परम्परालार्इ पछ्याउदै प्रधानमन्त्रीको भारत भ्रमणमा जम्बो टोली, नेपाल एयरलाइन्सका ५५ सिट बुक

परम्परालार्इ पछ्याउदै प्रधानमन्त्रीको भारत भ्रमणमा जम्बो टोली, नेपाल एयरलाइन्सका ५५ सिट बुक

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन्। भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग भेटवार्ता गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार उत्तराखण्डको पन्तनगरस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको आयोजनामा हुने कार्यक्रममा पनि भाग लिनेछन् ।

नेपाल एयरलाइन्सका ५५ सिट बुक

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जम्बो टोली रहने भएको छ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ गरेको छ । २३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो । ‘सम्माननीय प्रधानमन्त्रीको भ्रमणका लागि भिभिआइपी उडान गर्नुपर्ने भनेर ५५ सिट रोकिएको छ,’ एयरलाइन्सका एक उच्च अधिकारीले भने ।

जम्बो प्रतिनिधिमण्डल आउने भए पनि प्रधानमन्त्रीले सपिङ लिस्ट ल्याउने छैनन् । भारतका तर्फबाट नेपाललाई सहयोग घोषणा हुन सक्ने, तर त्यसमा नेपालले सपिङ लिस्ट नबुझाउने नेपाली पक्षको तयारी छ ।

पहिलो कार्यकालमा ७ फागुन ०७२ मा ओलीले भारतको राजकीय भ्रमण गर्दा पनि ओलीले कुनै तयारी विषयसूची लगेका थिएनन् । त्यतिखेर उद्योगी–व्यवसायीबाहेक ४५ जनाको टोली भ्रमणमा थियो । टोलीमा प्रधानमन्त्रीपत्नीसहित सबैमन्त्री, मन्त्रालयका सचिवहरू, सुरक्षाकर्मी र सरकारी सञ्चारकर्मीसमेत थिए । उद्योगी–व्यवसायी निजी खर्चमा गएका थिए, दिल्लीमा उनीहरूको बसोवासको प्रबन्ध भने सरकारले नै गरेको थियो । यसअघिका सबैजसो प्रधानमन्त्रीको भारत भ्रमणमा उद्योगी–व्यवसायी निजी खर्चमै जाने गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दल भने अझै तय भइसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट भाजपाका नेता तरुण विजयले ओलीलाई स्वागत गर्न भारतको संस्थापन पक्ष व्यग्रतासाथ प्रतीक्षा गरिरहेको बताए । ‘प्रधानमन्त्री ओलीजीलाई स्वागत गर्न भारतको संस्थापन पक्षले सम्पूर्ण तयारी गरिरहेको छ, उहाँको सम्मानमा कुनै बाँकी रहनेछैन र उहाँको भ्रमणपछि नेपाल र भारतबीच बुझाइमा कुनै पनि दूरी बाँकी हुनेछैन,’ नेता विजयले भने । नेपालसँगको सम्बन्ध भारतका लागि महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामी नेपाल र भारतलाई एउटा परिवारका दुई सदस्य मान्दछौँ, यस हिसाबले ओलीजीको भ्रमण कूटनीतिक सीमामा कैद हुँदैन, पारिवारिक मित्रलाई स्वागत गर्न हामी प्रतीक्षारत छौँ ।’

तय भएअनुसार प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको नियमित उडानबाट २३ चैतमा दिउँसो दिल्ली ओर्लंदै छन् । ओलीको सम्मानमा नेपाली दूतावासले २३ चैतमा रात्रिभोज आयोजना गर्दै छ । २४ चैतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम तय भएको छ । दिवाभोजअघि ओली र मोदीबीच एकान्त वार्ता हुनेछ भने त्यसपछि औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा हुनेछ ।

त्यसअघि राष्ट्रपतिभवनमा प्रधानमन्त्री ओलीको सम्मानमा गार्ड अफ अनर दिने भारतीय तयारी छ । परम्परा निभाउन ओलीले त्यही दिन राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ । हैदरावादमा द्विपक्षीय वार्ता सकिएपछि पत्रकार सम्मेलन गरी ओली र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले उपराष्ट्रपति बैंकया नायडु र राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्दै छन् । राष्ट्रपति कोविन्दले ओलीको सम्मानमा स्टेट डिनर दिने तयारी भएको छ । ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)ले आयोजना गर्ने बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भइरहेको छ ।

