प्रेममा धोका, मध्यरातमा एसिड : कुवेतमा माया बस्यो, बुटवलमा हत्या

प्रेममा धोका, मध्यरातमा एसिड : कुवेतमा माया बस्यो, बुटवलमा हत्या

बुटवल, माघ २५ । तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गैँडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू दुवैजना आइतबार बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटेलमा वास बसेका थिए । उनीहरूसँगै युवतीकी सानीआमा पनि होटेलमा बसेकी थिइन् । तर, सानीआमा अर्को कोठामा भएका कारण एसिड प्रहार भएको तत्काल थाहा पाउन सकिनन् ।

प्रहरीका अनुसार होटेलको कोठा नम्बर १०३ मा बसेका वेला सुनीलले तुलसामाथि राति साढे ११ बजे एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट गम्भीर घाइते तुलसालाई राति नै उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारका क्रममा सोमबार दिउँसो सवा १२ बजे युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक बेलप्रसाद पाण्डेले जानकारी दिए ।

मध्यरातमा आफूमाथि एसिड प्रहार भएपछि युवती चिच्याएकी थिइन् । उनको आवाज सुनेपछि होटेलका कर्मचारी तत्काल कोठामा पुगेका थिए । उनीहरूले युवकलाई होटेलभित्रै थुनेर प्रहरी बोलाई पक्राउ गराएका थिए । त्यसपछि मात्र कर्मचारीहरूले युवतीकी सानीआमालाई उठाएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले सुनीललाई पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिए ।

प्रेममा धोका दिएको भन्दै एसिड प्रहार
प्रहरीका अनुसार सुनीलले आफूलाई प्रेममा धोका दिएर अर्कैसँग लागेकाले तुलसामाथि एसिड प्रहार गरेको बयान दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पाण्डेले दुवै केही वर्षदेखि प्रेमसम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । पछिल्लो समयमा तुलसाको अर्कैसँग प्रेमसम्बन्ध रहेको थाहा पाएपछि योजनाबद्ध रूपमा सुनीलले एसिड प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ ।

कुवेतमा मायाप्रेम बस्यो, बुटवलमा हत्या
प्रहरी नायब उपरीक्षक पाण्डेले उनीहरूबीच तीन वर्षदेखि प्रेमसम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । प्रेमसम्बन्धमा खटपट आएपछि हत्याको तहसम्म पुगेको पाइएको उनको भनाइ छ । रोजगारीका सिलसिलामा कुवेत पुगेका दुवैजनाको तीन वर्षअघि उतै प्रेमसम्बन्ध सुरु भएको थियो । ‘कुवेत बसाइमा प्रेमसम्बन्धमा रहेका उनीहरूबीच नेपाल आएपछि खटपट भएको अनुसन्धानमा देखिन्छ,’ पाण्डेले भने ।

प्रहरीका अनुसार कुवेतमा रहँदा तुलसाले सुनीलको निकै पैसा खर्च गरेको र केही रकम लिएर नेपाल आएको सुनीलले बताएका छन् । सुनीलभन्दा केही महिनाअघि तुलसा नेपाल आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मरासिनीका अनुसार तुलसा एक वर्षअघि कुवेतबाट नेपाल आएकी थिइन् । कुवेतबाट धेरै पैसा लिएर आएकी तुलसाले अर्कै केटासँग विवाह गर्न लागेको हल्ला सुनेपछि सुनील आक्रोशित बन्दै आएका थिए । ‘अर्कै युवकसँग विवाह गर्न थालेको थाहा पाएपछि सुनीलले हत्याको योजना बनाएर नै एसिड प्रहार गरेको देखिन्छ,’ पाण्डेले भने ।

बुटवल घुम्न जाने गरी तुलसालाई बोलावट
प्रहरीका अनुसार सुनीलले तुलसाको हत्या गर्ने योजना काठमाडौंमै बनाएका थिए । सोहीअनुसार उनले युवतीलाई फोन गरेर बुटवल घुमाउने प्रस्ताव राखेका थिए । दुवैबीच खटपट चलेकाले युवतीले एक्लै जाँदा असुरक्षित ठानेर सानीआमालाई साथमा ल्याएको अनुमान प्रहरीले गरेको छ । काठमाडौंबाट बस चढेका सुनीलले नारायणघाटबाट तुलसा र उनकी सानीआमालाई लिएर दिउँसै बुटवल आएका थिए । प्रहरी नायब निरीक्षक मरासिनीका अनुसार नारायणघाटबाट उनीहरू एउटै बसमा बुटवल आएका थिए । ‘तुलसाले मेरो साथी काठमाडौंबाट आउँदै छ, ऊसँग घुम्न बुटवल जाऔँ है भन्दै सानीआमा मिना खरेललाई लिएर आएकी रहिछन्,’ मरासिनीले भने । खरेललाई हाल इप्रका बुटवलमा राखिएको छ ।

