अर्थतन्त्र सुधार्न विविधतायुक्त प्राकृतिक सम्पदाको सदुपयोग गरौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधार्न विविधतायुक्त प्राकृतिक सम्पदा सदुपयोग आवश्यक रहेको बताएका छन् ।
आज काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल प्राकृतिक रूपमा विविधतायुक्त र सम्पन्न रहेको बताउँदै उनले त्यसलाई सही ढंगले उपयोग गर्न सक्दा सम्भावनाका धेरै ढोका खुल्ने बताएका हुन् ।
प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण, उर्जा, उद्योग, पर्यटन र वैज्ञानिक कृषि, कृषिमा यान्त्रिकीकरण र जैविक विविधताको अनुसन्धानमार्फत देशको समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको भनाई छ ।
‘‘लोडसेडिङ अन्त्य गर्छु’’ भनेर आफुले प्रधानमन्त्री बनेको ३ महिनामै १८ घण्टाको लोडसेडिङ सदाका निम्ति अन्त्य गरेको बताउँदै देशभित्र विद्युत खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन लाग्नृुपर्ने बताए ।
उनले भने- ‘अहिले मेरो जोड जल विद्युत क्षेत्रमा छ । हामीले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरिसकेका छौं । त्यस्तै चीन र बंगलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको छ । देशभित्र विद्युत खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन सक्यौ भने नेपाल बन्न धेरै समय कुर्नु पर्दैन । म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ थियो । मैले ‘‘लोडसेडिङ अन्त्य गर्छु’’ भन्दा धेरै मान्छेले पत्याएनन्, कतिले त्यसलाई हाँसोठट्टाको विषय बनाए । तर प्रधानमन्त्री बनेको ३ महिनामै १८ घण्टाको लोडसेडिङ सदाका निम्ति अन्त्य गरियो ।’
प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा नेपालमा महिला उद्यमी हरित औद्योगिक पार्क स्थापना हुन गइरहेको छ । यस्तो पार्क नेपालमै पहिलो र दक्षिण एसियामा दोस्रो रहेको जानकारी पाउँदा मलाई खुशी लागेको छ ।
नेपाल सरकारको औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत काभ्रेको पाँचखालमा निर्माणधिन यस औद्योगिक पार्कलाई ‘‘महिला औद्योगिक ग्राम’’का रूपमा स्थापना गर्न मेरो नेतृत्वमा रहेको मन्त्रिपरिषदले २०८० जेठ २४ मा निर्णय गरेको थियो । यस आयोजना निर्माणका लागि पाँचखाल नगरपालिकाकासँग एक सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेको छ । यस महिला औद्योगिक ग्रामलाई कृषि पर्यटन औद्योगिक पार्कका रूपमासमेत प्रवद्र्धन गरिनेछ । म यसका लागि महिला उद्यमी हरित औद्योगिक पार्कमा संलग्न साथीहरू र पाँचखाल नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिलाई आभार व्यक्त गर्दछु ।
इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिने यस परियोजनामा हालसम्म हरित औद्योगिक पार्कको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा भएको जानकारी मैले पाएँ ।
यस पार्कलाई पर्यटन, उत्पादन र सूचना तथा प्रविधि गरी मुख्यतः तीनवटा क्षेत्रमा विस्तार गरिएको छ । जसमा पहिलो पर्यटन अन्तर्गत सेवा क्षेत्र र पर्यावरणीय पर्यटन क्षेत्र रहेको छ । यसमा विभिन्न जातीय संस्कृति र शिल्पको प्रत्यक्ष सीप प्रदर्शन तथा प्रत्यक्ष स्थानीय परम्परागत खाना प्रदर्शन हुनेछ ।
दोस्रो उत्पादन क्षेत्र अन्तर्गत स्थानीय कच्चा पदार्थ र कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगहरूको स्थापनाले राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ । यसैगरी सूचना प्रविधि क्षेत्र अन्तर्गत औद्योगिकको पार्कको भर्चुअल बजारमार्फत् स्थानीय उत्पादक र कृषकहरूले प्रत्यक्ष कारोबार गर्न र आफ्नो उत्पादनको उचित मूल्य पाउन सक्नेछन् ।