काम नभएका परियोजना

-कुशीनगर–लुम्बिनी–कपिलवस्तु तथा बर्दिबास–वीरगञ्ज रेलवे निर्माण

– वीरगञ्ज–पथलैया–नारायणगढ तथा बुटवल–पोखरा राजमार्गलाई दु्रतमार्गमा स्तरोन्नति

– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

– महाकाली नदीमा मोटरेबल पुल

– वीरगञ्ज–रक्सौल मितेरी पुल

– दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह

-नेपालमा विशेष आर्थिक क्षेत्र निर्माण

– नयाँ १३२ केभी प्रसारण लाइन निर्माण

– बुटवल–गोरखपुर सीमापार विद्युत् प्रसारण लाइन

– लुम्की–बरेली सीमापार विद्युत् प्रसारण लाइन

पुरानै एजेन्डा दोहोरिने
तत्कालीन प्रधानमन्त्री देउवा ८ भदौमा भारत भ्रमणमा आउँदा निर्माण गर्ने भनिएका परियोजना कार्यान्वयन अघि बढेको छैन । नेपालले परियोजनाको प्रतिवेदन तयार गर्ने र सम्बन्धित भारतीय निकायसँग छलफल गर्ने भनिए पनि काम हुन नसकेको नेपाली पक्षको भनाइ छ । नेपालका तर्फबाट तदारुकता नदेखाउँदा नयाँ प्रधानमन्त्रीको भ्रमणमा पनि पुरानै एजेन्डामा छलफल गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् । यसपटक पनि पञ्चेश्वरको डिपिआर सम्पन्न गर्ने, माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना निर्माण, पूर्वपश्चिम रेल्वे निर्माणमा भारतीय सहयोग, काठमाडौं–वीरगन्ज रेल्वेजस्ता विषयमा छलफल हुने बुझिएको छ। प्रधानमन्त्रीको प्राथमिकता के हुनुपर्छ ? यस्तो छ परराष्ट्रविद्हरूको सुझाब

विश्वासको वातावरण बनाउने
भारतले ६ असोज ०७२ देखि २५ माघसम्म लगाएको नाकाबन्दीका कारण नेपाल र भारतको सम्बन्ध बिग्रिएको छ । बिग्रिएको सम्बन्धलाई विश्वासमा बदल्नु प्रधानमन्त्री ओलीको प्राथमिकतामा हुनुपर्ने परराष्ट्रविद्हरू बताउँछन् । दुवै छिमेकीलाई विश्वासमा लिने परराष्ट्र नीति अपनाउनुपर्ने पूर्वराजदूत प्रा.डा. लोकराज बरालको सुझाब छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको विश्वासको वातावरण बनाउनुपर्नेछ,’ बरालले भने, ‘दुई देशबीच विश्वासको वातावरण बनेन भने देश समृद्ध पनि हुँदैन ।’ पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले पनि नेपालमा भारत, चीन र अमेरिकीको भूराजनीतिक चासो र स्वार्थ प्रस्ट देखिन थालेकाले प्रतिस्पर्धात्मक कूटनीतिक सन्तुलन कायम राख्ने वातावरणको विकास गर्नुपर्ने बताए ।

सम्झौता भएका आयोजना कार्यान्वयन
नयाँ सम्झौताभन्दा पनि पहिला भएका सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने परराष्ट्रविज्ञहरूको सुझाब छ । पूर्वप्रधानमन्त्रीहरूको भ्रमणको समयमा भएका सम्झौताअनुसार विकासे आयोजनाको काम तीव्र बनाउनु अहिलेको प्राथमिकता भएको उनीहरूको भनाइ छ । ‘भारतीय ठेकेदारले काम नगर्दा हुलाकी राजमार्ग अलपत्र छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाजस्ता ठूला योजना भारतीय कम्पनीको लापरबाहीका कारण काम अगाडि बढ्न सकेको छैन । ती आयोजना कार्यान्वयनमा जोड दिनुपर्छ,’ बरालले भने ।

व्यापार र यातायात
नेपालको वैदेशिक व्यापारमध्ये भारतसँग मात्रै ६४.८ प्रतिशत छ । र, नेपालको कुल व्यापार घाटाको ६६ प्रतिशत पनि भारतसँगै छ । व्यापार भारतमुखी बन्दै गएको छ । भारतमुखी व्यापार घाटा कम गर्नलाई प्रधानमन्त्री ओलीले नेपालबाट भारतीय बजारमा निर्यात हुने सामग्रीमा रोक लगाउने प्रवृत्तिको अन्त्यका लागि पहल गर्नुपर्ने पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले बताए । ‘नेपाली उत्पादन अदुवा, अलैँचीलगायत निर्यातजन्य उत्पादनमा भारतले वेलावेला अवरोध गराउँछ, उसको उत्पादनले नेपाली बजार निर्वाध उपयोग गरेझैँ हाम्रो उत्पादनले पनि भारतीय बजार निर्वाध रूपमा उपयोग गर्न पाउने वातावरण बनाउन पहल गर्नुपर्छ,’ उनले भने । यसका लागि दुई देशबीचको कनेक्टिभिटीमा जोड दिनुपर्ने उनको सुझाब छ । भारतीय रेल पशुपतिसम्म र चिनियाँ रेल लुम्बिनीसम्म पुग्ने पूर्वाधार विकासमा जोड दिन पनि श्रेष्ठले प्रधानमन्त्रीलाई सुझाब दिए ।

