नेपाल प्रहरीका १२० जना डीएसपी हरूको सरुवा , को कहाँ ?
काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले भदौ १५ गतेको निर्णय बमोजिम डीएसपीहरुको सरुवा गरेका हुन्। उनीहरुलाई भदौ २०८० भदौ १ गतेदेखि तलब भत्ता समेत सरुवा भएकै दरबन्दीबाट खान पाउने गरी ब्यवस्था गरिएको छ जसनुसार केही जिल्ला प्रहरी कार्यालय र उपत्यकास्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् ।
प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, भक्तपुरको जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत अमरबहादुर थापा क्षेत्रीलाई प्रहरी वृत्त महाराजगञ्जमा सरुवा गरिएको छ । प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र संखुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् । ईलाका प्रहरी कार्यालय इटहरीमा टेकबहादुर कार्कीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरतबहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीन बहादुर घलेलाई सरुवा गरिएको छ । भोजपुरमा सुदीप राज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।
यस्तो छ आजको मौसमः केही भूभागमा वर्षाको संभावना
काडमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।
कीर्तिपुर र काठमाडौ १६ मा माओवादी केन्द्र–एकीकृत समाजवादी तालमेल
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौँको दुई सिटमा तालमेलको सहमति बनेको छ । सहमतिअनुसार काठमाडौँ -१६ मा एकीकृत समाजवादीलाई माओवादी र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सहयोग गर्ने सहमति भएको हो । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने र काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष पदका उम्मेदवार मिनबहादुर मानन्धरलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरेको छ ।
गोरखामा जूनको उज्यालोमा मकै सुकाउने रमाइलो पर्व
गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । गोरखाका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धुमधामका साथ मनाइएको हो । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायतका समुदायले जूनको उज्यालोमा सामूहिक रूपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । ठूलो आँगनमा प्लाष्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएको थियो । पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याएर सुकाएको अन्नलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ । नेवार समुदायका अगुवासमेत रहेका ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले झण्डै ४० वर्षदेखि मनाउन छोडिएको यो पर्व विगत तीन वर्षदेखि सामूहिक रूपमा मनाउन थालिएको जानकारी दिए । कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायतका गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जूनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाको दिन जूनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने धार्मिक विश्वाससमेत रहेको उनको भनाइ छ । यो पर्व परम्परागत रूपमा नेवार समुदायले घरघरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको छ । परम्परा र संस्कतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको तीन वर्षदेखि पुनः मनाउन थालिएको श्रेष्ठको भनाइ छ । कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले लोप हुनै लागेको मकै सुकाउने पर्वको जर्गेना गर्न स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको बताए । सोही अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको आयोजकले जनाएको छ ।
बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिने म्याद थप
काठमाडौं । सरकारले द्वन्द्वकालीन घटना टुंग्याउन महत्त्वपूर्ण मानिएका दुई आयोगको अध्यक्ष र सदस्यमा आवेदन दिने म्याद थप गरेको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्न समिति गठन गरेको थियो । सोही समितिले २३ कात्तिकमा दुवै आयोगका अध्यक्ष र सदस्यमा आवेदन आह्वान गर्दै एक सूचना प्रकाशित गरेको हो । उक्त सूचनामा इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरिएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । तर, आज फेरि अर्को सूचना प्रकाशित गर्दै समितिले मंसिर ४ सम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।