होटेलमालिक पदमराज न्यौपानेका शब्दमा घटना विवरण
मेरो घर गुल्मीको हुँगा हो । सानैमा भारत पुगेर होटेलमा काम गरेँ । पछि फर्किएर पाल्पामा १५ वर्ष होटेल चलाएँ । बुटवल झरेको पनि १० वर्ष भयो । भाइ गोपालसँग मिलेर ट्राफिक चोकभित्र मेरिडियन होटेल चलाएको छु । हाम्रो होटेल एउटा ठूलो बिल्डिङमा छ । तल भुइँतलामा पसल छन्, बीचमा ग्लोबल आइएमई बैंकको शाखा छ । माथिल्ला दुई तलामा हामीले होटेल चलाएका छौँ । ८ सय रुपैयाँदेखि १५ सयसम्मका १४ वटा कोठा छन् ।

हिजो (आइतबार) होटेलमा ठूलै भीड थियो । शैक्षिक भ्रमणमा सुर्खेतबाट आएका ५० जना विद्यार्थीका लागि खानाको अर्डर थियो । होटलमा अरू ग्राहक पनि थिए । त्यसैले हामीलाई दिउँसैदेखि भ्याइनभ्याई थियो । काउन्टरमा म्यानेजर भाइ गणेश भण्डारी थिए । दिउँसो साढे तीन बजेतिर तीनजना गेस्ट आएछन् । केटा र केटीले श्रीमान्-श्रीमती भनेर नाम लेखाएछन् । सानिमा भनेर अर्की महिलाका लागि छुट्टै कोठा लिएछन् । यो पारिवारिक भ्रमणजस्तै लाग्यो । त्यसैले धेरै शंका गरिएन ।

उनीहरू हजार–हजार रुपैयाँ पर्ने कोठा नं. १०३ र ४ मा बसेका थिए । दुई बोतल पानी लिएर कोठामा गएपछि ६ बजेसम्म उनीहरू चुपचाप थिए । ६ बजेपछि एक हाफ खुकुरी रमसँगै एक प्लेट साँधेको पिनट र एक प्लेट चिकेन करी मगाए । उनीहरूले स्न्याक्स फेरि मागेनन्, तर खुकुरी रम एक हाफ फेरि थपे । गिलास तीनवटा मागेकाले रम तीनैजनाले खाए होलान् भन्ने हाम्रो अनुमान छ । राति नौ बजेपछि उनीहरूले खाना मगाए । त्यो पनि एक प्लेट भेज खाना मात्रै । त्यो को–कोले कसरी खाए थाहा भएन ।

शैक्षिक भ्रमणमा आएका विद्यार्थी खाना खाएर आफ्नै गाडीमा गए । भाइ गोपाल र म पनि हाम्रो घर देवीनगरतिर लाग्यौँ । होटेलमा गोपाल भाइको छोरा कुशल र काउन्टर म्यानेजर भाइ गणेश थिए । सबै गेस्ट आ–आफ्नो रुममा थिए, राति साढे ११ बजेतिर चौथो तलामा महिला चिच्याएको आवाज आएछ । आवाज त्यही कोठाबाट आएको थियो जहाँ त्यो जोडी बसेको थियो । होटलका स्टाफहरुले ढकढक पारेपछि केटाले ढोका खोले । त्यतिन्जेलसम्म केटी बेहोस भइसकेकी थिइन् । उनको शरीर एसिडले पूरै जलिसकेको थियो । केटाको हातको छाला पनि केही मात्रामा खुइलिएको थियो । ढोका खोल्नासाथ केटा भाग्न पनि खोजेको थियो रे । तर, हाम्रा स्टाफले समातेपछि उसले भनेछ, ‘जे हुने भइसक्यो, यो सब मैले गरेको हो । तिमीहरु किन समात्छौ ? प्रहरी बोलाउ ।’

