दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २० खेलाडी

दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २० खेलाडी

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ ।

क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित २० खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणका लागि बोलाएको हो ।

दोस्रो चरणको प्रशिक्षण भोलि (आइतबार)देखि सुरु हुँदैछ । त्यसको अघिल्लो दिन क्यानले दोस्रो चरणको प्रशिक्षणमा भाग लिने खेलाडीलाई बोलाएको हो ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिका, ओमान र नेपालबीचको एकदिवसीय सिरिजका लागि प्रारम्भिक टिममा परेका २१ खेलाडीलाई समावेश गरेर गत साता पहिलो चरणको प्रशिक्षण सुरु भएको थियो ।

प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्यानले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

पहिलो चरणमा २१ खेलाडी अभ्यासमा सहभागी भएका थिए । अब पहिलो चरणमा समावेश र थप गरी २० जनालाई प्रशिक्षणका लागि बोलाएको हो ।

नेपालले अभ्यास जारी राखे पनि निर्धारित मितिमा भने नेपालसहित तीन देशले खेल्ने भनिएको सिरिज नहुने भएको छ । प्रतियोगिताका लागि नयाँ मिति घोषणा नभए पनि नेपालले भने प्रशिक्षण जारी नै राख्ने छ ।

दोस्रो चरणमा क्यानले बोलाएका खेलाडी । सूची :

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

बुटवल । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ  ।  नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो । बिजयी हुँदै ग्लोबल आइएमईले ५०  हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  २९ टिमबिच भएको तिनदिने प्रतियोगिताको अन्तिमदिन आज  १६ टिमबिच क्वाटर, सेमी र फाईनल खेल भएको थियो ।  यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए ।  यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरिएको हो ।  उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरूलाइ नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले उद्धाटन गर्दै प्रतियोगिताको सफलताको कामना गर्नुभयो ।   प्रतियोगिताको मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक, सहप्रायोजकमा ग्लोबल आइएमई बैक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका छन् ।

आज नेपाल र बङ्गादेशबीचको फाइनल खेल

काठमाडौ । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ [दक्षिण एसियाली फुटबल महासङ्घ] च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।  सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका गल्ती नदोहोर्याइ फाइनल खेल जसरी भए आफ्नो पक्षमा पार्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघिका संस्करणमा पाँच पटकसम्म फाइनल खेलेर पनि हामी च्याम्पियन बन्न सकेका छैनौँ । तर यसपटक बङ्गलादेशलाई पराजित गर्दै उपाधि जित्ने गरी योजना बनाएका छौँ ।” प्रशिक्षक तामाङले बङ्गलादेश बलियो टोली भएको टिप्पणी गर्दै आफ्नो टोलिमा घरेलु समर्थकको साथ भएकाले उपाधि जित्नेमा विश्वास व्यक्त गर्नुभयो । यसअघिका छमध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित हुन पुग्यो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।  बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।  सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो । त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो । सोही संस्करणबाट सावित्री भण्डारी ९साम्बा० ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् ।  साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । बङ्गलादेश बलियो टोली भएको उल्लेख गर्दै उनले नेपालले उपाधि जित्नेमा विश्वास व्यक्त गरिन् । घरेलु दर्शकको भरपुर साथ र समर्थन हुने भएकाले पनि आफूहरुलाई फाइदा हुने उनको भनाइ थियो ।  उनले भनिन, “यसअघि पाँच पटक उपविजेतामा चित्त बुझाएका थियौँ, विगतका हारबाट धेरै कुरा सिकेका छौँ । विगतका गल्तीलाई नदोहो¥याइ उपाधि उचाल्ने सोचका साथ मैदानमा उत्रनेछौँ ।” साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ । उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् । युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् । उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् । त्यसैगरी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् । उनले भनिन्, “हामी गत संस्करणमा बङ्गलादेशसँग पराजित भएका थियौँ । तर यसपटक भने हामी उपाधि जित्ने गरी तयारी गरेका छौँ ।” सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

महिला साफमा आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल

काठमाडौं । साफ वुमेन्स च्याम्पियनसिपमा आइतबारदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्। काठमाडौंमा जारी साफको सेमिफाइनलमा पहिलो खेल बंगलादेश र भुटानबीच हुँदैछ। दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ। दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे हुनेछ। महिला साफमा भारत पाँच पटकसम्मको च्याम्पियन हो भने नेपालसँगको पाँचौं भेट हो। अघिल्लो संस्करणहरूमा चारपटकसम्मको भेटमा नेपालले एकपटक मात्रै भारतलाई हराएको छ। सन् २०२२ मा  भएको खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको थियो। त्यसअघि सन् २०१९, २०१७ र २०१४ मा नेपाल पराजित भएको थियो। यद्यपि यसपालि अनुभवी खेलाडी र घरेलु मैदानको लाभ नेपालले लिन सक्छ। नेपालले समूह विजेता बन्दै सेमिफाइनलमा भारतसँगको भेट पक्का गरेको थियो। समूह चरणमा नेपाल अपराजित रह्यो। नेपालले दुई जित र १ बराबरी खेलेर ७ अंक जोड्दै ७ अंक बनाएको थियो। नेपालको समूहमा रहेको भुटानले पनि २ जित र १ बराबरी खेल्दै सातै अंक बनाएको थियो। पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । गोलअन्तरले नेपाल समूह बिजेता र भुटान उपविजेता बनेको थियो।साविक विजेता बंगलादेश समूह बी को विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।  

आईसीसी विश्वकप लिग– २ मा आज अमेरिकासँग खेल्दै नेपाल

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ। एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार आज राति ९: १५ बजेदेखि अमेरिकाको डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा सुरु हुने छ। यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ। नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजवंशी र सन्दीप लामिछाने रहेका छन् ।  देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ। नेपालले अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ। लिग २ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ। नेपालले अहिलेसम्म खेलेका ८ खेलमा केवल एक खेल मात्र जितेको छ भने ६ खेलमा पराजित भएको छ। जबकी एक खेल अनिर्णीत हुँदा अङ्क बाँडेको थियो। अहिलेसम्म १२ खेल खेल्दै १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ भने अमेरिका ९ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै नेदरल्याण्डस् ८ खेलमा १२ अङ्क हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अङ्क हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अङ्क हासिल गर्दै पाँचौँ स्थानमा छ।

लोकप्रिय