नेपालमा यस किसिमको पहिलो नमुना पार्कको निर्माणपश्चात यसलाई सबैभन्दा सुन्दर र सफा औधोगिक ग्राम बनाउने सरकारको लक्ष्य छ । धुलो, ध्वनी प्रदूषण मुक्त औद्योगिक ग्राम जहाँ फोहोरको सफल व्यवस्थापन हुनेछ । वर्षाको पानी संकलनलाई पार्कमा एकीकृत गरिनेछ । यसैगरी नवीकरणीय ऊर्जाको प्रयोग गरिने छ भने शून्य कार्बन निर्माणका साथै स्थानीय रूपमा उपलब्ध सामग्रीबाटै निर्माण कार्य गरिनेछ । साथै कृषि उत्पादनमा जोड दिँदै कृषिमा आधारित नमुना उद्योगहरू स्थापना गरिनेछ । यसले देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास गरेको छु ।
केही समय पहिले म भारतको औपचारिक भ्रमणको शिलशिलामा भारतको सफा शहरको पहिचान बनाएको इन्दौर शहर पुगेको थिए । इन्दौरमा फोहरलाई सफल व्यवस्थापन गरेर त्यसवाट मल र बिजुली उत्पादन गरिएको छ । हरियाली, सफा र व्यवस्थित शहरभित्रकै औद्योगिक ग्राममा पनि हाम्रो भ्रमण भयो । पाँचखालमा औद्योगिक ग्राम स्थापनाको सफलतापछि यसैगरी नेपालका विभिन्न प्रदेश र स्थानीय तहसम्म पनि नमुना औद्योगिक पार्कहरूको स्थापना गर्न सकिनेछ ।
देशको अर्थतन्त्रको मूल आधारका रूपमा रहेको कृषि उत्पादनका लागि जोड दिने सरकारले नीति लिएको अवस्थामा यस्ता औद्योगिक ग्राम स्थापनाले त्यसलाई टेवा पुग्नेछ । पछिल्ला वर्षहरूमा गाउँ गाउँबाट युवा जनशक्ति अध्ययन वा रोजगारीका नाममा विदेश जाने क्रम बढ्दो छ । यसको असरका रूपमा गाउँका खेतीयोग्य जमिन बाँझो हुँदै जाने समस्या थपिएको छ ।
पाँचखालमा स्थापना गरिएको महिला उद्यमी हरित पार्कले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने जुन योजना अघि सारेको छ, यो नेपालकै लागि नमुना हुन सक्छ र सक्षम युवाहरुलाई गाउँमै काम गर्ने अवसर दिनेछ भन्ने ठानेको छु । यस परियोजनाले हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र सीपको विकास गर्न मद्दत गर्ने पनि विश्वास लिएको छु ।
वर्तमान सरकार हरतरहले मलखाद र विउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यवसायिक कृषिमा जोड, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आइरहेको छ । अघिल्लो वर्ष सरकारले समयमै अनुदानको मल उपलब्ध गरायो । र आगामी वर्षका लागि पनि अहिलेदेखि नै लाग्न निर्देशन दिएको छु ।
आउँदो वर्षको नीति र कार्यक्रमबारे संसदमा र जनस्तरसम्मै बृहत रूपमा छलफल गरेर केही नयाँ कार्यक्रम ल्याउने सरकारको तयारी छ । पक्कै पनि आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका केही ठूला, केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने र त्यसले कृषिमा आधारित सयौं उद्योगहरू स्थापना गर्न मद्दत पुग्नेछ ।
नेपाल प्राकृतिक रूपमा विविधतायुक्त र सम्पन्न छ । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ । हामीले त्यसलाई सही ढंगले उपयोग गर्न सक्दा सम्भावनाका धेरै ढोका खुल्ने अवस्था छ । प्राकृतिक सम्पदा तथा परम्परागत ज्ञान–सीपको संरक्षण, उर्जा, उद्योग, पर्यटन र वैज्ञानिक कृषि, कृषिमा यान्त्रिकीकरण र जैविक विविधताको अनुसन्धानमार्फत देशको समग्र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।