खबर पाएपछि पाँच मिनेटमा प्रहरी आयो । प्रहरीले केटालाई नियन्त्रणमा लियो, केटीलाई प्रहरीकै भ्यानमा राखेर लुम्बिनी अञ्चल अस्पताल लगियो । तर, अवस्था यस्तो नाजुक थियो, अस्पतालले जिम्मा लिन मानेन । उनलाई तुरुन्तै मेडिकल कलेज भैरहवा लगियो । तर, सोमबार दिउँसो उनको निधन भएको खबर आयो ।

होटलमा श्रीमान-श्रीमती भनेर उनीहरुले ढाँटेका रहेछन् । नवलपरासी गैँडाकोटकी केटीको नाम तुलसा सापकोटा रहेछ, धादिङ नौबिसेको केटाको नाम सुनील कोइराला रहेछ । तर, केटाले पनि केटीकै थरमा नाम लेखाएको रहेछ । राति एसिड आक्रमण भएपछि पल्लो कोठामा सुतेकी सानीमा भन्ने महिलालाई पनि उठाइएको थियो । तिम्रो ज्वाइँले छोरीलाई घाइते बनायो भन्दा महिला चिच्याएर भन्दै थिइन्, ‘यो मेरो ज्वाइँस्वाइँ केही होइन ।’ होटलमा प्रवेश गरेपछि केटा बाहिर गएको देखिएन त्यसैले उसले योजना बनाएर एसिड बोकेर आएको थियो जस्तो लाग्छ । उसले आक्रमण सुरु गरेपछि केहीबेर केटीले प्रतिकार गरेको अनुमान छ । किनकि कोठामा सामानहरु यत्रतत्र छरिएका छन् । टेलिभिजन भुइँमा खसेर फुटेको छ । तर, ठ्याक्कै के भएको थियो भन्ने प्रहरी अनुसन्धानबाट खुल्दै जाला ।

 यो खबर आजको नयाँ पत्रिकामा छ  ।

दैलेखमा पेट्रोलियम अन्वेषणका लागि अब दुई सय मिटर ड्रिलिङ बाँकी

दैलेख । दैलेखमा पेट्रोलिययम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार शनिबारसम्म तीन हजार आठ सय मिटर ड्रिलिङको काम सम्पन्न भएको छ। अव दुई सय मिटर ड्रिलिङ बाँकी छ। दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेबाट पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ सुरु गरिएको थियो। खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले पुस महिनाभित्र ड्रिलिङको काम सम्पन्न हुने बताए। ‘सात महिनामा तीन हजार आठ सय मिटर ड्रिलिङ सम्पन्न भएको छ,’ लुइँटेलले भने, ‘यो महिनाभित्र ड्रिलिङ र अरू प्राविधिक काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं।’ चिनियाँ र नेपाली टोलीले दुई चरणमा ड्रिलिङको काम गर्दै आइरहेको छ। जियोलोजिष्ट लुइँटेलका अनुसार दैनिक १५ देखि २० मिटरसम्म ड्रिलिङ हुने गरेको छ। दैलेखको पञ्चकोसी क्षेत्रमा वर्षौदेखि ज्वाला बलिरहेको र यस क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास रहेको अनुसन्धानबाट देखिएपछि अन्वेषण सुरु गरिएको हो।  ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ। प्राविधिक टोलीले प्रत्येक मिटरबाट संकलन गरेको स्याम्पल ड्रिलिङस्थल, खानी तथा भूगर्भ विभाग र चीनमा परीक्षणका लागि पठाउँदै आइरहेको आजको नागरिक दैनिकमा खबर छ ।

