दोहाको खबर: रिदम कला केन्द्र कतारको विविध साँस्कृतिक कार्यक्रमको तयारी तीव्र

दोहाको खबर: रिदम कला केन्द्र कतारको विविध साँस्कृतिक कार्यक्रमको तयारी तीव्र

दोहा । “हाम्रो कला र संस्कृतिको जर्गेना गरौँ आफ्नो प्रतिभालाई अगाडि बढाऊ” भन्ने मुल नाराका साथ कतारमा स्थापित सांगितिक संस्था रिदम कला केन्द्र दोहा कतारले नेपाली नयाँवर्ष २०७४ को ‘नेपाली चलचित्र नमस्ते नेपाल” प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दिल भट्टराई र गजेन्द्र मल्ले जानकारी दिएका छन् ।

संस्थाले हिजो अप्रिल २१ तारिख शुक्रबारका दिन दोहाको मुन्ताजा पार्कमा बसेको भेलासँगै आगामी २८ अप्रिल शुक्रबारका दिन कतारको गल्फ होराईजन होटलमा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संयोजक मल्लले बताए ।

साथै उक्त कार्यक्रमलाई विभिन्न सामाजिक संघसंस्थाले पनि सहयोग-सहकार्य गर्ने भएको छ ।

“हामीलाई थप उत्साह बढेको छ सबैको साथ र सहयोग पनि आउने भएकोले हामीलाई थप आशा जागेको बताउँदै कार्यक्रम भन्ने छुट्टै मनोरञ्जन रहेको र नमस्ते नेपाल चलचित्र सम्पूर्ण छायाङ्कन यूरोपमा गरिएको पहिलो चलचित्रलाई भव्य र सव्य पार्नका लागि नेपालदेखि वरिष्ठ नृत्य निर्देशक तथा चलचित्र निर्देशक राजु शाह र चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) कतार आउने खबरले पनि दर्शकहरुले टिकट धमाधम लिइरहेका छन्” हामी कार्यक्रम सफल हुन्छ भन्ने ढुक्क रहेको संयोजक भट्ट र मल्लले बताएका छन् ।

नेपालदेखि निर्देशक राजु शाह र चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे)ले पनि कतारमा रहेका दर्शको माग र कार्यक्रम भव्य र सव्य हुने खबरले खुसी तुल्याएको बताएका छन । कलाकार (छन्दे)ले युटुब मार्फत “गल्ती हुन्छ काम गरे हतारमा , दर्शक भेट्न आउदै छौँ कतारमा” बोलको छोटो गीतको शब्दबाट दर्शकलाई आफु कतार आउने र दर्शकहरुलाई आफ्नो पनि प्रस्तुति पस्कने जनाएका छन् । उनले कुराकानीकै क्रममा हामीले पहिला युके युरोपमा सो देखाई सकेको “नमस्ते नेपाल चलचित्र” कतारमा रहेका नेपाली दर्शकहरुको यति धेरै माग रहेछ हामी त्यही भएर प्यारा नेपाली दर्शकहरुसँगै बसेर आगामी २८ अप्रिलका दिन कतारमा चलचित्र प्रर्दशन तथा साँस्कृतिक कार्यक्रम सफल पार्नै दुवैजना कलाकार तथा निर्देशक २६ अप्रिलमा नै कतार आउन लागेको बताएका छन् ।

चलचित्र प्रदर्शन पश्चात हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल देखी कतारको सांगितिक लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोकदोहोरी गायिका देविका केसी गुरुङ्गको पनि बेजोड प्रस्तुति रहने छ भने लोकदोहोरी क्षेत्रमा हालमा छुट्टै पहिचान बनाउन सफल रहेका लोकदोहोरी कलाकार रित कुमार श्रेष्ठले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने छन् साथै स्थानिय कलाकारहरु, लोकगायक युवराज छन्त्याल, आधुनिक तथा पप गायक नवराज क्षेत्री, राम के लामा, दामोदार न्यौपाने, विनिता केसी, राम बान्तावा राईलगायत दर्जनौ स्थानिय कलाकार साथमा रिदम कला केन्द्रको आफ्नै विविध नृत्य पनि रहने संयोजक मल्ल र भट्टराईले जानकारी दिएका छन् ।

