थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

काठमाडौं । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए।

उनले भने, '२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुईदिन महोत्सव मनाउने निर्णय गरेका हौँ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौँ भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौँ ।'

उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो । 

उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । बीसभन्दा थारू सङ्घसंस्थाको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब सयभन्दा बढी स्टल रहने उनले बताए।

प्रचारप्रसार गर्ने उद्देश्यका साथ र्‍याली पुस २७ गते शनिबार बिहान ७ बजे मोटरसाइकल र्‍याली तीनकुनेबाट सुरू भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारू संस्कृति, वेशभूषा, बाजागाजा, सङ्घ संस्थाको तुल ब्यानरसहित न्यूरोड, वसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक अध्यक्ष चौधरीको भनाइ छ ।

उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्चले गरेको छ ।

यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाचसहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको धमाकेदार प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए ।

महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) रहनेछन् ।

बालु सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डिक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारको राखिने छ । महोत्सवमा देशभरका थारू समुदायको उपस्थिति रहने छ । हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री वितरणमा थारू हस्तकला तथा थारू जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्रपत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।

साथै हस्तकलाका सामग्री वेशभूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङ्गा, भेग्वा, अंगुछा, धोती, लङ्गौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालरसहित अन्यमा ढकिया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीप्रदर्शनीमा राखिने छ । महोत्सवमा सहभागी भएकाले मन पराएका हस्तकला तथा पुस्तकहरू निश्चित दरमा खरिद गर्न सक्नेछन् ।महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब २१ लाख खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ ।

उदयपुरमा छठपूजाको तयारी सुरु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा छठपूजाको तयारी सुरु भएको छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठुलो पर्व तिहार सकिएसँगै हिन्दुहरूकै पर्वको रूपमा परिचित छठपर्वको तयारी सुरु भएको हो । छठपर्वका लागि त्रियुगा नदी किनारमा भौतिक पूर्वाधार निर्माणको काम सुरु गरेको त्रियुगा नगरपालिका मेयर वसन्तकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार छठका लागि नदी सम्याउने, बर्तालु बस्ने छठीघाट निर्माण गर्नेलगायतका काम सुरु भएको छ । ‘गाईघाटमा छठपर्वलाई भव्य र सभ्य बनाउन नगरपालिका लागिपरेको छ ।’ छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक भएकाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गरी भक्तजनहरूले सहज, सुरक्षित र व्यवस्थित वातावरणमा पूजा गर्न पाउने गरी तयारी थालिएको छ । त्रियुगा नगरपालिका छठपूजा समितिका अध्यक्ष चन्दन साहका अनुसार त्रियुगा खोला सम्याउने, बर्तालुघाट निर्माण गर्ने, टेन्ट निर्माण गर्ने काम सुरु भएको हो । उनले भने, ‘सूर्य भगवानकाे प्रतिमा भएको मूर्ति निर्माण, औपचारिक कार्यक्रमका लागि मञ्च निर्माणस्थल बनाउने काम, लाइट ग्यालरीको जडानका लागि काम सुरु भएको छ ।’ छठपर्व सूर्य भगवान् र छठीमाईको आराधनामा मनाइने हिन्दु धर्मको एक महत्त्वपूर्ण पर्वमा लिइन्छ । चार दिनसम्म चल्ने यस पर्वमा भक्तजनले उपवास, नदी स्नान र सूर्यलाई अर्घ्य अर्पण गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्छन् । तिहार सकिएसँगै छठपर्व सुरु हुन्छ ।