ओली प्रधानमन्त्री भएपछिका तीन महिनामा बढ्यो ८९ अर्ब सार्वजनिक ऋण

काठमाडौं । केपी ओली नेतृत्वको सरकार सय दिन पूरा गर्ने सम्मुखमा छ । उनी प्रधानमन्त्री भएको तीन महिना (साउन–असोज)मा मात्रै देशको सार्वजनिक ऋण ८८ अर्ब ९४ करोड रुपैयाँले बढेको छ । योसँगै असोज मसान्तसम्म सरकारको थाप्लोमा २५ अर्ब २३ अर्ब तीन करोड सार्वजनिक ऋण पुगेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।  यसअघि ०८०/८१ को अन्त्यसम्म २४ खर्ब ३४ अर्ब नौ करोड ऋण थियो । ओली ३० असारमा प्रधानमन्त्री भएका थिए । पछिल्लो तीन महिनामा सरकारले एक खर्ब ३६ अर्ब रुपैयाँ ऋण उठाएको छ भने ६९ अर्ब सावाँ भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण आन्तरिकतर्फ १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्यतर्फ १२ खर्ब ८६ अर्ब ७३ करोड पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा सार्वजनिक ऋण ४४.२३ प्रतिशतबराबर पुगेको छ ।  सरकारले चालू आर्थिक वर्षमा पाँच खर्ब ४७ अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । असोज मसान्तसम्ममा एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण प्राप्त गरेको छ । यस अवधिमा ५९ अर्ब ६० करोड आन्तरिक ऋणको सावाँ र नौ अर्ब ४३ करोड बाह्य ऋणको सावाँ भुक्तानी गरेको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति २४.९२ प्रतिशत छ । जसमध्ये आन्तरिक ऋण ३४.८५ प्रतिशत र बाह्य ऋण प्राप्ति ९.८२ प्रतिशत छ ।  अर्थविद् डा. चन्द्रमणि अधिकारी सरकारको आम्दानीभन्दा खर्च धेरै हुँदा ऋण परिचालन बढाउन दबाब भएको बताउँछन् । ‘अहिले सरकारको आम्दानीभन्दा खर्च धेरै (बजेट घाटा) छ । खर्च धान्नका लागि पनि ऋण परिचालन बढाउन दबाब भएको देखिन्छ । विदेशी ऋण परियोजनामा आउने हुन् । तर, पुँजीगत कार्य नहुँदा वैदेशिक ऋण परिचालन बढ्न सकेको छैन । चालू खर्च बढी भएको छ, तर राजस्व संकलन कमजोर भएको छ । त्यसले गर्दा ऋण प्राप्ति बढाउन दबाब भएको देखिन्छ,’ उनले भने, ‘समग्रमा स्रोत अभावकै कारण ऋण प्राप्ति बढाउन परेको देखिन्छ । यसरी पहिलो त्रैमासमा ऋण बढी परिचालन गरेको अवस्थामा आर्थिक वर्षान्तमा स्रोत व्यवस्थापनमा चुनौती हुन सक्छ ।’ ब्याजमै भयो १४ अर्ब खर्च  सार्वजनिक ऋण बढ्दै जाँदा ऋण भुक्तानीमा हुने खर्चसमेत बढेको देखिन्छ । चालू आवको तीन महिनामा सरकारले ऋणको सावाँ–ब्याज भुक्तानीमा ८३ अर्ब सात करोड खर्च गरेको छ । यस अवधिमा ६९ अर्ब तीन करोड सावाँ फिर्ता गरेको सरकारले ब्याजमा १४ अर्ब चार करोड खर्चिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ । तीन महिनामा आन्तरिक ऋणको ब्याज ११ अर्ब ८५ करोड र बाह्य ऋणको ब्याज दुई अर्ब १९ करोड भुक्तानी गरेको हो ।  चालू आर्थिक वर्ष ०८१/८२ मा ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब वार्षिक बजेट विनियोजन गरिएको थियो । असोज मसान्तसम्ममा वार्षिक विनियोजनको २०.६२ प्रतिशत ऋण सेवामा खर्च भएको छ । कुल गार्हस्थ्य उत्पादनका आधारमा असोज मसान्तसम्ममा कुल ऋण सेवा खर्च १.४६ प्रतिशत छ ।   

