पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले आमसञ्चारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेका एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाउनेलगायत काम भइरहेको र अन्य केही महत्वपूर्ण कानुन निर्माणको चरणमा रहेको जानकारीसमेत दिइन् ।
सरकारका प्रवक्ता शर्माले भनिन्, “पत्रकारिता क्षेत्रको विकासका लागि सरकारले धेरै काम गर्नु पर्नेछ, भूकम्प, कोरोनाजस्ता शृङ्खलाबद्ध प्रकोपका कारण सिर्जित आर्थिक समस्याले मिडिया क्षेत्र प्रभावित छ, सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर छ । नेपाली पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको छ ।”
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएपछि पत्रकारिताको विकास र प्रेस स्वतन्त्रता हक कसैले खोस्न नसक्ने गरी स्थापित भइसकेको बताउँदै मन्त्री शर्माले कानुन निर्माण वा अन्य कुनै पनि सवालमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको प्रष्ट पारिन्।
उनले भनिन्, “यो हाम्रा लागि गौरवको दिन हो । झण्डै सवा सय वर्ष लामो नेपाली पत्रकारिताको समीक्षा गर्दै आजको दायित्वबारे छलफल गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।” राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको साझा दायित्व बन्न पुगेको उनको भनाइ छ ।
मन्त्री शर्माले समाजमा बढ्दै गएको नकारात्मकताको प्रवृत्तिलाई न्यून गर्न सहीलाई सही र गलतलाई गलत भन्ने समाचालोचनात्मक चेतको विकास गर्दै विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई रोडमोडलका रुपमा प्रस्तुत गरी नकारात्मक पक्षलाई सुधार्ने र सकारात्मक पक्षलाई समाजको मूल धार बनाउने प्रवृत्तिको विकास गर्न पत्रकारिता क्षेत्रले थप योगदान गर्ने अपेक्षासमेत गरिन्।
उनले भनिन्, “पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत पत्रकारिता क्षेत्रको विकासमा योगदान गर्नेप्रति उच्च सम्मान प्रकट गर्दछु, आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा पुनःशुभकामना दिन चाहन्छु ।”
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् -'म अझै पनि राजनीतिमा सक्रिय छु'
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू हाल पनि सक्रिय राजनीतिमा रहेको बताएकी छन्। शुक्रबार विराटनगरमा आयोजित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले 'म अहिले पनि सक्रिय राजनीतिमा छु' भन्दै आफ्नो भूमिकाबारे संकेत गरेकी हुन्। एमाले नेतृत्वबारेको चर्चामा उनले समय आएपछि प्रतिक्रिया दिने जनाइन्।कार्यक्रममा उनले गठबन्धनका कारण महिलाको सहभागिता घटेको र स्थानीय तहमा महिला नेतृत्व प्रभावकारी देखिएको उल्लेख गरिन्। भेलामा उपप्रमुख र उपाध्यक्षहरूको भूमिका र स्थानीय तहका समस्यामाथि छलफल हुने आयोजकले जनाएका छन्।
६४ यताका सबैलाई छानबिन गरौं भनेका छौँ, तर माधव नेपालप्रति पूर्वाग्रह देखियो : अध्यक्ष प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा विश्वासिलो छानबिनको वातावरण बने संसद् अवरोध हट्न सक्ने बताएका छन्। विपक्षी दलहरूको बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको प्रमुख सर्त नभएको संकेत दिए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेर समस्या समाधानतर्फ जानुपर्ने धारणा राख्दै एक–दुई दिनमै सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले सरकारको नियतमाथि प्रश्न उठाए। प्रचण्डले २०६४ सालपछि सत्ता सम्हालेका सबै प्रधानमन्त्री र मन्त्रीहरू छानबिनको दायरामा पर्नुपर्ने माग आफ्नै पार्टीले उठाउँदै आएको स्मरण गराउँदै भने, “तर, माधव नेपालप्रति छानबिनमा पूर्वाग्रह देखिएको छ।” उनले यसअघि ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको नाम चर्चामा आए पनि अख्तियारले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नीतिगत निर्णय’ भन्दै मुद्दा नचलाउने निर्णय गरेर पत्र पठाएको उल्लेख गरे। “त्यही अख्तियार अहिले प्रधानमन्त्रीमाथि नै मुद्दा दर्ता गर्न पुगेको छ। यो गम्भीर प्रश्न हो,” उनले भने, “माधव नेपाललाई जसरी पनि फसाउने नियत देखिन्छ। यो प्रतिशोध हो, जुन गलत छ।” प्रचण्डले प्रधानमन्त्रीका निर्णयहरू प्रायः नीतिगत हुने भन्दै माधव नेपालले आफैं पनि सो प्रकरणबारे आफूलाई थाहा नभएको धारणा राख्दै आएको उल्लेख गरे। “कहीँ न कहीँ प्रतिशोधको गन्ध आउँछ। अदालतमा मुद्दा पुगेको छ, न्यायको अपेक्षा गरौं,” उनले भने। उनका अनुसार माधव नेपालमाथि लागेको मुद्दाले अन्य थुप्रै विवादास्पद विषयहरू—जस्तै गिरीबन्धु, ओम्नी—समेत छानबिनको दायरामा ल्याउने सम्भावना बढाएको छ। “अब त सबै प्रधानमन्त्रीहरू खुला हुने भए। माधवलाई मात्रै हुने कुरा भएन,” प्रचण्डले हल्का शैलीमा हाँस्दै भने। तर उनले सरकारको व्यवहार नियोजित देखिएको भन्दै केहीलाई जोगाउने र केहीलाई फसाउने काम भएको आरोप लगाए। “एकथरिलाई दोष नदेखिए पनि कारबाही गरिएको छ भने, बढी दोष भएकाहरूलाई जोगाइएको छ। यो पूर्वाग्रहयुक्त कार्यशैली हो,” उनले निष्कर्ष टङ्ग्याए।
अध्यक्ष प्रचण्डद्वारा विश्व वातावरण दिवसको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै वातावरणीय एजेन्डालाई नीति निर्माणको केन्द्रमा राखेको बताएका छन्। विश्व वातावरण दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाएको उल्लेख गरेका छन्। “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय विषयवस्तुहरूलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिको सवाल दृढतापूर्वक उठाएको छु,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई जलवायु न्याय र वातावरणीय मुद्दाको सन्दर्भमा ऐतिहासिक मानिएको बताए। गुटेरसको भ्रमणको क्रममा उठाइएका जलवायु सम्बन्धी सवालहरू विशेष महत्वका रहेको उनको भनाइ थियो। उनले जलवायु अनुकूलन रणनीति, हरित ऊर्जा, र वातावरणमैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै नेपाललाई हरित विकासतर्फ डोर्याउने प्रयास गरिएको पनि स्मरण गरे।
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामामा सहमति नजुट्दा संसद बैठक स्थगित
काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग भइरहँदा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखको पहलमा सत्ता र विपक्षी दलबीच छलफल भए पनि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहे। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्नेमा अडिएको छ भने विपक्षीले छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने माग राखेको छ।