बर्षा र यादहरु (कविता)

बर्षा र यादहरु (कविता)
दिनमा-रातमा
बिहान- साँझ
हिउदमा-बर्षामा 20161123_190822
कुनै पनि बेला, कुनै पनि ठाउमा
गर्जिन सक्छ बादल
बर्षिन सक्छ बर्षा ।
जब बर्षिन्छ,
कहिलेकाही यो –
खेतमा लहलह फुल्न आँटेको धानको बाला
मर्याक मुरुक पार्दै बर्षिन्छ
शान्त खोलाहरुलाई उत्ताउलो पारेर
गाउ बस्तिलाई जलमग्न पार्दै बर्षिन्छ
सौन्दर्य छर्दै बसेका पहाडहरु
र मुस्कान बाड्दै गरेका फुलहरुमा
कुरुपता भएर बर्षिन्छ
जीवन खोज्दै गरेका बिरुवाहरु
र सपना खोज्दै गरेका जिन्दगीहरुमा
काल भएर बर्षिन्छ ।
लाग्छ-
बर्षा र यादहरु उस्ता उस्तै हुन् ।
यादहरुको नि
कुनै समय हुदैन, मौसम हुदैन
कुनै पनि बेला, कुनै पनि ठाउमा
दिलको ढोका ढक्ढक्याउदै
आईदिन सक्छ यो ।
जब आउछ,
कहिलेकाही यो –
छाती जलाउने आगो लिएर आउछ
मुटु दु:खाउने घाऊ लिएर आउछ
आँखै बिझाउने आसुँ लिएर आउछ
दिमाग भताभुङ्ग पार्ने बेहोसीपन लिएर आउछ
छुराले आफ्नै नसा काट्ने पागलपन लिएर आउछ
र कहिलेकाही यो
यमलोकको दरवारमा पुगेर
अत्यास लाग्दो मृत्‍युको डोली लिएर आउछ ।
लाग्छ-
बर्षा र यादहरु उस्ता उस्तै हुन् ।
बर्षा सधैं
बिनास र बिकृति मात्र लिएर बर्षिदैन
जब बर्षिन्छ,
अक्सर यो –
बाँझो चिरा परेको खेतहरुमा
सिन्चाई भएर बर्षिन्छ
नयाँ बिरुवाहरुमा
जीवन भएर बर्षिन्छ
आगोको राप ओकल्दै गरेको मरुभुमीमा
शितलता भएर बर्षिन्छ
हिलो सुकेर प्याक प्याक गर्दै
मर्न लागेको गोही र भ्यागुताहरुमा
सन्जीवनी भएर वर्षिन्छ
धुलो र प्यासले काकाकुल बस्तिमा
अमृत भएर बर्षिन्छ ।
र यादहरु नि सधैं
आसु र दु:ख मात्र लिएर आउँदैन
जब आउछ,
अक्सर यो –
प्रेम लिएर आउछ
खुशी लिएर आउछ
मिलन लिएर आउछ
आफनत्व लिएर आउछ
मिठो पलहरु लिएर आउछ
सुन्दर सपनाहरु लिएर आउछ
सुनौलो आशाहरु लिएर आउछ ।
वास्तवमा यादहरु नहुने हो भने
माया प्रेम कहाँ हुन्थ्यो होला र !
परिवार र नाता सम्बन्ध नै कहाँ हुन्थ्यो होला र !
सहयोग र सेवा भन्ने कुरा नै कहाँ हुन्थ्यो होला र !
खुशी र उमङ्ग भन्ने कुरा नै कहाँ हुन्थ्यो होला र !
लाग्छ-
बर्षा र यादहरु उस्ता उस्तै हुन् ।
यादहरु नभईदिए –
जिन्दगी नै उराठ उराठ हुन्थ्योहोला
जसरी बिना बर्षा, बिना पानी
सुख्खा र मरुभुमी बन्छ धर्ती ।
यादहरु नभईदिए –
मर्ने थिए होलान् मन भित्रका सबै चाहानाहरु
जसरी बिना बर्षा, बिना पानी
सुकेर मर्छन् सुन्दर फुलहरु ।
                        सुन्दर गुरुङ
                        छिनामखु -8, काङ्कांकाङ, भोजपुर
                       हाल – बहराइन ।

कविता : कमरेडसँग कमरेड !