किन चुलिदैछ कांग्रेसभित्र सरकारप्रतिको असन्तुष्टि

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला आफ्नै पार्टीसमेत संलग्न सरकारले सय दिन पनि पूरा नगर्दै चर्को असन्तुष्टि व्यक्त गर्न थालेका छन् । सामान्यतः सरकार बनेको सय दिनलाई ‘हनिमुन’ अवधिका रूपमा लिएर अरूले पनि शंकाको सुविधा दिने राजनीतिक प्रचलन छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको साढे दुई महिना मात्र हुँदै गर्दा सत्तारूढ दलकै नेता कोइरालाबाट आलोचना हुन थालेको हो । अनेक शंका–उपशंकाका बीच कोइराला भने अन्य कारण नभएर प्रधानमन्त्री ओलीका केही कार्यशैलीगत विषयप्रति मात्र आफ्नो असन्तुष्टि रहेको बताउँछन् । खासगरी ओली सरकारले गरेका केही निर्णय र पहलकदमीप्रति कोइरालाको मुख्य चासो देखिएको छ । उद्योगीहरूबाट ‘डेडिकेटेड र ट्रंकलाइन’ को महसुल भुक्तानी गर्ने विषयलाई लिएर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको योजनाप्रति आफ्नो समर्थन नरहेको उनले बताए । ‘कुलमानका कमीकमजोरी थिए भने त्यसलाई हेर्न राज्यका संयन्त्रहरू थिए तर डेटिकेटेड र ट्रंकलाइनको महसुल भुक्तानीको विषयमा जसरी उनलाई हटाउन खोजियो, त्यसमा मेरो असन्तुष्टि हो,’ उनले भने । बालुवाटारमा सर्वदलीय बैठक राखेर उपसभामुख इन्दिरा रानालाई हटाउन गरिएको निर्णयप्रति पनि कोइरालाको आपत्ति नै थियो । संसद्मा रानाविरुद्धको प्रस्ताव दर्ता गर्न कांग्रेस र एमालेका मुख्य सचेतकहरूले हस्ताक्षर संकलन गरिरहेको दिन कोइराला पार्टी सभापति शेरबहादुर देउवा र इतरसमूहका नेताहरूसँग असन्तुष्टि जनाउ दिएर आँखा उपचारका लागि सिंगापुर हिँडेका थिए तर पूर्वको सिंगापुर जान उनले पश्चिम दिल्लीको बाटो लिएका थिए । ‘एकपटक हामी तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगमा गएर फसेका छौं, अहिले फेरि उपसभामुखलाई हटाउने भनेर फस्न हुन्न भन्ने मेरो कुरा थियो । न दुई तिहाइ पुग्ने अवस्था थियो, न उनीविरुद्धको आरोप पुष्टि हुने अवस्था नै थियो, त्यसैले शेरबहादुरजीलाई नै असन्तुष्टि जनाएर म हिँडेको थिएँ,’ उनले भने । सत्ता गठबन्धनमा कांग्रेस–एमालेका अलावा अशोक राई नेतृत्वको जसपा, महन्थ ठाकुर नेतृत्वको लोसपा र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि छन् । सत्तामा रहेका सबै दलको सांसद संख्या जोड्दा पनि दुई तिहाइ पुग्दैन । ‘तर अपुग २/३ सांसद पुर्‍याउन सरकारलाई समस्या थिएन । मधेसमा सत्ता सहकार्य गरेको जनमत वा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमध्ये एउटा दलले समर्थन गर्दा सहजै दुई तिहाइ पुग्थ्यो । कोइरालाकै असन्तुष्टिले प्रधानमन्त्री ओली र हाम्रा सभापति देउवा हच्किनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेका बेला पार्टीभित्रै असन्तुष्टि बढाउँदा समीकरण तलमाथि हुन सक्ने चिन्ता देखिएपछि रोकिएको हो ।’ कोइरालाको असन्तुष्टिकै कारण उनीनिकट सदस्यहरूले उपसभामुखलाई हटाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । कोइरालाको साथ नपाएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रानालाई उपसभामुखबाट हटाउने निर्णयबाट पछि हटे । माओवादीसँग सहकार्य गरेकै बेलादेखि सरकारको स्थिरिता र विकासका लागि कांग्रेसले एमालेसँग समीकरण गर्नुपर्ने पक्षमा कोइराला थिए । डेढ वर्षअघि एमालेले सरकार छाडेपछि कांग्रेस–माओवादी सत्ता सहकार्यमा रहेका बेला कोइरालाकै योजनामा कोशी प्रदेश सरकार गठनमा ‘विद्रोह’ गरिएको थियो । संघ र अरु सबै प्रदेशमा माओवादीसँगको गठबन्धनमा सरकार बन्दा कोशी प्रदेशमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेका थिए । कार्की कोइरालाका विश्वासपात्र हुन् । त्यतिबेलादेखि नै कोइरालाले प्रतिनिधिसभाको संसदीय दलमा बहुमत जुटाउने कसरत पनि गरेको नेताहरू बताउँछन् । बहुमत सांसद आफ्नो पक्षमा नदेखिएपछि नै देउवालाई विस्थापित गर्ने योजनाबाट कोइराला पछि हटेका हुन् । माओवादीले गत फागुनमा कांग्रेस छाडेर एमालेसँग सत्तासमीकरण बनाएको थियो । त्यस समीकरणले चार महिना पार नगर्दै गत असारमा कांग्रेस–एमालेको सत्ता सहकार्य सुरु भयो । आफैंले चाहेअनुसारको समीकरण बने पनि नयाँ सरकारले सय दिन पार नगर्दै कांग्रेस नेता कोइरालामा छटपटी देखिन थालेको हो । कतिपय नेताको बुझाइमा भने ओली सरकारप्रति भारतले अनुदार व्यवहार देखाइरहेको अवस्थामा कोइराला लाभ लिन प्रयासमा भित्रभित्रै लागिरहेका छन् । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ भारतबाट भ्रमणको निमन्त्रणा हुने प्रचलन छ । तर ओलीले अहिलेसम्म भारत भ्रमणको निम्तो पाएका छैनन् । संयुक्त राष्ट्रसंघको महासभाका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता मिलाउन पनि ठूलै कसरत गर्नुपर्‍यो । कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदसमेत ओली नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा स्थिरताको प्रत्याभूति दिने गरी काम गर्न नसकेको बताउँछन् । साउदको भनाइले समेत सरकारलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको संकेत दिन्छ । कोइरालानिकट केन्द्रीय सदस्य गोविन्द पोखरेल ओली नेतृत्वको सरकारले पनि जनतामा भरोसा जगाउन नसके कांग्रेसभित्रबाट कोइरालाले प्रधानमन्त्रीका लागि प्रयास गर्नुपर्ने बताउँछन् । ‘शेखर दाइमा आफ्नो भविष्यको चिन्ताभन्दा सरकारले बढाएको निराशाले छटपटी छ । सरकारका कारण चरम निराशा अझै बढ्दै गए विस्फोटक स्थितिबाट मुलुकलाई जोगाउन शेखर दाइ अघि बढ्नुपर्ने बाध्यात्मक स्थिति आउन सक्छ,’ उनले भने, ‘पार्टीभित्र कुनै विवादमा नपरेका, केही आशा गर्न सकिने नयाँ अनुहार पार्टीको १४औं महाधिवेशनबाट नेताका रूपमा स्थापित भएकाले नै शेखर दाइ उपयुक्त पात्र हो ।’ आजको कान्तिपुर दैनिकबाट

