नेपाल–भारत सीमा बैठक : काठेपुल सञ्चालनको जिम्मा केन्द्र सरकारलाई

नेपाल–भारत सीमा बैठक : काठेपुल सञ्चालनको जिम्मा केन्द्र सरकारलाई

काठमाडौं, फागुन २२ । नेपाल र भारतका अधिकारीहरुबीच महाकाली नदीमा केन्द्र सरकारको अनुमति पाएपछि मात्रै अस्थायी रुपमा काठेपुल सञ्चालन गर्ने सहमति भएको छ ।

सोमबार पिथौरागढमा भएको सीमा बैठकमा पिथौरागढ र दार्चुलाका अधिकारीहरुबीच यस्तो सहमति भएको हो । भारतीय पक्षले एकतर्फी रुपमा राप्लाको दुम्लिङभन्दा उत्तरतर्फको क्षेत्रमा बनाएका काठेपुल अवैध भएको र नेपालको सहमति बिना बनाइएकोमा नेपाली अधिकारीहरुले भारतीय पक्षको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा भारतीय पक्षका नेतृत्वकर्ता एवं पिथौरागढका डिएम सि रविशंकरले आफ्नो पक्षबाट कमजोरी भएको स्वीकारेका थिए ।

दुवै देशका अधिकारीहरु नेपाल र भारतको केन्द्र सरकारको स्वीकृतिपछि मात्रै काठेपुल अस्थायी रुपमा सञ्चालन गर्न सहमत भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

आफूसँग अर्को विकल्प नभएकाले नेपाली भूमि भएर भारतीय नागरिक र कैलाश मानसरोवर यात्रा गर्न प्रस्ताव गरिएको पिथौरागढका डिएम सि रविशंकरले बताउनुभयो ।

दुवै देशका अधिकारीहरुले आआफ्नो केन्द्र सरकारसंग काठेपुल र नेपाली भूमिको बाटो प्रयोगबारे स्वीकृतिको लागि पहल गर्ने उहाँले बताउनुभयो ।

भारतको गृह मन्त्रालयअन्तर्गत रहेको स्टेन्डिङ कमिटीमा छलफल गरी विदेश मन्त्रालय र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत यसलाई छिटो टुंगोमा पुर्याउन पहल गरिने डिएम रविशंकरले बताउनुभयो ।

दुई देशबीच अस्थायी रुपमा काठेपुल निर्माण र नेपाली भूमिमा गोरेटो बाटो निर्माण गरी आवतजावत सञ्चालन गर्न केन्द्रबाट स्वीकृति भएपछि काठेपुल र नेपालको गोरेटो बाटो सञ्चालनमा आउने भएको छ ।

केन्द्र सरकारको स्वीकृति प्राप्त भएपछि केही समयका लागि अस्थायी रुपमा मात्रै काठेपुलको प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी गौतमको भनाई छ ।

नेपाली टोलीको कडा प्रस्तुति
सीमा बैठकमा नेपाली पक्ष कडा रुपमा प्रस्तुत भएको छ । भारतीय पक्षले आफूसँंग छलफल र सहमति नगरेर काठेपुल र बाटो निर्माण गरेको भन्दै नेपाली अधिकारीहरुले भारतीय समकक्षीसँग प्रश्न उठाएका थिए ।

बैठकको सुरुमा पिथौरागढका डिएम सि रविशंकरले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसलगत्तै नेपाली टोलीका नेता एवं दार्चुलाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भारतले बिना सहमति संरचना निर्माण गरेको भन्दै आपत्ति जनाएका थिए ।

आफूहरुसँग भारतीय पक्षबाट एकतर्फी निर्माण गरिएका संरचनाका फोटो र भिडियो समेत रहेको बताउदै उहाँले नेपाल सरकारको स्वीकृति बिना सीमा क्षेत्रमा संरचना निर्माण र सञ्चालन गर्न नसकिने बताउनुभयो ।

नेपाली पक्षको भनाईपछि पिथौरागढका डिएम सि रविशंकरले धारचुलाका एसडिएम राजकुमार पाण्डे र लोक निर्माण विभागका अधिकारीसँग जानकारी मागेका थिए । बैठकमा डिएम रविशंकरले नेपालको अनुमति बिना संरचना भएकोमा कमजोरी भएको स्वीकारेका थिए । सम्बन्धित निकाय र अधिकारीलाई यसबारे स्पष्टिकरण सोधेर कारवाही गर्ने प्रतिवद्धता समेत डिएमले गर्नुभएको बैठकमा सहभागी एक नेपाली अधिकारीले बताउनुभयो ।

सीमा बैठकले धारचुलाको खोतिलास्थित सुख्खा पहिरो व्यवस्थापनका लागि दुवै देशका अधिकारीले प्राविधिक अध्ययन गर्ने निस्कर्ष निकालेको छ । बैठकमा सहभागी महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देवकोटाले लामो समयदेखि भारतीय पक्षले सुख्खा पहिरोका ढुंगा नहटाएकोमा प्रश्न गर्नुभएको थियो ।

