भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ ।
अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने गरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो ।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्यमन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए ।
बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि पनि निःशुल्क प्रदान गरिने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० चैत १४ गते विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका निम्ति निःशुल्क औषधि प्राप्तिको सम्झौता गरेको थियो । नेपालमा हरेक वर्ष झण्डै १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।
प्रतितोला दुई हजारले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले बढेर एक लाख ५४ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपियाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
जनकपुरको अपराजित यात्रामा सुदूरपश्चिमले लगायो पूर्णविराम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनले हारसँगै जनकपुर बोल्ट्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न जनकपुर आफ्नो पाँचौँ खेलमा ब्याटिङ ‘कोल्याप्स’ हुँदा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा ५१ रनमै समेटिएको हो ।
प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ
काठमाडौँ २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई सपथ गराउनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो । मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा उहाँहरुलाई नियुक्त गर्ने निर्णय गरेको थियो । आयोगका यही मङ्सिर २३ गतेदेखि अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो ।
यी विषयमा छलफल गर्न एकीकृत समाजवादीले ठाक्यो स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदै छ । केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । भोलिसम्म बस्ने बैठकमा नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन् । गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुंगो लगाएको नामावली बैठकले अनुमोदन गर्नेछ । रासस