निरन्तर वर्षाको कारण जनजीवन प्रभावित, कतिपय सडक, राजमार्ग अवरुद्ध
काठमाडौं । केही दिनदेखिको निरन्तर वर्षाको कारण जनजीवन प्रभावित भएको छ ।
मुख्यगरी वर्षाले मुलुकको पश्चिमी भू–भाग नराम्ररी प्रभावित भएकाे हाे । वर्षापछि देशका विभिन्न सानाठूला नदी र खोलामा बहाव बढ्ने क्रम जारी रहेकाे छ । पानी पर्ने क्रम नरोकिएकाले थप बहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । निरन्तर वर्षाको कारण पहिरो गएपछि देशका पश्चिमी भू–भागका सडक अवरुद्ध भएका छन् ।
काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ । खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ ।
उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । यसैबीच, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन बढी घर डुबानमा परेका छन् । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका ३ सय भन्दा बढी घर डुबानमा परेका हुन् ।
घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् । अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।
त्यस्तै,बर्दियाको बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया-नेपालगन्ज सडक खण्ड डुबानमा परेको छ । गुलरिया-११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा जोखिम बढेपछि आउजाउ रोकिएको छ । बाढीले सडक माथि करिब २ मिटर भन्दा बढी पानी बगेको छ । पूर्वबाट पश्चिम आउजाउ गर्ने सबै सवारी साधन र मानिसलाई आउजाउमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिनुभयो ।
पहाडी क्षेत्रमा पानी परेकोले बबई उच्च जोखिममा रहेकोले तटीय क्षेत्रका बासिन्दालाई उच्च शतर्कतामा रहन आग्रह गरिएको छ । बाढीले सयौं बिघा खेतमा लगाइएको धानबाली क्षति पुर्याएको स्थानीयले बताएका छन् । लगातार पहाडी भू-भागमा पानी परेकोले बबइमा जलस्तर बढ्दै गएपछि सदरमुकाम गुलरियाका आसपास क्षेत्र डुबानमा पर्ने जोखिम बढेको छ । वालापुरका ५० भन्दा बढी घर सुरक्षित स्थानमा सरेका छन् ।
डुबान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालित भएका छन् । यता, लगातारको वर्षाको कारण नारायणी नदीले खतराको सूचक पार गरेको छ । पूर्वी नवलपरासीको गण्डक बाँधमा ३ लाख क्यूसेक पानी पुगेपछि खतराको सूचक मानिन्छ । अहिले गण्डक ब्यारेजमा तीन लाख ४ सय क्यूसेक पानी बगिरहेको छ । जसकारण बाढीको उच्च जोखिम बढेको छ । पानीको बहाब बढेपछि बिहिबार बिहान १० बजे नै ब्यारेजको ३६ वटै ढोका खोलिएका थिए ।
पानीको सतह बढ्दोक्रममा रहेको र पानी पर्न नरोकिएकोले सम्भावित खतरालाई मध्यनजर गरेर जिल्लाका सबै सुरक्षा युनिटलाई तयारी अवस्थामा राखिएको छ । निरन्तरको वर्षाले कैलालीको धनगढी जलमग्न बनेको छ । बुधबारदेखिको निरन्तरको वर्षाले धनगढीका अधिकांश भूभाग डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उचित ढल निकास नहुँदा धनगढीको मुख्य सडकसमेत डुबानमा परेको छ ।
अहिले मुख्य सडकका पसल बन्द छन् । धनगढीको मुख्य सडक डुबानमा परेपछि पार्क चौकबाट सडक डाइभर्सन गरिएको छ । अविरल वर्षाको कारण मुलुकको पश्चिमी भू–भागका सडक अवरुद्ध भएका छन् । ३ दिनदेखिको अविरल वर्षाका कारण तानसेन–रिडी–तम्घास सडकखण्डको जोर्ते नजिकै पहिरो खस्दा बिहीबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । पाल्पाको रिब्दीकोट–२, खस्यौलीको जोर्ते क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडो खसेपछि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँची, पाल्पा र बुटवलका यात्रु अलपत्र परेका छन् । त्यस्तै,गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् ।
वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।
कतिपय स्थानमा सडक भासिएको छ । यसैगरी, म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले,गुइठे भीर, रुप्से झरना र काभ्रेभिरलगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको छ । यता बेनी–मालढुङ्गा–पोखरा सडक पनि बीचबीचमा अवरुद्ध भएको छ ।
बिहिबार बिहान नारायणगढ–मुग्लिन सडक खण्डको सत्र किलोमा पहिरो खस्दा अवरुद्ध भएको सडक दिउँसोदेखि सुचारु भएकाे छ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
काठमाडौँ । पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ ।स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना भएका उनको आज दिउँसो दुई बजे निधन भएको अस्पताल स्रोतले जानकारी दियो । कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो । ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् ।
कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट प्राडा. महर्जनद्धारा उम्मेदवारी दर्ता
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेको छ । आइतबार नगरपालिकाको कार्यालयमा पुगेर माओवादी केन्द्रका प्रो. डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै सो नगरपालिका वडा नम्बर ४ मा माओवादीका नारायण विष्टले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर १ मा सरल गोपाल महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने घोषणा गरेका छन् । उम्मेदवारी दर्तापछि सुशासन कायम, भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो धेय रहेको भन्दै माओवादी उम्मेदवार महर्जनले आफू निर्वाचित भए कीर्तिपुरको चौतर्फी विकासका लागि काम गर्ने बताए । ‘साथसाथै पर्यटन विकासका लागि कीर्तिपुरमा नेटवर्किङ विस्तार गर्नेछु, सुख्खा बन्दरगाह र हेटौँडा जोड्ने बाटोका लागि पहल गर्नेछु’, महर्जनको भनाइ छ । उनले समाजवादीको समेत समर्थन गर्ने भएकाले कीर्तिपुरमा आफूसँग बल थपिँदै गएको प्रतिक्रिया दिए ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे यसरी दिन सकिन्छ उजुरी
काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ। राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीको हकमा पनि आचारसंहिता लागू हुने आयोगले जनाएको छ। यसैगरी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले आचारसंहिताको पालना गर्नुपर्नेछ। आचारसंहिता लागू भएको जिल्लाका निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु(गराउनु परेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिने आयोगले जनाएको छ। आयोगले निर्वाचन आचारसंहिता सम्पूर्ण व्यक्ति, संस्था तथा अधिकारीको कानुनी दायित्व एवं नैतिक बन्धन भएकाले यसको सम्पूर्ण रूपले पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुने विश्वास व्यक्त गरेको छ । आचारसंहिताविपरीतका कार्य भए-गरेको पाइएमा वा हुनसक्ने पर्याप्त आधार र कारण देखिएमा मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले उजुरी दिन पनि आयोगले आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएको पाइए कारबाही हुनेछ। यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने कार्यक्रम छ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको मनोनयन आज
काडमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिए । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदै छ । आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।