बंगलादेशको अन्तरिम सरकार नेपालबाट बिजुली लैजान सकारात्मक

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले समेत नेपालबाट ४० मेगावाट बिजुली लैजान चासो देखाएको छ । बंगलादेशका तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पालामै नेपाल, भारत र बंगलादेशबीच ४० मेगावाट बिजुली खरिदबिक्री गर्न गत साउन १३ मा सम्झौता मिति तय गरिएको थियो । तर बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले गर्दा सम्झौता स्थगित गर्न भन्दै बंगलादेशले गत साउन पहिलो साता पत्र पठाएर अनुरोध गरेको थियो ।  बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको विरोधमा प्रदर्शन चर्किएपछि साउन २२ मा राजीनामा दिँदै शेख हसिनाले देश छाडेकी थिइन् । हसिनाकै अगुवाइमा भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश लैजाने गरी ४० मेगावाट बिजुली खरिद प्रक्रिया अघि बढेको थियो । तर हसिनाले देश छाडेपछि ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता अब के हुन्छ भन्ने थियो । अहिले बंगलादेशका अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने विषयलाई समर्थन गरेको कान्तिपुर दैनिकले लेखेको छ । यसअघि नै सबै कागजपत्र पूरा भइसके पनि तीन देशबीच सम्झौता गर्न मात्र बाँकी थियो ।  हरेक वर्ष ५ महिनामा कुल १ लाख ४४ हजार मेगावाट आवर बिजुली निर्यात हुनेछ । प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६।४० अमेरिकी सेन्ट (करिब ८ रुपैयाँ ५५ पैसा, बुधबारको विनिमय दरअनुसार) पाउनेछ । ५ महिनामा ९२ लाख १६ हजार अमेरिकी डलर ९१ अर्ब २३ करोड, बुधबारको विनिमय दरअनुसार० आम्दानी हुने प्राधिकरणले जनाएको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउनेछ । अर्थात् बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर भारत–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ । प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै आयोजनाले भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका छन् ।

लोकप्रिय