बढ्याे खानेपानीको संकट
बर्दिवास, चैत १० । महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा धमाधम इनारहरु सुक्न थालेपछि खानेपानीको संकट बढेको छ ।
खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकाका हाथीलेटको बिजयवस्ती, किसाननगर, बिजलपुरा, मनहरीपुर, हात्तीलेट, पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिंया र रामनगर एवम् भङ्गाहा नगरपालिकाका प्रेमनगर र रामनगरसहितका वस्तीमा धमाधम इनार र चापाकल सुक्नथालेपछि लाग्दो चैतको दोश्रो साताभित्रै खानेपानीको सङ्कट बढेको हो ।
बर्दिवास–८ हाथीलेटको बिजयवस्तीमा ५५ घरका बीच रहेको एउटा इनार पनि चैतको दोश्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् ।
‘पहिले÷पहिले पनि इनार त सुक्थे’ बिजयवस्तीकी गृहिणी नुरमाया बिकले भन्नुभयो– ‘जेठसम्म पानी नपर्दा इनार सुक्ने त ब्यहोरिएको थियो, पछिल्ला दुई÷तीन वर्षदेखि त लाग्दो चैतमै इनार सुक्नथालेका छन् ।’
त्यसैगरी यसै सातामै बर्दिवास नगरपालिका–६ र ७ को किसाननगरका मनहरीपुर, कृष्णपुर, जुरेटोल र फुलबारीटोलका इनार पनि धमाधम सुक्दैछन् ।
बर्दिवास–७ कै प्रेमनगर, बर्दिवास–९ को टोकीटोल र पशुपतिनगर एवम् छिमेकको भङ्गाहा नगरपालिका–४ रामनगरका इनार सुक्न थालेकाले यसपाली खानेपानीको सङ्कट चैतमै पर्ने छाँट देखिएको पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकत्र्ता सुरजसिंह कुशवाहा बताउनुहुन्छ ।
पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यहाँका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सम्झदै बर्दिवास–६ कृष्णपुरका अवकास प्राप्त शिक्षक ७० वर्षीय अमरबहादुर दर्लामीेले पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेका बताउनुभयो ।
इनार धमाधम सुकेपछि सिँचाइको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर वस्तीकै किसान भरतराज बरालले बताउनुभयो ।
पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट बालु, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिँदा खोपानीका मुहान चाँडै सुक्नथालेका लामो समयदेखि चुरे संरक्षण र जलाधार संरक्षणका क्षेत्रमा चासोका साथ काम गर्दै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेब यादब बताउनुहुन्छ ।
‘प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले समयमा पानी नपर्ने, जलाधार सुक्ने समस्या बढेका छन्’ यादबले भन्नुभयो–, ‘यो प्रभावले खडेरी, अनाबृष्टि र अतिवृष्टिको चपेटाले हाम्रा समस्या बढेका हुन् ।’
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।
संसद भंग गरी २०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो आशंका व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले २०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनुभयो । उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी २०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनुभयो ।
रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।