नवजात शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने ज्ञान अझै छैन
काठमाडौँ, साउन १९ । ‘शिशु जन्मिएको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउनुपर्छ’ भन्ने चेतनाले महिला तथा तिनको अभिभावकमा जरो गाड्न सकेको छैन ।
सबैभन्दा पुरानो र पहिलो खोपका रुपमा स्तनपानलाई लिइन्छ । एक घण्टाभित्र आफ्ना नवजात शिशुलाई स्तनपान नगराएकै कारण अहिले पनि आमाहरुले आफ्ना शिशुलाई अकालमा गुमाइरहेका छन् ।
स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाको पछिल्लो तथ्याङ्कका अनुसार अझै पनि ४५ प्रतिशत महिलाले जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काेतर्फ दुई वर्षभित्र पूर्ण स्तपान गराउनेको सङ्ख्या ६६ प्रतिशतभन्दा माथि पुगेको छैन ।
यसैगरी, एक महिनासम्म ७९, दुईदेखि तीन महिनासम्म ७२, चारदेखि पाँच महिनासम्म ४० प्रतिशत र ६ देखि आठ महिनासम्म ६ प्रतिशत आमाले मात्र स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ ।
नेपालमा स्तनपान प्रवद्र्धनका लागि चेतनामूलक कार्यक्रम साताव्यापी रुपमा मनाउन शुरु भएको २५ वर्ष बितिसक्यो तर यस क्षेत्रामा उल्लेख्य प्रगति देखिएको छैन । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्त ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव र शहरी क्षेत्रमा स्तनपानको विकल्पमा अन्य दूधको प्रयोग हुने गरेको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “नवजात शिशुलाई आमाको बिगौती दूध बराबरको पोषण अरू केही हुन नै सक्दैन, एक वर्षसम्म यसको विकल्पमा अरू दूध प्रयोग गर्नु हुन्न । यसमा विभागले चेतनामूलक तथा अन्य कार्यक्रम जारी राखेको छ ।”
उसो त स्वास्थ्य मन्त्रालयले स्तनपानको प्रवद्र्धन गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री तथा नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ जारी गरेको छ । यसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने दूध तथा अन्य पदार्थ बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध तथा प्रवद्र्धन गरेमा स्वास्थ्यकर्मीलाई कारबाही समेतको प्रावधान रहेको छ ।
पोषणविद् प्राडा मधु दीक्षित देवकोटा स्तनपानले शिशु र आमा दुवैलाई फाइदा पुग्ने बताउनुहुन्छ । उहाँका अनुसार आमाको दूधमा शिशुलाई आवश्यक पर्ने सबै तत्व हुन्छ जसले शिशुको आवश्यक विकास तथा वृद्धिमा सहयोग पु¥याउँदछ ।
उहाँ भन्नुहुन्छ, “स्तनपान गराउँदा निस्कने हार्माेनले आमाको तनाव कम गर्न, शिशु जन्मनासाथ छातीमा टाँसेर राख्दा यसले पाठेघर खुम्चिने प्रक्रिया उत्तेजित भई सालनाल निस्कन तथा रक्तस्राव बन्द गराउँदछ ।”
अर्काेतर्फ पूर्ण स्तनपान नपाउँदा बालबालिकामा कुपोषण शिकार हुनुपरिरहेको छ । संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)का पोषण विज्ञ प्रद्युम्न दाहाल कुपोषणका कारण बालबालिकामा पुड्कोपन हुने बताउनुहुन्छ ।
यसैबीच, ‘सबै मिली स्तनपानलाई दिगो बनाऔँ’ भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी विश्व स्तनपान दिवस मनाउन शुरु गरिएको छ ।
अझै तीन हप्ता डेंगुको जोखिम कायमै
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”
थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।
कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह
काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।