दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन् : अर्थमन्त्री खतिवडा

दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन् : अर्थमन्त्री खतिवडा

काठमाडौं, भदौ १ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रद्धत अधिकारलाई ध्यानमा राख्दै कर उठाउन प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् ।

अर्थमन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “दोहोरो रुपमा कर असुल्दा जनता मारमा पर्छन्, त्यसतर्फ सम्वन्धित निकायले सोच्नुपर्छ ।”

अर्थमन्त्री खतिवडाले हुने खाने वर्गले धेरै, समान व्यक्तिसँग समान कर असुली गर्दै गरिबीको रेखामुनी बाच्न बाध्य जनतालाई राहत दिनु नै प्रगतिशील कर व्यवस्था भएको बताए।

‘जनताले कर तिरेपछि प्रतिफल खोज्नु स्वभाविकै छ’, उनले भने, “स्थानीय तह जनताप्रति उत्तरदायी र जवाफदेही हुन नसके यो व्यवस्थाप्रति नै जनताको गुनासो बढ्दै जान्छ।”

कार्यक्रममा राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले साउन महिनाको राजश्व संङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशतले वृद्धि भएको जानकारी दिए ।

साउन महिनामा रु २५ अर्ब २५ करोड खर्च भएको जसमध्ये चालु खर्च रु २४ अर्ब ६६ करोड, पूँजीगत खर्च रु १ अर्ब ३२ करोड भएको छ । त्यसैगरी प्रदेशलाई सर्शत र समानीकरण अनुदान रु ७ अर्ब ५६ करोड तथा स्थानीय अनुदान सर्शत र समानीकरण रु ११ अर्ब ७६ करोड वितरण गरिएको छ ।

अर्थमन्त्रालयले यस अवधिमा योगदानमा आधारित निवृत्तिभरण कोष, भुक्तानी तथा फछ्र्यौट, बीमा सम्बन्धी कानूनलाई संशोधन एकीकरण, र सङ्घीय लेखापरीक्षणसम्बन्धी विधेयक छलफलका लागि संसदमा पठाएको छ ।

त्यसैगरी, लगानीसम्बन्धी कानून संशोधन र एकीकरण, सङ्घीय आर्थिक कार्यविधि, गैर बैंकिङ वित्तीय संस्थाको नियमन गर्ने निकाय स्थापना गर्ने कानून, सार्वजनिक संस्थान सञ्चालन तथा व्यवस्थापन गर्ने कानून र विदेशी विनिमय नियमित गर्ने कानूनको अन्तिम मस्यौदा तयार गरिएका छन् ।

अर्थमन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को आम्दानी र खर्चको विवरण ९बजेट० वक्तव्यमा घोषण गरिएका व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा रोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, उद्यमशील महिला समूह कर्जा, दलित व्यवसाय कर्जा र उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा उपलब्ध गराउन एकीकृत कार्यविधिको अन्तिम मस्यौदा तयार गरेको पनि सो अवसरमा जानकारी दिइयो ।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय