प्रदेशकै ठूलो अस्पताल जुम्लामा

प्रदेशकै ठूलो अस्पताल जुम्लामा

जुम्ला । जुम्लामा ६ प्रदेशकै सुविधासम्पन्न ठूलो अस्पताल बनेको छ । तीन सय शस्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण पूरा भएको हो । ७६ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ ।

पहिले कर्णालीमा चिकित्सक नबस्दा र औषधि उपचार नपाउँदा कैयौं बिरामीको अकालमा मृत्यु हुने गरेको थियो । कनकासुन्दरी गाउँपालिका ३ का नवजंग हमालका अनुसार अहिले जस्तोसुकै जटिल बिरामीको शल्यक्रिया हुन थालेपछि स्थानीय खुसी भएका छन् । उनले अस्पताल निर्माणले कर्णालीवासीमा खुसी ल्याएको बताए ।

कर्णालीका लागि ऐतिहासिक अस्पताल निर्माण भएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘अब कर्णालीका अस्पतालमा उपचारको अभाव हुंदैन,’ उनले भने, ‘अब सुविधासम्पन्न ठाउँका बिरामीसमेत उपचार गर्न आउने थलो यो अस्पताल बन्नेछ ।’

माघ महिनाभित्र अस्पताल हस्तान्तरण हुने र सेवा आरम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । अत्याधुनिक सुविधासम्पन्न सेवा प्रवाहमा प्रतिष्ठान लागिपरेको शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा।पूजन रोकायाले बताए । ‘अब शय्या अभावमा बिरामी अहिलेझै भुइमा बस्नु पर्दैन,’ उनले भने, ‘उपचार अभावमा जिल्लाबाहिर जानुपर्ने अवस्था आउने छैन ।’

अस्पतालमा १७ जना विशेषज्ञ डाक्टरसहित एक सय ५० जना स्वास्थ्यकर्मीले सेवाप्रवाह गर्दै आएका छन् । अस्पतालको मेडिकल रेकर्डअनुसार गत वर्ष २९ हजार ९ सय ३४ जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् । त्यसमध्ये दुई हजार चार सय ९१ जनाको जटिल शल्यक्रिया भएको थियो ।

अस्पताल ६ नम्बर प्रदेशको स्वास्थ्य केन्द्र बन्नेमा कुनै शंका नभएको प्रतिष्ठानका अस्पतालका निर्देशक धर्मराज गोसाईले बताए । ‘यो शिक्षण अस्पताल प्रदेश नम्बर ६ कै आधुनिक, पहिलो र ठूलो अस्पताल भएको छ,’ उनले भने, ‘हाल प्रतिष्ठानले सय शय्याको शिक्षण अस्पताल संचालन गरिरहेको छ ।’

तत्कालीन उपकुलपति डा पारशकुमार आचार्य र रजिष्ट्रार श्याम लम्सालले ३५ महिनाभित्र अस्पताल निर्माण गरिसक्ने योजना बनाएका थिए । सोहीअनुरूप समयमै निर्माण जिम्मा लिएको कम्पनीले अस्पताल निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लागेको हो । प्रतिष्ठानले स्वास्थ्यका विभिन्न विषयमा अनुसन्धानसमेत गरिरहेको छ ।

प्रतिष्ठानले कर्णालीका स्थानीयवासीको स्वास्थ्य अवस्थाबारे समेत अनुसन्धान गरिरहेको प्रतिष्ठानका उपकुलपति डा। रोजेन्द्रराज वाग्लेले वताए । ‘कर्णालीको मुगु, जुम्ला र कालिकोट जिल्लामा स्वास्थ्य अनुसन्धान सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अब प्रतिष्ठानको कार्यक्षेत्र पिछडिएका ९ जिल्लामा स्वास्थ्य सर्वेक्षणमा केन्द्रित हुनेछ ।’ कर्णालीवासीको औसत आयु ३६ वर्ष मात्रै छ ।

कर्णालीका ५५ हजार घरपरिवारको स्वास्थ्य सर्भेक्षण गर्ने लक्ष्यअनुरूप प्रतिष्ठानले जुम्ला, मुगु र कालिकोट जिल्लाको स्वास्थ्य सर्वेक्षण गरिसकेको छ । अब कर्णालीका अन्य जिल्लाहरूको समेत स्वास्थ्य सर्वेक्षणको तयारी गरिरहेको छ ।

विपन्न र द्वन्द्वपीडितलाई निःशुल्क उपचार
शिक्षण अस्पतालले विपन्न वर्ग र द्वन्द्वपीडित बिरामीहरूलाई निस्शुल्क उपचार सेवा दिइरहेको छ । यसअघि द्वन्द्वकालका घाइते र पीडितहरूले उपचार नपाउँदा निकै सास्ती बेहोरिरहेका थिए । अस्पतालमा उपचार गराउन आउने द्वन्द्वपीडितको हकमा यातायात र वास खर्च उपलब्ध उपलब्ध गराइने अस्पतालले जनाएको छ ।

प्रसूति तथा स्त्रीरोग, हाडजोर्नी तथा नशा, आँखा र रेडियोलोजी लगायतको सेवा विपन्न बिरामीका लागि निस्शुल्क उपलब्ध गराइरहेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले वताए ।

विस्तार गर्दै विशेषज्ञ सेवा
प्रतिष्ठानले कर्णालीमा विशेषज्ञ सेवा विस्तार गरिरहेको जनाएको छ । बिस्तारै ६ नम्बर प्रदेशमा विशेषज्ञ सेवा विस्तार गर्ने योजना बनाइरहेको छ । शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सक डा प्रविनकुमार गिरीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा सेवा विस्तारका लागि पठाइएको छ ।

कुनै बेला पोस्टमार्टमका लागि डाक्टर नपाएर छिमेकी जिल्ला तथा नेपालगन्ज र सुर्खेतबाट बोलाउनुपर्ने अवस्था थियो । अहिले दुर्गमको अस्पतालले सुगमका सुविधासम्पन्न अस्पताललाई समेत चिकित्सक उपलब्ध गराइराखेको छ ।

शिक्षण अस्पतालले डोल्पा जिल्लामा एमडीजीपी अनुप मंगल समाल, सुर्खेतमा एनएसथेसियाजिस्ट डा प्रवीण गिरी, जाजरकोटमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा राजीव शाह र हुम्लामा हाडजोर्नी विशेषज्ञ डा मंगल रावललाई खटाएको जनाएको छ । यही महिनाबाट कालिकोट जिल्लामा समेत विशेषज्ञ सेवा सुरु गरेको छ ।

एमबीबीएस डाक्टरीको तयारी
तीन सय शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रमलाई पनि अगाडि बढाएको प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले बताए । प्रतिष्ठान जुम्लाले एमबीबीएस पठनपाठनको तयारी थालिरहेको छ ।

प्रतिष्ठानले नर्सिङ कलेज सञ्चालनमा ल्याएर स्टार्फ नर्सको पढाइ भैरहेको जनाएको छ भने हेल्थ असिस्टेन्टको तेस्रो ब्याजको पढाइ सञ्चालन गरिरहेको छ ।

स्नातक तहका कार्यक्रमहरूसमेत सञ्चालनको अन्तिम तयारीमा रहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा।धर्मराज श्रेष्ठले बताए । तीन सय शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि मेडिकल कलेज र एलाइड कलेज सञ्चालनमा ल्याउने तयारी प्रतिष्ठानले गरिरहेको छ ।

प्रतिष्ठानले जुम्लामा डाक्टरी पढाइ सञ्चालन गर्ने तयारी गरेपछि जिल्लामा रहेका माध्यमिक विद्यालयहरूले ‘प्लस टु’ मा विज्ञान संकायको पढाइमा जोड दिन थालेका छन् ।

चन्दननाथ माध्यमिक विद्यालयले अत्याधुनिक प्रयोगशाला निर्माण गरी विज्ञान संकायमा जोड दिइरहेको विद्यालयका प्रधानाध्यापक टंक महतले बताए ।

प्रतिष्ठानले चिकित्सक पढाइमा ४५ प्रतिशत विद्यार्थी कोटा पिछडिएको क्षेत्रका लागि छुट्याउने तयारी गरेको छ । त्यस्तै २० प्रतिशत विद्यार्थीले निस्शुल्क छात्रवृत्तिमा पढ्न पाउनेछन् भने २० प्रतिशलेले आशिंक छात्रवृत्ति पाउनेछन् ।

शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा।पूजन रोकायाले जुम्लाको मौसमका दृष्टिकोणले १२ महिना शल्यक्रिया गर्न उपयुक्त रहेको बताए । शल्यक्रिया गरेका घाउहरू चिसोमा चाँडै निको हुने भएकाले पनि भविष्यमा बिरामीहरू शल्यक्रिया गर्न जुम्ला आउने उनको भनाइ छ ।

अहिले जुम्लामा हड्डी सम्बन्धीका सबै जटिल शल्यक्रिया ल्याप्रोटोमी, पेट चिर्ने, एपेन्डिसाइटिस, सिजेरोयनमार्फत बच्चा निकाल्ने शल्यक्रियाको सुविधा छ । जुम्लामा बच्चा, सालनाल अड्किएर आमाको मृत्यु हुने समस्याको हल भएको छ ।

कर्णालीमा स्वास्थ्य पर्यटन
प्रदेशकै ठूलो अस्पतालमा सेवा सुचारु भएपछि कर्णाली स्वास्थ्य पर्यटनको हब बन्ने स्थानीयहरू बताउँछन् । गर्मीको समयमा तराईमा बस्न नसकिने भएकाले घुम्न आउने पर्यटकहरू उपचारका लागि शिक्षण अस्पताल आउने अस्पतालले जनाएको छ ।

घुम्ने बहाना पनि हुने र उपचार पनि हुने भएकाले शिक्षण अस्पताल स्वास्थ्य पर्यटनको हब हुने प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले वताए ।

विद्युत् नहुँदा उपचारमा समस्या
२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक उपकरण सञ्चालनका लागि पर्याप्त विद्युत् नहुँदा उपचारमा चुनौती छ । प्रतिष्ठानमा सीटीस्क्यान, आईसीयु, एमआरआई मेसिन लगायतका मेसिन भए पनि सञ्चालनका लागि विद्युत् छैन ।

जुम्लामा दैनिक १४ घण्टा विद्युत् लोडसेडिङ हुने गरेको छ । पछिल्लो समय बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । उपकरण र विशेषज्ञ चिकित्सक हुँदाहुँदै पनि अस्पतालले उपचार सेवा दिन सकिरहेको छैन । नौमुले जलविद्युत् देपागाउँबाट ११ किलोवाटको विद्युत् प्रतिष्ठानमा ल्याउनका लाइन विस्तार भैरहेको थियो ।

तर चन्दननाथ २ खोलिकोटका स्थानीयको विरोधले विद्युत् लाइन विस्तार हुन सकेको छैन । खलंगामा चालु रहेको विद्युत् योजना जीर्ण छ । साना जलविद्युत् उपभोक्ता समितिले सञ्चालन गरेको विद्युत् दिनमा १२ घण्टा मात्रै सुचारु हुने गरेको छ । आईसीयुलगायतका सेवाहरू सञ्चालनका लागि २४ सै घण्टा विद्युत् आवश्यक पर्ने अस्पतालका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताए ।

‘अस्पतालको आग्रहमा गुठीचौर गाउँपालिकामा रहेको नौमुले जलविद्युत् उपभोक्ता समिति अस्पताललाई विद्युत् दिन सहमत भई लाइन विस्तारको काम अघि बढिरहेको थियो,’ उनले भने, ‘तर स्थानीय खोलिकोटवासीलेआफ्नो जग्गाको माथिबाट लाइन विस्तार गरिन लागेको भन्दै विरोध गरेपछि ७ महिनादेखि लाइन विस्तारको काम अलपत्र भयो ।’

चिकित्सक रोजेर उपचार
जुम्ला तातोपानी गाउँपालिकाका पुष्पराज उपाध्याय आफ्नो उपचार गराउन बिहान ९ बजे नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खोलिकोट पुगे । उनी अस्पताल पुग्दासम्म चार दर्जनभन्दा बढी बिरामीले नाम दर्ता गराइसकेका थिए । १० बजे अस्पतालको बहिरंग विभाग खुल्दासम्म एक सय बढी बिरामीको लाइन भैसकेको थियो ।

बिरामीको चापमा धकलपकल गर्दै उनले आफ्नो नाम दर्ता गराए र उपचारका लागि ओपीडी विभागको अगाडि लाइनमा बसिरहे । बिहानको ११ बजेसम्म चिकित्सक अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा घुमिरहेका थिए ।

अस्पतालमा रहेका बिरामीहरूको राउन्ड उपचार गरिसकेपछि डाक्टर आफ्नो कक्षमा प्रवेश गरे । डाक्टरहरू आआफ्नो आफ्नो कक्षमा प्रवेश गर्नासाथ उपचार गराउने बिरामीहरूको घुइँचो लाग्यो । उपाध्याय पनि आफ्नो उपचारका लागि सोही कोठाको लाइनमा बसे । १५ जना बिरामीपछि उनको पालो आयो ।
डाक्टर नवीन थापाले उनको उपचार गरे । दैनिक दुई सयभन्दा बढी बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालमा अहिले बिरामीहरूले उपचारका लागि कुर्नुपर्ने अवस्था रहेको स्थानीय टंक अधिकारीले बताए । ‘यसअघि एक जना पनि चिकित्सक नबस्ने जिल्लामा चिकित्सक रोजेर उपचार गराउन पाइरहेका छौं,’ उनले भने ‘त्यसैमा हामी खुसी छौं ।’

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय