन हो।’ प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्। ‘हामी अहिले शान्ति सम्झौताको मूल स्पीरिटअनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ,’ प्रचण्डले भन्नुभयो, ‘मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको थियो। आज यो प्रक्रिया निष्कर्षतिर जाँदैछ।’ प्रचण्डले यसप्रति खुसी व्यक्त गरेका छन्। ‘हामी सबै यसमा खुसी छौँ। हाम्रो प्रतिवद्धता के छ भने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न सकिन्छ।’ प्रचण्डले नेपाली जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन स्वीकारेका छन्। ‘जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन भन्ने असन्तुष्टि जनतामा छ,’ उहाँले भन्नुभयो, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पको साथ जरुरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ। म यस अवसरमा शान्तिको निम्ति कामना गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनता प्रति पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु।’
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न दिइने
काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसअघि उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगको कार्यतालिका छ। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । आज दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ। ३५ महिला, ४८ पुरुष र एक अन्य छन् । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरुष र एक अन्य गरी जम्मा ३ सय २३ जनाको उमेदवारी परेको छ।