अहिले मेरो जोड जल विद्युत क्षेत्रमा छ । हामीले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरिसकेका छौं । त्यस्तै चीन र बंगलादेशसम्म पनि नेपालको बिजुली बेच्ने सहमति भइसकेको छ । देशभित्र विद्युत खपत बढाउने, उद्योगहरू स्थापना गर्ने र केही ठूला परियोजना अघि बढाउन सक्यौ भने नेपाल बन्न धेरै समय कुर्नु पर्दैन । म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशमा १८ घण्टा लोडसेडिङ थियो । मैले ‘‘लोडसेडिङ अन्त्य गर्छु’’ भन्दा धेरै मान्छेले पत्याएनन्, कतिले त्यसलाई हाँसोठट्टाको विषय बनाए । तर प्रधानमन्त्री बनेको ३ महिनामै १८ घण्टाको लोडसेडिङ सदाका निम्ति अन्त्य गरियो ।
अहिले पनि सरकारले केही प्रतिज्ञा गरेको छ । यसपटक मैले भन्ने गरेको छु– ‘‘मेरो तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिका लागि हुनेछ ।’’ मैले यो पनि भनेको थिएँ– मैले राम्रा काम मात्रै गर्नेछु र कसैलाई गलत गर्न दिने छैन । त्यही संकल्पका साथ अहिले पनि दिनरात खटिरहेको छु र देश बनाउने यात्रा निरन्तर जारी छ ।
अन्त्यमा म यस महिला उद्यमी हरित औद्योगिक पार्कको निर्माण समयभित्रै सम्पन्न हुनेछ भन्ने विश्वास व्यक्त गर्दै यहाँहरू सबैमा शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग
काठमाडौं। नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ। महासंघले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गर्नुभएको थियो । यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो । सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरुले सहयोग संकलन गरेकोमा धन्यवाद दिनुभयो । प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उहाँले पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप उर्जा प्राप्त हुने बताउनुभयो । यसपटकको बाढीपहिरोको बेलामा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावितस्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबैलाई धन्यवाद पनि दिनुभयो । राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उहाँले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरुले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताउनुभयो ।
सरकारको निर्णय मान्नु प्राधिकरणको कर्तव्य हो, बक्यौता रकम नउठे पुनः लाइन काट्छौं : घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् । बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’
आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकतालाई प्रचण्डको निर्देशन
काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं’– अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई निर्देशन दिंदै भन्नुभयो– ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।’ अन्य दलभन्दा माओवादी फरक शक्ति हो र सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको छ भने पछिल्लो समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको उल्लेख गर्दै उहाँले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान उहाँले आग्रह गर्नुभयो । ‘माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने पनि जनताले स्पष्टसँग बुझिसकेका छन्, त्यसैले जनता पुनः माओवादीलाई विश्वास गर्न तयार हुँदै गएका छन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब मुख्य कुरा हामी आफै पुनः जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित रुपान्तरण हुन आवश्यक छ।’ कीर्तिपुर नगरपालिका इतिहासदेखि नै वीरता र बिद्रोहको केन्द्र भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँको इतिहास, वीरता र बिद्रोहको सम्मान गर्दै नयाँ समृद्धिको अभियान सञ्चालन गर्न आवश्यक छ । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा कीर्तिपुरले नयाँ कृतिमान कायम गर्ने छ ।’ यसपटकको उपनिर्वाचनमा यो नगरपालिकामा माओवादी केन्द्रको जीतको आधार बलियो बन्दै गएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । इमान्दार, सरल, पारदर्शी एवं भाषा संस्कृतिका संरक्षकको रुपमा कीर्तिपुरको सामाजिक व्यक्तित्वको रुपमा स्थापित प्रा.डा. शिवशरण महर्जनको व्यक्तित्व, उहाँलाई सर्वसम्मतरुपमा अघि सार्ने पार्टीको एकताबद्ध निर्णय र उहाँको व्यक्तित्वलाई अन्य दल तथा आम मतदाताले विश्वास गर्दै गएकाले यसपटक उहाँले नै जीत हात पार्ने अध्यक्ष प्रचण्डको विश्वास थियो । विभिन्न जातजातिको संगम बन्दै गएको भए पनि कीर्तिपुरको मूल पहिचान नेवारी समुदाय र नेवाः सभ्यता भएको उल्लेख गर्दै उहाँले त्यसलाई सफल नेतृत्व प्रा.डा. महर्जनले मात्रै गर्न सक्ने बताउनुभयो । ‘सांस्कृतिक वैभव यहाँको पूँजी र पहिचान हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसलाई थप स्थापित गर्दै कीर्तिपुरलाई देशभरिकै नमूना सांस्कृतिक नगर बनाउन प्राज्ञिक व्यक्तित्व महर्जनले मात्रै सक्नुहुन्छ भन्ने यहाँका मतदाताले राम्रोसँग बुझ्दै गएका छन्, त्यसैले उहाँलको जीत निश्चित छ ।’ उम्मेदवारी घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि ईञ्जिनियर नारायण बिष्टलाई अघि सारेको छ । उम्मेदवार घोषणा गर्दै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको स्थानीय तहबाट सर्वसम्मतरुपमा आएको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गरेको जानकारी गराउनुभयो ।
भैरहवाबाट अब हरेक दिन अन्तर्राष्ट्रिय उडान
भैरहवा । कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । ३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि नेपाल नागरिक उडान प्राधिकरणमा अनुमतिका लागि पठाएको कतारको शीतकालीन उडान तालिकाको प्रस्तावलाई आइतबार स्वीकृति प्रदान गरिएको हो । प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले कतारलाई दैनिक उडान अनुमति दिएको छ । ०७९ जेठदेखि अन्तर्राष्ट्रिय वायुसेवाका लागि धावनमार्ग खुला भए पनि यस वर्षको भाइटीकाको दिनदेखि भैरहवा विमानस्थल चलयमान भएको हो । त्यस दिन बैंककबाट थाई एयर एसियाले सातामा दुई दिन सोमबार र बिहीबारका लागि उडान थालेको थियो । यसपछि दोस्रोमा शनिबार बिहान ७:३० बजे कुबेतबाट जजिरा एयरवेजले उडान गरेको थियो । विमानस्थल उद्घाटनपछि अन्तर्राष्ट्रिय वायुसेवातर्फ पहिलो उडान गर्दै आएको जजिराले ०८१ वैशाखसम्म १ सय १० वटा उडान गरेर त्यहाँको स्टेसन बन्द गरेर काठमाडौं फर्किएको थियो । यसले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने अनुमति पाएको छ । शनिबारैदेखि फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं उडान थालेको छ । यसले भैरहवामा हरेक दिन उडान अनुमति पाएको छ । नेपाल वायुसेवा निगमले पनि भैरहवाका लागि उडान अनमति पाएको छ । शनिबारैदेखि यसले सातामा पाँच दिन काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान थालेको छ । यसले गत जेठअघिसम्म करिब एक वर्ष सातामा एक दिन मंगलबार मलेसियाबाट फर्किंदा भैरहवा हुँदै उडान गरेर त्यो सेक्टर बन्द गरेको थियो । अब भैरहवामा ५ वटा वायुसेवाले एक सातामा २४ वटा उडान गर्नेछन् ।