प्रचण्डको कडा अभिव्यक्ति: ठूल्ठूला बुद्धिजीवीले ‘भूइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ कुरा बुझेनन्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायले जातीय मुक्ति आन्दोलनमा प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित ५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामाजिक र राजनीतिक जागरणमार्फत् संविधानमा दलित समुदायका हकअधिकार समावेश गरिएको र अब कार्यान्वयनको चरण सुरु भएको बताउनुभयो । संविधानमा लिपिवद्ध भएका अधिकार कार्यान्वयनमा एकजुट हुनुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मनोगत विश्लेषणले प्राप्त उपलब्धी गुम्ने खतरा हुन्छ । पोल्टामा भएको चिजको रक्षा गरौं । अनि, थप पाउन संघर्ष गरौला ।’
केही ठूल्ठूला बुद्धिजीवीले क्रान्तिका कुरा गरेर ‘भूइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ कुरा बुझ्न नसकेको अध्यक्ष प्रचण्डले बताउनुभयो । ‘बुद्धिजीवीले अलि धेरै पढे, अलि धेरै नबुझ्ने हुन्छ । बुद्धिजीवीमा अहंकार, अराजकता र आत्मकेन्द्रीत देखिए उपलब्धी गुम्ने खतरा हुन्छ,’ उहाँले भन्नुभयो, ‘नेतृत्वमा पुगेका कति बुद्धिजीवी झण्डै–झण्डै बहुलाउनु भो । अरु को–को बहुलाउने हुन् भन्ने डर लाग्न थाल्छ ।’ राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै चुनौतिको सामना गरेर संविधानमा जनताका अधिकार लिपिवद्ध गरिएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले सुन्दा बडो क्रान्तिकारी सुनिने कुराले कहिलेकाही साम्राज्यवादीलाई फाइदा पुग्ने बताउनुभयो ।
दलित अधिकारका नाममा चर्का कुरा गरेर कम्यूनिस्ट फुटाउने, संविधान कार्यान्वयन हुन नदिने र दलितका हकअधिकार कार्यान्वयन हुने नदिए साम्राज्यवादीलाई फाइदा पुग्ने उहाँले बताउनुभयो । ‘जनयुद्धमा रगत बगाएर समावेशी प्रतिनिधित्व एक सीमासम्म सुनिश्चित गरेका छौं,’ उहाँले भन्नुभयो, ‘हामीले त्यसमा टेकेर अगाडि जाने ठाउँ बनाएका छौं ।’ जुनसुकै पार्टीबाट भएपनि नीतिनिर्माण तहमा दलित समुदायलाई देख्दा आन्दोलन खेर गएन भन्ने लाग्ने गरेको उहाँले बताउनुभयो ।
सिंहदरवारभित्र प्रधानमन्त्री र राष्ट्रपति दलित समुदायबाटै बनेको हेर्ने आफ्नो इच्छा हुँदाहुँदै पनि तत्कालीन परिस्थितिले सम्भव नभएको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो । ‘क्रान्तिबाटै कुनै दलितलाई ल्याएर सिंहदरबारमा प्रधानमन्त्री राष्ट्रपति बनाउने इच्छा थियो । मलाई सम्झौता गर्न मन थिएन,’ उहाँले भन्नुभयो, ‘तर, जनयुद्धमा लागेको लाग्यै गर्दा विद्रोह ध्वस्त हुने, सकिने खतरा देखियो ।’ मानव जातिको अन्तर्राष्ट्रिय अवस्थाले पनि एउटा देशमा क्रान्ति कति सफल हुने भन्ने निर्धारण गर्ने बताउँदै प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नभएकाले सम्झौता गर्नुपरेको बताउनुभयो ।
आफूले विद्रोह र क्रान्ति तयारी गर्दा दलित समुदायलाई आधारभूत वर्गको रुपमा मानेको उहाँले बताउनुभयो । ‘विद्रोहमा दलित समुदायको सहभागिता र बलिदान नभएको भए अन्य समुदाय समेत सहभागी हुँदैनथ्यो कि भन्ने मेरो निष्कर्ष छ,’ उहाँले भन्नुभयो, ‘दलित महिलाले विद्रोहको झण्डा उठाएपछि विद्रोहमा अन्य जातजाति पनि लामवद्ध भएका थिए ।’
यस्ता छन् मन्त्रिपरिषदका १८ निर्णय
काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत पुस ५ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो। सरकारले सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको छ। त्यस्तै सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गरेको छ। यस्ता छन् सरकारका निर्णयः १.सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारीसाधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेष्टमेण्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पती शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने। २.प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिमार्जित कार्यविवरण स्वीकृत गर्ने। ३.दैलेख–कालिकोट–जुम्ला १३२ केभी प्रसारण लाइनको टावर निर्माणका लागि दैलेख, कालिकोट र जुम्ला जिल्लामा करिव १२ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने। ४.नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग र नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने। ५.खर्ज्याङ प्रहरी चौकी, गुल्मीलाई नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको ५ रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिने। ६.एग्रिमेण्ट बिट्विन गभर्मेण्ट अफ नेपाल एण्ड गभर्मेण्ट अफ इण्डिया फर रेगुलेशन फर प्यासेन्जर ट्राफिक बिट्विन द टु कन्ट्रिजको अवधि २४ नोभेम्बर, २०२५ सम्मका लागि नवीकरण गर्ने र सम्झौताको प्रोटोकलको अवधि सम्झौताको अवधिसँग बराबर हुनेगरी नवीकरण गर्ने। ७.तुम्लिङ्गटार सितलपाटी २२० केभी विद्युत प्रशारणलाईन आयोजना निर्माणको लागि संखुवासभा खाँदवारी नगरपालिकामा रहेको राष्ट्रिय वनको २८.४८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। ८.शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेका सुविधा प्राप्त बाटोको सूचीमा महाँकाल–मुलखर्क–ओखेनी गाउँ ९३.५ किमी थप गर्ने र सवारी साधन र पैदल यात्रुको लागि बाटोको सूचीमा मुलखर्क–झुले–चिसापानी कायम गर्नेगरी नियमावलीको अनुसूची संशोधन गर्न स्वीकृति दिने। ९.भ्याकुरे जलविद्युत आयोजना निर्माणको लागि दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको राष्ट्रिय वनको ०।९८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। १०.गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माण गर्नको लागि ललितपुरमा रहेको राष्ट्रिय वनको ३।४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने। १०.अरुण ३ जलविद्युत परियोजनाको ४०० केभी प्रशारण लाइन आयोजना निर्माणको लागि संखुवासभाको चिचिला गाउँपालिका र खाँदवारी नगरपालिकाः उदयपुरको, सुनकोशी गाउँपालिका, तपली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कुल जम्मा २१३।६७ हेक्टर जग्गा प्रयोग स्वीकृति दिने। ११.कलैया उपमहानगरपालिका, बारालाई ४ धुर, बूढानीलकण्ठ नगरपालिका, काठमाडौंलाई ४ रोपनी १२ आना ३ पैसा, बारपाक सुलिकोट गाउँपालिका, गोरखालाई ४ रोपनी ५ आना २ पैसा ३ दाम, पुनर्वास नगरपालिका, कञ्चनपुरलाई १५ कठ्ठा, एकडारा गाउँपालिका, महोत्तरीलाई ११ कठ्ठा ५ धुर जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने। १२.पोखरिया अस्पताल पर्सालाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गरी मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने। १३.कान्ति बाल अस्पताल विकास समितिको अध्यक्ष पदमा श्रीराम सुवेदी, कास्कीलाई मनोनयन गर्ने। १४.साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने। १५.नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिने। १६.नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने। १७.चिकित्सा शिक्षा आयोगको छैटौं वार्षिक प्रतिवेदन संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने। १८.धितोपत्र बजार सञ्चालनको लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्राप्त प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने।
रविसँग सम्पत्ति शुद्धीकरणमा २७ करोड बिगो माग दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा पुगेको छ। सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा अघि बढाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा अगाडि बढाइएको छ। लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दातर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित मुद्दा लगिएको हो । गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको सम्पत्ति भेटिएको निष्कर्षसहित मुद्दा लगिएको छ। उनी गत असोज ६ गते काठमाडौंबाट पक्राउ परेयता ९१ दिनदेखि प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी वकिलको कार्यालयले रवि र छविसहित हाल फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा चलाएको छ। पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा जोशी गत असोज ६ गते र लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । त्यससँगै अन्य तीनजना पनि उक्त प्रकरणमा हिरासतमा छन् । लामिछानेविरुद्ध उनका साझेदार छविलाल जोशी पक्राउ परेको ९१ औँ दिनमा जिल्ला अदालतमा मुद्दा लगिएको हो ।
रवि लामिछानेविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता, निकितालाई पनि मुद्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको छ। पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको हो। सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध संगठित रुपमा सहकारी ठगी गरी त्यसबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोग समेत लगाएको छ। पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको र त्यसको केही हिस्सा गोर्खा मिडिया प्रा।लि।मा लगानी गरेको आरोपमा लामिछाने लगायतमाथि मुद्दा दायर भएको हो। गत शुक्रबार यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पुरक अभियोगपत्र दर्ता भएको थियो। १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो। आरोपितहरुमाथि करिव १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदाबी गरिएको छ। एउटा समूहले योजनावद्ध रुपमा सहकारी ठगी गरेको भेटिएकाले सहकारी ठगी, त्यसमा संगठित अपराधको कसुरको अभियोग लगाइएको छ। साथै, सहकारी ठगी गरेको रकम अपचलन गरी शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाइएको जनाइएको छ। १ अर्ब ५१ करोड रुपैयाँ विगो मागदाबी मध्ये पूर्वगृहमन्त्री लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । जसमा उनकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ । निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो ।
रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी
कास्की । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुँदैछ । जिल्ला प्रहरी कार्यालयले पुस १ गते लामिछानेमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो। पूरक अभियोजन दर्ता गरिएका अभियुक्तमा पक्राउ परेका र फरार दुवै छन्। सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गते अदालतले चार दिनको म्याद थपेको थियो । चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा परेकाले आज अदालतमा मुद्दा दर्ता गर्न लागिएको जनाइएको छ । कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जनाएको छ ।