हत्तेरिका कमरेड ! अप्ठेरो नमान्नू न अलिअलि कस्तो कस्तो लागिहाल्छ नि नयाँ नयाँमा यस्तै हो कमरेड हल्का अन इजी हुन्छ हुन्छ ! अलिअलि अप्ठेरो त तपाईलाई पहिलो पटक बन्दूक बोक्दा भयो होला त्योभन्दा बढी भयो होला बन्दूक बुझाएको बेला तपाईले खुरुखुरु बुझाएकै त हो कमरेड अलिअलि लाज लाजजस्तो भैहाल्छ नि त्यसरी रातो पिरो नहुनू न कमरेड एकतामा अप्ठेरो पर्छ क्या कमरेड ! एता हेर्नुस त कमरेड ! जस्तै नि कमरेड ! पहिलो पटक घुष खाँदा पहिलो पटक कमिशन बुझ्दा पहिलो पटक घडेरी जोड्दा या पहिलो पटक शेयर हाल्दा मनमा चिसो त पस्यो होला नि कमरेड ? पहिलो पटक ठमेल छिर्दा पनि मुख हेर्न लाज भयो होला नि कमरेड हाम्लाई पनि चिसो पस्या थ्यो उहिलै अलिअलि त पसिहाल्छ नि त्यस्तो त भैहाल्छ नि कमरेड ! पहिलो पटक प्रचण्ड पथ छोड्दा हल्का सिरिङ्ग भयो होला नि कमरेड ? यो पटक पनि माओवाद त छुटिसक्यो यो पटक पनि भयो होला त्यस्तो ? अलिअलि हुन दिनु पर्छ क्या कमरेड मन त हो भैहाल्छ नि हल्का त मेरो कुरा बुझ्नु भयो नि कमरेड ? अव सिध्दान्तले भात पाक्दैन कमरेड न आदेशले भात पाक्छ हिजोजस्तो घर परिवार छन इस्टमित्र छन हल्का जोडजाम गर्नु परो नि कमरेड अनि त्यो जोडजाम गर्न सिध्दान्त पक्रेर कहाँ होला र कमरेड ! यी हामीलाई हेर्नुस न कम्निष्ट पनि भएकै छौं जनताले पत्याएकै छन् नपत्याए तपाई र मेरो आकार हेर्नुस विदेशीले पनि पत्याएकै छन् राष्ट्रवादी पनि एक लम्वरको भैया छ यो पनि सवैले पत्याएकै छन् स्कूल अस्पताल सव चलाएकै छौं आइएनजिओमा रजगज गरेकै छौं सम्पत्ति पनि जोडेका छौं राजनीति पनि गरेका छौं गर्ने त यस्तो हो नि कमरेड १ अव हामीसँगै हिड्ने भएपछि हामीजस्तै हुनु परो नि कमरेड खान सिक्नु परो लाउन सिक्नु परो लुकाउँन फकाउँन सवै सिक्नु परो ह्वास्ल्याङ्गे तरिकाले कहाँ हुन्छ कमरेड हिजोको तुजुक झिकेर कहाँ हुन्छ ? अव त मौकामा ज्ञानी बन्ने हस भन्नेर हजुर भन्ने कम्निस्टमा पनि हुन्छ नि मानमनितो त्यो जम्मै सिक्नु परो नि कमरेड ह्या कमरेड पनि ! कताको लेनिन खै भनिराख्या भन्या लेनिन त मरिसके नि मरेको मान्छे फेरि आउँछ त ? तपाई भौतिकवादी हैन कमरेड ? अव त हामी नै आफै मार्क्स आफै लेनिन आफै माओ क्या कमरेड ! मेरो कुरा ध्यान पुर्वक सुनेर मुन्टो हल्लाएर मुसुक्क हाँसेकोमा धन्यवाद छ कमरेड ! बलराम तिमिल्सना ‘विप्लव’

होली पर्वको शुभकामना

रंगको पर्व होलीमा रङ्गाई आफ्नो गाला अपरिचितलाई रंग दले मानिन्‍न निको चाला पानी छ्यापी आपसमा हानिन्छ पनि लोला हाँसी खुशी पर्व मानौं दुई दिनको यो चोला   राजेन्द्र पोखरेल सबै खेलमा नियम हुन्छन् पालना सधैं गरौं फोहर पानी नफाली अरुलाई सभ्य मानिस बनौं घर परिवार साथी भाई मिली खेलौं होली सद्भभाव बाड्दै देशैभरि मनाइन्छ आज भोलि   मादक पदार्थ सेवन गरी मान्‍नुहुन्‍न पर्व हाम्रै मौलिक पर्व हो गरौं यसमा गर्व नगरी झगडा मनाऔं पर्व राखौं यही भावना फागु पर्वको अवसरमा सबैलाई छ शुभकामना राजेन्द्र पोखरेल सिरानचोक-५ गोरखा हाल टोखा न.पा. काठमाण्डौ

कविता: हुनेले त घरमै खसी मार हाने होलान !

हुनेले त घरमै खसी मार हाने होलान नहुनेका बच्चाले खै चिची भने होलान ! कसैकोमा खसी ,बोका ,राँगा केके ढले दुरदराज झुपडिले फुट्यो कर्म ठाने होलान ! बिष्टकोमा भाग उठाउदै हिड्ने दलित दाइले खर्चिलो पर्वमा खै कसरी घर धाने होलान ? यज्ञराज ढुगाना तराइको आधा भुभाग दशै मुखमै डुब्छ सधै डुबेका ती बस्तिहरुले क्यारि दशै माने होलान ? व्यवहार धान्नै परदेशिन बाध्य लाखौ मान्छेहरु चाडबाडमा खुसी लिइ कैले घर जाने होलान ? एकाथरी हर्ष उल्लास खुसी साथै मनाउलान अर्का थरी दशै ऋणले वर्षै भरी रुने होलान !! हुनेले त घरमै खसी मार हाने होलान नहुनेका बच्चाले खै चिची भने होलान !!😑😑 यज्ञराज ढूँगाना हाल: मलेसिया

कविता: नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

सागर बोहरा नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबिसकेछु । नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा म त ५५ डिग्रीको घाममा जल्न पुगेछु नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा म त बालुवै बालुवाको मरुभुमी मा पुगी सकेछु । नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु नखोज्नु है मलाई वरपिपलको छहारीमा म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु । नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनिसकेछु नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु । महेंन्द्रनगर, नेपाल, कञ्चनपुर

लोकप्रिय