पश्चिम तराईमा मनाइयाे करवाचौथ पर्व

बाँके । बाँकेलगायत पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाले शुक्रबार करवाचौथ पर्व मनाएका छन् । तराईमा बसोबास गर्ने विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाएको नेपालगन्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताए । उनका अनुसार महिलाले दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गरे । नेपालगन्जका अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले शुक्रबार बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिला चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाले पतिको हातबाट सबैभन्दा पहिले जल ग्रहण गरेको बताए । उनका अनुसार यस पर्वमा चन्द्रमाको पूजा गरिने तथा चन्द्रमाकै रूपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा महिलाहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहनासहित शृङ्गार गरी दुलही जस्तै बनेर चन्द्रमा उदाएपछि चल्नी (गहुँको पिठो चाल्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चल्नीको जालीबाट चन्द्रमा दर्शन गर्दछन् । चन्द्रमाको दर्शन गरेपछि पुनः सोही चल्नीमा चन्द्रमाको ठाउँमा आआफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्छन् ।  घरको आँगनमा वा भित्तामा गौरी गणेश भगवान्को चित्र कोरेर टोलभरिका महिला एक ठाउँमा जम्मा भएर पूजापाठ गर्ने गरिन्छ । करवाचौथको दिन पकाइने विशेष पकवान नयाँ चामलको पिठोले बनाएको फाराको पनि पूजा गरिन्छ । पूजापाठपश्चात् कथा सुनाउने चलन पनि रहेको छ ।  

आश्विन शुक्ल पूर्णिमा: आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको छ । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान सुरु, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना गर्नुपर्ने शास्त्रीय वचन रहेको समितिका सदस्य भट्टराईले जनाकारी दिए ।  वैदिक सनातन धर्ममा कार्तिक मासमा गरिने स्नान र दानको ठुलो महत्त्व रहेको विभिन्न ग्रन्थमा उल्लेख छ । कार्तिक मासमा गरिएको दान अक्षय हुने भएकाले देउसीभैलो खेल्नेलाई पनि दान दिने प्रचलन सुरु भएको हो ।

बडादसैं प्रारम्भ, आज घटस्थापना

काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादसैं आज घटस्थापनासँगै सुरू भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वको पहिलो दिन विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घर–घरमा देवी दुर्गाको आह्वान गरिन्छ ।  आज बिहान ९:१३ बजे घटस्थापनाको साइतमा पूजा कोठा वा दसैं घरमा गाईको गोबरले लिपपोत गरी बालुवा वा माटो राखेर जौ (जमरा) रोपिएको छ । यवका अङ्कुर देवी दुर्गाको प्रिय वस्तु मानिँदै विजयादशमीको दिन टीका–प्रसादसँगै समृद्धिको प्रतीकका रूपमा ग्रहण गरिन्छ । धर्मशास्त्रविद् देवमणि भट्टराईका अनुसार जमरामा जौ बाहेक अन्य अन्न रोप्ने शास्त्रीय परम्परा छैन । नौ दिन नौ दुर्गाको पूजा नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीसहित शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका नौ दुर्गाको पूजा–आराधना गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैं सबै जातधर्मका मानिसले मनाउने परम्परा छ । सातौं दिन फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन बलिपूजा हुने परम्परा छ । नवरात्रभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत लगायतका स्तोत्रको पाठ गरिन्छ भने गुह्येश्वरी, मैतीदेवी, शोभा भगवतीसहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ । विजयादशमी र कोजाग्रत पूर्णिमा यस वर्ष दशमी असोज १६ गते परेको छ। देवी विसर्जनको साइत बिहान ९:२३ र टीका ग्रहणको उत्तम साइत ११:५३ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण र महालक्ष्मीको व्रत बस्ने चलन छ ।  हनुमानढोकामा विशेष पूजा परम्पराअनुसार काठमाडौंको हनुमानढोकास्थित दसैं घरमा पनि आजैदेखि वैदिक विधिअनुसार जमरा राखी पूजा आरम्भ गरिएको छ । महानवमीका दिन ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा छ । बडादसैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका नेपालीहरू यही अवसरमा घर फर्केर परिवारसँग पर्व मनाउने गर्छन् । धेरै शैक्षिक संस्था आजैदेखि बिदामा छन् ।

लोकप्रिय