सीमा सम्बन्ध
नेपाल र भारतबीचको सीमा समस्यालाई छिटो टुंगो लगाउन पनि परराष्ट्रविद्हरूले सुझाब दिएका छन् । खासगरी मिचिएको दशगजालाई पुनस्र्थापित गरी व्यवस्थापन गर्नुपर्ने उनीहरूको सुझाब छ । डा. बरालले सीमामा निरन्तर देखा पर्ने समस्यालाई निरूपण गर्न प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताए । पूर्वराजदूत श्रेष्ठले आपराधिक गतिविधिको नियन्त्रणका लागि पनि सीमालाई अहिलेजस्तो छाडा छा्ड्न नहुने तर्क गरे । ‘दशगजालाई व्यवस्थित गरी को व्यक्ति, कहिले र कसरी आइरहेको छ भन्ने जानकारी लिने गरी सीमा नियमन गर्ने व्यवस्था गर्नुपर्छ,’ श्रेष्ठको सुझाब छ ।

सुरक्षा
नेपालको आन्तरिक सुरक्षा चासो र भारतीय सुरक्षा चासोबारेमा खुला छलफल हुनुपर्नेछ । पछिल्ला दिनमा नेपालमा पश्चिमाको लागनीमा गुम्बा, चर्च र मदरसा बन्ने र भारतीय जोगीको लगानीमा मन्दिर बनाउने क्रम बढेको छ । यस्ता गतिविधिले नेपालको आन्तरिक सुरक्षामा खतरा बढेको पूर्वराजदूत श्रेष्ठको भनाइ छ । ‘यसरी धार्मिक गतिवधिमा विदेशी लगाउनी बन्द गर्न प्रधानमन्त्रीले भारतीय समकक्षीसँग कुरा गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने । भारतको नेपालप्रतिको सुरक्षा चासो बढी देखिने गरेको पूर्वराजदूत बरालले बताए । भारतले नेपालबाट कास्मिरको गतिविधि, पाकिस्तानीको गतिविधि नियन्त्रण, भारतीय नक्कली नोटको गतिविधि नेपालबाट नहोस् भन्ने चाहेको परराष्ट्रविद्हरूको तर्क छ । भारतको उक्त चासोलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुपर्ने र आफ्नो चासो पनि राख्नुपर्ने डा. बरालको सुझाब छ ।

जलस्रोत
नेपालको जलस्रोतमा भारतीय चासो बढी हुने गरेको छ । तर, परराष्ट्रविज्ञहरूले नेपालले भारतीय बजार मात्रै भर पर्ने विगतको शैलीमा प्रधानमन्त्री ओलीले परिवर्तन गर्नुपर्ने तर्क गरेका छन् । नेपालले भारतबाहेक बंगालदेश, पाकिस्तानलाई पनि विद्युत् बिक्री गर्न पाउने गरी बजार विस्तार गर्ने वातावरण बनाउन पहल सुरु गर्नुपर्ने श्रेष्ठले सुझाब दिए । ‘नेपाल अब भारतीय प्रभावभन्दा क्षेत्रीयस्तरमा उठ्नुपर्छ,’ श्रेष्ठले भने ।

संविधानको स्वागत गराउनुपर्छ
भारतले अहिलेसम्म नेपालको संविधानलाई औपचारिक रूपमा स्वागत गरेको छैन । प्रधानमन्त्री ओलीले असन्न भ्रमणमा संविधानलाई स्वागत गराउन सक्नुपर्ने परराष्ट्रविज्ञको भनाइ छ । पूर्वराजदूत राजेश्वर आचार्यले दुईतिहाइ समर्थनको प्रधानमन्त्री ओलीले संविधानलाई स्वागत गराउन सके मात्रै भ्रमण सफल भएको मानिने बताए ।

नाकाबन्दीप्रति ‘सरी’ भन्न लगाउनुपर्छ
पूर्वराजदूत आचार्यले भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दीप्रति अनौपचारिक भाषामा भए पनि ‘सरी’ भन्न लगाउनुपर्ने सुझाब दिएका छन्। अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालसँग सम्बन्ध विस्तार गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले पनि भारतीय हेपाहा प्रवृत्तिमा ‘सरी’ भन्न लगाउन सकिने उनको बुझाइ छ । ‘एउटा सार्वमौम मुलुकले संविधान जारी गर्दा नाकाबन्दी लगाउने भारतले औपचारिक रूपमा सरी त नभन्ला, तर अनौपचारिक रूपमा भए पनि सरी भन्न लगाउनुपर्छ,’ पूर्वराजदूत आचार्यले भने। -नयाँ पत्रिका दैनिक

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् । 

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ।  दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

लोकप्रिय