बढी सुत्ने बानी छ ? ज्यान जाला है !

बढी सुत्ने बानी छ ? ज्यान जाला है !

निद्रा कसलाई मीठो नलाग्ला र ? झन् जाडोको याममा त दिनभरी सिरकभित्र गुट्मुटिएर सुत्नुको आनन्द नै बेग्लै । निद्रा मानव स्वास्थ्यका लागि कति महत्वपूर्ण छ भने हामी आफ्नो एक तिहाइ जीवनकाल त सुतेरै बिताउने गर्दछौं ।

तर सुत्नुको सीमा हुन्छ । सामान्यतया एउटा स्वस्थ मानिसले दिनमा छदेखि आठ घण्टाभन्दा बढी सुत्नु हुँदैन । फेरि पनि कतिपय मानिसलाई सुतेपछि बढी तरोताजापन महसुस हुनेहुँदा उनीहरू समय मिल्नासाथ सुत्न मन पराउने गर्दछन् । यदि तपाईं पनि सुताईको फ्यान हुनुहुन्छ भने बेलैमा सुध्रिहाल्नुस किनभने भर्खरै सार्वजनिक भएको एउटा शोधको नतिजाले तपाईंलाई तर्साउन सक्छ ।

युरोपियन हार्ट जर्नलमा प्रकाशित एउटा शोध अनुसार एउटा वयस्क व्यक्तिले दैनिक छ देखि आठ घण्टाभन्दा बढी सुत्नु जोखिमपूर्ण हुनसक्छ । शोधमा बढी सुत्ने मानिसमा मुटु रोगको खतरा बढी हुने बताइएको छ ।

आजसम्म कम सुत्ने मानिसलाई मात्रै मुटुरोगको जोखिम हुने मानिँदै आएको थियो । आजसम्म गरिएका सबै शोधहरूले आवश्यकताभन्दा कम्म निद्राले ऊर्जा कम खपत हुने, भोक प्रभावित हुने र शरीरको ग्लुकोज मेटाबोलिज्ममा फेरबदल आउने बताइएको थियो । यस्तो अवस्था मुटुसम्बन्धी समस्याहरूको कारक बन्न सक्ने बताइन्छ । तर हालैका केही अध्ययनहरूले भने बढी सुत्नेहरूमा पनि यस्तो जोखिम रहने खुल्न आएको छ ।

युरोपियन हार्ट जर्नलमा प्रकाशित शोधमा आठ घण्टाभन्दा बढी सुत्ने व्यक्तिहरूमा हृदयघात र स्ट्रोकको सम्भावना ठिक्क सुत्नेहरूभन्दा बढी पाइएको थियो । यस्ता मानिसहरूमा चांडै मृत्यु हुने सम्भावना अरुभन्दा ४१ प्रतिशतले बढी पाइएको थियो ।

यस अध्ययनका लागि म्याकमास्टर एण्ड पेकिङ यूनियन मेडिकल कलेजका चुआङशी वाङको नेतृत्वको टीमले २१ देशका विभिन्न क्षेत्रहरूबाट फरक फरक आर्थिक हैसियतका एकलाख १६ हजार ६ सय ३२ वयस्कहरूको सुताईको विवरणलाई विश्लेषण गररेको थियो ।

यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार  पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ ।  यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन  (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।  अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।   परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति  ऋषि भुसालले जानकारी दिए ।  उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।  डेंगुको मुख्य लक्षण  डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका  डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ । 

सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना

बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय ती पुरुषको मलद्वारमा धातुको बोतल अड्किएको देखियो। मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको मलद्वारमा विगत एक महिनादेखि कीटनाशक औषधिको बोतल अड्किएको रहेछ’, उनले भने, ‘जब उपचारका लागि आइतबार बिहान १० बजे अस्पतालको आकस्मिक कक्षमा आएँ, त्यहाँ एक्स–रे गरेर हेर्दा मलद्वारमा बोतल देखिएपछि तत्काल शल्यक्रिया गरेर निकालिएको हो।’ मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए। चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

लोकप्रिय