यसअघिको छलफल र सहमति अनुसार भारतीय पक्षबाट काम नभएको प्रश्न उठाएपछि यसबारे तत्काल प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी काम गर्ने सहमति गरिएको छ ।

मित्रताको स्मृतिमा विरुपा रोपियो
सीमा बैठक सकिएपछि पिथौरागढ र दार्चुलाका अधिकारीहरुले मित्रताको स्मृतिमा धुपी सल्लोको बिरुपा रोपेका छन् । दुई देशको घनिष्ठ सम्बन्ध र मित्रताको प्रतिकका रुपमा बिरुपा रोपिएको हो ।

पिथौरागढस्थित पर्यटक आवाश गृह परिसरमा बिरुवा रोपिएको हो । वातावरण संरक्षण सन्देश दिन पनि बिरुवा रोपिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । पिथौरागढका डिएम सि रविशंकर र प्रजिअ गौतमले संयुक्त रुपमा बिरुवा रोप्नुभएको हो ।

बिरुवा रोप्दै प्रमुख जिल्ला अधिकारी गौतमले आपूु दोस्रो पटक आउदा अहिले रोपिएको बिरुवामा पानी हाल्न पाउने आशा राख्नुभयो । पिथौरागढका डिएम सि रविशंकरले बिरुवा रोपिएको ठाँउमा नेपाल र भारतको मित्रताको प्रतिक जनाउने बोर्ड राख्न अधिकारीलाई निर्देशन दिनुभयो ।

नेपाली मिडियाप्रति गुनासो
भारतीय अधिकारीहरुले महाकाली नदीमा बनाइएका काठेपुलको विषयलाई नेपाली मिडियाले बढी महत्व दिएर सार्वजनिक गरेको भन्दै गुनासो गरेका छन् । बैठकपछि पर्यटक आवाश गृहमा आयोजित दिवाभोज (लन्च) पछि भारतीय अधिकारीले यस्तो गुनासो गरेका हुन् ।

नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिंह धामीसँग धारचुलाका एसडिएम राजकुमार पाण्डेले सामान्य विषयलाई मिडियामा ठूलो महत्व दिइएको बताउनुभयो ।

अध्यक्ष धामीले दुई देशको सीमाक्षेत्रमा नेपालको सहमति बिना संरचना बनाइएकाले मिडियाले समाचार बनाएको प्रतिक्रिया दिनुभयो ।

दुई देशको घनिष्ठ सम्बन्ध र एकआपसको निर्भरतालाई ख्याल गर्न एसडिएम पाण्डेले सुझाव दिनुभयो । पिथौरागढका एसपी अजय जोशीले पनि महासंघ अध्यक्ष शंकरसिंह धामीसँग सीमाक्षेत्रका सामान्य विषयलाई नेपाली मिडियालाई बढी चर्चाको विषय बनाएको प्रतिक्रिया दिनुभयो ।

नेपालका सञ्चारमाध्यमले आफ्नो व्यवसायिक र राष्ट्रियताको धर्म निर्वाह गरेको पत्रकार प्रेम चुनाराको प्रतिक्रिया छ । नेपाली पत्रकारहरुसँगको कुराकानीमा पिथौरागढका डिएम सि रविशंकरले काठेपुल र नेपालको बाटो प्रयोग गर्नुपर्ने भारतीय पक्षको बाध्यता भएको बताएका छन् ।

यद्यपि नेपाली पक्षको सहमतिबिना संरचना बनाउनु दुखद् भएको उहाँको प्रतिक्रिया छ ।

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनुभयो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको पहल पुगेन : अध्यक्ष प्रचण्ड

असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ ।  काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।  प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रुपमा प्रभावितस्थलमा पुग्न नसकेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताउनुभयो । उहाँले मौसम पूर्वानुमानपछि सरकारलाई पूर्वतयारीका लागि लगातार सचेत गराए पनि सरकार गम्भीर हुन नसकाले क्षति बढेको औल्याउँदै अब सरकारको आलोचना गरेर बस्नुभन्दा पनि मुलुकलाई एकताबद्ध गरेर राहत र पुनर्निर्माणमा जुट्न आह्वान गर्दै आफूले प्रभावितस्थलमै पुगेर यथार्थ जानकारी लिने प्रक्रिया सुरु गरेको बताउनुभयो । सोहीअनुसार हिजो आफूले काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावितस्थलको अवलोकन गर्नुका साथै आज काभ्रे आएको पनि स्थानीयवासीलाई जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्न निर्देशन दिनुभयो । जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनस्र्थापनाका बारेमा भएका कामको जानकारी लिनुभएको थियो ।  त्यस्तै उहाँले धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको पलाती भूमिडाडाको अवस्थाको अवलोकन गर्नुभएको थियो ।

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

लोकप्रिय