बाढी र कटानको चपेटामा भुरुङ तातोपानी
म्याग्दी, भदाै २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ । पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको जोखिममा परेको हो ।
बाढी र कटानको जोखिमका कारण करीब सय घरधुरीको बसोबास रहेको भुरुङ तातोपानीका बासिन्दा त्रासमा परेको नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखाका सभापति दशरथकुमार कर्माचार्यले बताए । “बस्तीमाथिको पाखोबाट आउने बाढी र कालीगण्डकीको कटानका कारण जोखिम बढेको हो” कर्माचार्यले भने, “बाढी र कटानको जोखिमका कारण बर्खायाममा राम्रोसँग निदाउन समेत पाउँदैनौँ ।”
गत वैशाख ३० गते बस्तीमाथिको खोल्साबाट आएको बाढी पस्दा चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब रु एक करोडको क्षति पुर्याएको थियो । कालीगण्डकी किनारमा रहेको सर्वोदय माविको खेलमैदानको आधा भाग नदीले कटान गरेर बगाइसकेको छ ।
भदौ १ गते राति कालीगण्डकीमा आएको बाढीले खेलमैदान परिसरमा रहेको भुरुङ तातोपानी मिट सप्लायर्स र बल्क उद्योग पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । कालीगण्डकीले धार परिवर्तन गरेर प्राकृतिक तातोपानीको मुहानतर्फ सोझिएकाले कटानको जोखिममा परेको छ ।
भुरुङ तातोपानीस्थित सीमा प्रहरी चौकी क्षेत्रको कार्यालय वरपरका बासिन्दा रातको समयमा अन्यत्र गएर सुत्ने गरेका छन् । वैशाखको बाढीलगत्तै जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिशमा जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले ७५ थान तारजाली उपलब्ध गराएको थियो ।
गाउँपालिकाको रु पाँच लाख र प्रतिनिधिसभा सदस्य भूपेन्द्र थापाको पहलमा जल उत्पन्नले उपलब्ध गराएको थप रु पाँच लाखबाट ७५ थान जाली भरेर खोल्सामा छेक बाँध र ग्याबियन पर्खाल लगाएको छ ।
थप ग्याबियन पर्खाल लगाउन जाली, बजेट र योजनाको अभाव भएको कर्माचार्यले बताए । उनका अनुसार थप १०० थान तारजाली आवश्यक देखिएको छ । नदी कटान र बाढी नियन्त्रणका लागि गाउँपालिकामार्फत् प्रदेश र सङ्घीय सरकारका निकायमा पहल गरिएको वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।
खानी बन्द हुँदा रोजगारी गुम्यो
म्याग्दीको मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा रहेका स्लेट खानी बन्द हुँदा स्थानीयको रोजगारी र आम्दानीको अवसर गुमेको छ । सङ्घीय र प्रदेश सरकारले कानून निर्माणमा ढिलाइ गरेका कारण घर तथा भवन छाउने ढुङ्गा (स्लेट) उत्खनन गरिँदै आएका खानी बन्द भएको हो ।
संविधानले व्यवस्था गरेअनुसार सङ्घीय र प्रदेश सरकारले खानी उत्खनन तथा सञ्चालनसम्बन्धी कानून निर्माणमा ढिलाइ गर्दा खानी सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।
स्थानीय स्वायत्त शासन ऐन २०५६ अनुसार तत्कालीन गाविसले सञ्चालन गर्दै आएको खानीलाई नयाँ संरचनाअनुसार गाउँपालिकाको मातहत ल्याएर व्यवस्थित र वैधानिकरुपमा सञ्चालन गर्न कानूनी अड्चन देखिएको छ । “वातावरणीय अध्ययन गरेर व्यवस्थित र पारदर्शी हिसाबले खानी सञ्चालन गर्ने तयारी गरिए पनि कानून नबन्दा अप्ठ्यारो भएको छ” गाउँपालिकाका अध्यक्ष रोकाले भने ।
पहिले स्थानीय युवाले वार्षिक रु पाँच लाखमा ठेक्का लिएर उत्खनन र निकासी गर्दै आएका थिए । गाउँपालिकाका अनुसार स्लेट उत्खननकर्ताले यसअघि करार गरेबमोजिम रु छ लाख ३१ हजार अझै भुक्तानी गरेका छैनन् ।
घर छाउन र भूइँमा बिछ्याउनका लागि स्लेट प्रयोग हुन्छ । पातला, आकर्षक र सस्तो हुने भएकाले म्याग्दीका ग्रामीण बस्तीसँगै सदरमुकामलगायत छिमेकी जिल्लामा रुमको स्लेटको माग बढ्दो छ । सिमेन्टले ढलान गरेको भन्दा लागत कम पर्ने, आकर्षक देखिने र टिकाउ हुने भएकाले कच्ची घर छाउन तथा पक्की घरभित्र र बाहिर टायलको रुपमा बिछ्याउन स्लेटको खपत बढेको वडाध्यक्ष नरबहादुर पुनले बताए ।
खानी बन्द हुँदा खानीमा स्लेट उत्खनन गरेर जीविकोपार्जन गर्दै आएका ५० भन्दा बढी मजदूर बेरोजगार भएका मजदूर पदमबहादुर विकले गुनासो गर्नुभयो । खानीमा काम गरेर एक जनाले मासिक रु १० हजारदेखि ४५ हजारसम्म आम्दानी गर्दथे । खानीमा अधिकांश दलित समुदायका मजदूर कार्यरत थिए ।
रुम गाउँदेखि दुई घण्टा उकालो पैदल हिँडेपछि पुगिने पहाडको फेदीमा रहेको खानी विसं २०२६ मा पहिचान भएको थियो । रुमको स्लेट काठमाडौँ, पोखरा, चितवनलगायतका शहरमा निकासी हुने गरेको छ ।
मालिका गाउँपालिकाको १, २ र ३ नम्बर वडामा आधा दर्जन स्लेट खानी रहेका छन् ।
झोलङ्गे पुल बगायो
म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको बेँसीस्थित ठूलोखोलामा सोमबार राति आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । मराङको बेंसीदेखि मल्कवाङ, कुइने, भेडीखाल्डा, आरबाङ, घण्टीवाङ, रिख जाने बाटोमा पर्ने काठको झोलुङ्गे पुल बगाएको हो । बाढीले बेंसीमा सयौं रोपनी खेतीयोग्य जमीन कटान गरेको र बस्तीसमेत जोखिममा परेको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।
पुल बगाएपछि खोला वारपार बन्द भएको छ । मराङस्थित जनविकास माविमा आरबाङ, घण्टीबाङ, रिखको बस्तीबाट अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । एक सय घरधुरीभन्दा बढी प्रभावित भएका छन् ।
ठूलोखोलाको कटानले सिँचाइको पाइप र विभिन्न ठाउँमा पैदलमार्गसमेत बगाएको छ । बेँसीस्थित ठूलो र सानो खोलाको दोभानमा रहेको हरिहर मन्दिर जोखिममा परेको छ । सानो खोलामा रहेको अस्थायी काठे पुलसमेत बाढीले बगाएको छ । बाढी र पहिरोले पुर्याएको क्षति विवरण सङ्कलन भइरहेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । रासस
बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्। राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए । तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।
देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् । मन्त्रीहरुसँग सामूहिक छलफल गर्न उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।
समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने
काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने । आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।
सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी
काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी दिए । ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।