विगतका दिनमा पनि नेपाल तथा स्थानीय कलाकारहरुलाई समेटेर विभिन्न सांगितिक कार्यक्रम गर्न सफल सांगितिक संस्थाले गत साल आफैले आयोजना गरेको एकल नृत्य प्रतियोगिता कार्यक्रममा नेपालबाट चर्चित नृत्य निर्देशक प्रकाश भट्ट चर्चित लोक दोहोरी क्षेत्रकी मोडल पार्वती राईलाई समेत कतार निम्त्याएर आफ्नो कार्यक्रम सफल पारिसकेकोको संस्थाले आगामी २८ अप्रिल शुक्रबार कतारको गल्फ होराईजन होटलको सभा हलमा बिहान ११ बजेदेखि संचालन हुने उक्त कार्यक्रमको डिनरको पनि व्यवस्था सहित टिकट शुल्क भने करिब १०० रहेको आयोजकले जानकारी गराएको छ ।

कालीप्रसाद बासकोटा पोखरा र बुटवलमा गुञ्जने

काठमाडौं । नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा गुञ्जने भएका छन् । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो व्याण्ड साथीभाइसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन् । काली र उनको व्याण्ड साथीभाई यही शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्ज पोखरामा सांगीतिक प्रस्तुती दिँदैछन् । यहाँ उनीहरुको व्याण्डको तेस्रो प्रस्तुती हुनेछ । किङ्स लाउन्ज पोखराले कालीका फ्यानहरुबाट उनलाई पुनः सुन्ने चाहना राखेपछि काली र उनको व्याण्डको कार्यक्रम राखिएको जनाएको छ । काली र उनको व्याण्डले पोखरापछि शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा आफूलाई प्रस्तुत गर्नेछ । पोखरा र बुटवलमा काली र उनको व्याण्डले उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउनेछन् । पोखरा र बुटवलपछि काली र उनको व्याण्डले निकट भविष्यमै सुनसरी, झापा, चितवनलगायतका स्थानमा आफूलाई गुञ्जाउँदैछन् । यसअघि उनीहरुले काठमाडौंसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुती दिइसकेका छन् । ‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रुपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ । हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, काली भन्छन् । कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ । नेटवर्कले चार वर्षदेखि काली र उनको व्याण्डको व्यवस्थापन हेर्दै आएको छ । ‘आफ्नो नवीन शैलीका लागि परिचित कालीप्रसादले नेपाली सम्पदाका समृद्ध तत्वहरुसँग समसामयिक ध्वनिहरु मिसाएर नेपाली फिल्मका संगीतलाई पुनः आकार दिएका छन् । उहाँका गीत परिवारदेखि समाज हुँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छन् । उहाँको १५ वर्षे करियरको उत्सवमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं’, पीभीई नेटवकका विकेश कायस्थ भन्छन् ।   

पशुपतिनाथ मन्दिरमा तीजको रौनक

तीज पर्वको अवसरमा पशुपति मन्दिर परिसरमा दर्शनार्थीको सेप्टेम्बर ६ तारिख शुक्रबार बिहानैदेखि भिड लागेको छ। अघिल्लो रातिदेखि परेको अविरल वर्षातका कारण दर्शनार्थीको संख्या केही पातलिए पनि झरी थामिएसँगै भीड बढेको  छ। हरितालिका तीजका अवसरमा छिटो र सहज ढंगले पशुपतिमा पूजा–अर्चना गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो। पशुपतिको मन्दीर प्रांगण पुग्नका लागि चारतिरबाट रूट तय गरिएको छ। एउटा गौरीघाट – उमाकुण्ड – दक्षिणामूर्ति – रुद्रगाडेश्वर – वानकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मुल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण वृत्ता चप्पलकक्षबाट जत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइए छ। त्यस्तै मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शकराचार्यमठ दक्षिण हुदै फलामेपुल–पश्चिम सानो डोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ता चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको छ। पिंगलास्थानबाट बनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाईनलाई चौसट्टी सानोढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्वदक्षिण निमर्माण गरिएको जुत्ता–चप्पलकक्षबाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

