निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागू हुँने, के गर्न हुन्छ, के हुँदैन ?
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि शुक्रबार मध्यरातिदेखि आचारसंहिता लागू हुने भएको छ।
शुक्रबार अपराह्न ५ बजे आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले पत्रकार सम्मेलनमार्फत् आचारसंहिता लागू हुने बताएका हुन्।
आयोगले यसअघि चैत ३ गते नै आचारसंहिता प्रकाशित गरेको थियो। तर त्यसलाई लागू गरिसकेको थिएन।
आचारसंहिताका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केही विषयमा विरोध जनाउँदै आएको थियो। बिहीबार आयोग पुगेर महासचिव शंकर पोखरेलले केही बुँदामा असहमति जनाएका थिए ।
यस्तै, आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख छ। तर त्यसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। त्यसलाई सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न भनेको छ।
आयोगले यस निर्वाचनमा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह ज्याकेट, कमिज, भेष्ट लगायतका कुनै किसिमको पहिरन, स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री–वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने जनाएको छ।
निर्वाचन आचारण संहिता,२०७८ को दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले पालना गर्नुपर्ने आचरणः
(क) सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने,
(ख) आयोगद्वारा सञ्चालित निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुने गरी कुनै कार्य गर्न वा निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने,
(ग) कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने,
(घ) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अडित ज्याकेट, कमिज, भेष्ट टि सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, व्याच, ट्याटु जस्ता सांकेतिक सामग्री उत्पादन गर्न प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने,
(ङ) घरजग्गा धनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन नहुने,
(च) ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाहता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने,
(छ) अठार वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने,
(ज) प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला वा निर्वाचन प्रचार प्रसार गर्न वा गराउन नहुने,
(झ) सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,
(ञ) सामाजिक सञ्जालमा गलत भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने,
(ट) निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउण्ट सञ्चालन गर्न वा गराउन नहुने,
(ठ) सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, टेषपूर्ण भाषण (पत्र) जस्ता भासक द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने,
(ड) कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने,
(ढ) कसैको चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने,
(ण) उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार राजनीतिक दलको वा मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने,
(त) कोभिड( १९ वा अन्य महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकार तथा सम्बन्धित निकायबाट जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको प्रतिकूल हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने,
(थ) निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने,तर आयोगले तयार गरेको निर्वाचन तथा मतदाता शिक्षा सामग्री प्रकाशन वा पोष्ट गर्न यस खण्डले बाधा पुयाएको मानिने छैन।
(द) सुरक्षाको लागि खटिएका सुरक्षाकर्मी बाहेक कुनै पनि हातहतियार तथा प्रज्वलनशिल पदार्थ बोक्न नहुने,
(ध) कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नहुने,
(न) मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग बादविवाद गर्न तथा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने।
उपनिर्वाचन : भोलिबाट मौन अवधि
काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।
आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।