प्रधानमन्त्री फेवाताल छेवैमा छमछमी नाचेपछि…

गण्डकी। पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए। आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरू झाँकी र नाचगानसहित सामेल भएका थिए। फेवातालछेउ बाराहीघाटमा उल्लास छाइरहेको थियो। मध्यान्हपख घोषणा समारोह सुरु भयो। समारोहको बीचबीचमा कलाकारले प्रादेशिक मौलिकता झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा…’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत समर्पण गरे। धर्मेन्द्र सेवानले आफ्ना दिवङ्गत बुबा बुद्धि परियारले गाएको ‘रेशम फिरिरि…’ सुनाए। गायक विवेक श्रेष्ठले ‘हङकङ पोखरा…’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे। औपचारिक समारोह सकिनुपूर्व अन्तिम प्रस्तुतिका लागि गायक प्रकाश सपुत मञ्चमा उक्नलागे। समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मञ्चस्थ विशिष्ट पाहुनाप्रति श्रद्धापूर्वक शिर निहुराए र आफ्नो प्रस्तुति दिन सुरु गरे। अरूलाई एक वटा मात्र गीत गाउन दिइए पनि सपुतले दुई गीत सुनाए। पहिलो पञ्चेबाजामा ‘माकुरमाकुर घुर…’ र दोस्रो ‘बोलामाया…’। देशविदेशका सांगीतिक प्रस्तुतिमा भ्याइ नभ्याइ उनी प्रधानमन्त्री प्रचण्डसामु भने पहिलो पटक गीत गाउँदै थिए। सपुतले क्रान्तिको पृष्ठभूमिबाट आएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताए। उनले हरेकजसो नेता मौलिक संस्कृति र गीतसंगीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गरे। ‘प्रधानमन्त्रीज्यूसँग अहिलेसम्म मेरो एउटा तस्बिर पनि छैन, प्रोटोकलले दिन्छ भने उहाँलाई म नाच्नका लागि आग्रह गर्दछु,’ सपुतले भनेका थिए। उनको अनुरोधलाई सहज रुपमा स्वीकार गर्दै प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचे। गायक सपुतको ‘बोलमाया…’ गीतमा प्रधानमन्त्रीलगायत विशिष्ट ओहोदाका व्यक्तित्वहरूको नाचले उक्त समारोहमा बेग्लै रौनकता ल्याएको थियो। प्रधानमन्त्री नाच्दा दर्शकले तालीले साथ दिएका थिए। सो दृश्यलाई धेरैले क्यामरा र मोबाइलमा कैद गरे। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि संघ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए। उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए। ‘पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि यथोचित पहल तथा समन्वय गरिनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ।’ उनले आगामी वैशाखमा आयोजना गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीको वर्षौं पुरानो सपना पूरा भएको बताए। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न गरिएको पटक-पटक पहलले सार्थकता पाएको उनको भनाइ छ। प्रमुख आचार्यले राजधानी घोषणाले विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुने बताए। प्रमुख आचार्यले पर्यटन राजधानी घोषणाले यस क्षेत्रका नागरिकको जीवनस्तर सुधार, रोजगारी सिर्जना र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आचार्यले तीन तहका सरकार मिलेर पोखरामा पर्यटनका थप पूर्वाधार निर्माण गरिने बताए। प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानी घोषणासँगै पर्यटकीय राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भको अनावरण गरेका थिए। सो अवसरमा कास्कीको हेम्जामा जन्मनुभएका साहित्यकार मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको थियो। यस्तै दिवङ्गत भूगोलविद् हर्क गुरुङ र गायक तथा सर्जक प्रेमप्रकाश मल्ललाई मरणोपरान्त सम्मान गरिएको थियो। मल्लले ‘पोखरा त साँच्चिकैको पोखरा पो रै’छ…’ गीत गाएका थिए। -रासस

हरिवंश आचार्यको ‘मुटु फस्या’थ्यो’ सार्वजनिक

काठमाडौं । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामुलक गीत गाउँदै आइरहेका गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्याछ’ बोलको गीत ल्याएका हुन् ।  आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ । गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय गरेका छन् । गीतमार्फत आचार्यले ‘काम देउ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेको छन् ।  ‘यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी विदेशिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढंगबाट उठाएको छ,’ गायक आचार्यले भने, ‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिदै गएको छ । पहिलेपहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौं आउँथे । अहिले त काठमाडौं युवाहरुको ट्रान्जिटजस्तो बनेको छ । गन्तव्य त विदेश भइरहेको छ  । गीतमार्फत हाम्रो देशेको यही नियति र मर्म उठाउन खोजेको छु ।’ श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् । हरिवंशले यसअघि ‘ए केटा मादलु पड्का’ गीत ल्याएका थिए । सरोज ओली र प्रियंका कार्कीसँगकै सहकार्यमा ल्याएको यो गीतले युट्युबमा करोड बढी भ्यूज पाइसकेको छ ।

लोकप्रिय