बिर्तामोड उद्योग वाणिज्य संघमा रोशन मनोनित
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सघंको कार्यसमिति सदस्यमा युवा व्यवसायी रोशन प्रसाई मनोनित भएका छन् ।
वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले प्रसाईंलाई शुक्रबार कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । सिद्धकाली टे«डर्स एण्ड मल्टिपल सप्लायर्सका म्यानेजिङ डाइरेक्टर रहेका प्रसाईंलाई तीनवर्षे कार्यकालका लागि कार्यकारिणी सदस्य पदमा मनोनित गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
मनोनयनपछि बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष भट्टराईले उद्योगी, व्यवसायीको हकहित संरक्षण र प्राप्तीमा प्रसाईंको भूमिका फलदायी हुने विश्वास व्यक्त गरे ।
संघको कार्यकारिणी सदस्यमा मनोनयनले आफूलाई हर्षित तुल्याएको प्रसाईंले बताएका छन् । आफूले निर्वाह गर्दै आएको भूमिकाको सही मूल्यांकन गरेकोमा अध्यक्ष भट्टराई तथा वाणिज्य संघप्रति प्रसाईंले धन्यवाद समेत ज्ञापन गरेका छन्।
उनले संघको कार्यसमितिमा नयाँढंगले सहयोग गरेर जाने र व्यापारीलाई पर्ने समस्यामा राजनीतिबाट माथि उठेर निष्पक्ष र निडर भई अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
३२ वर्षीय प्रसाईं वीरता जेसीज लगायत आधा दर्जन सामाजिक संस्थामा छन् । त्यस्तै सानो संसार ल्याण्ड एण्ड हाउजिङका प्रबन्धक निर्देशक समेत रहेका प्रसाईं आधा दर्जनबढी व्यवसायिक संस्थामा आबद्ध छन् ।
डेनमार्क र नर्वेबाट वाणिज्य संकायमा स्नातक गरेका रोशन समाजसेवी तथा धार्मिक व्यक्तित्व डिल्ली प्रसाईंका ज्येष्ठ सुपुत्र हुन् । उनी राउण्ड टेबल बिर्तामोड, नेपाल रेडक्रस सोसाइटीको सदस्य तथा पूर्वेल युवा क्लवको कोषाध्यक्ष हुन् ।
त्यस्तै हार्डवेयर व्यवसायी संघको सदस्य, प्रोपर्टी डिलर्स एसोसिएसनको सदस्य, सानो संसार कन्ट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर, टपकोन टेक्निकल सोलुसनको अध्यक्ष, एन्टिना ट्रेड एण्ड टेक्नोलोजीको सञ्चालक, माता पाथिभरा हार्डवेयरको सञ्चालक समेत रहेका छन् ।
वाणिज्य संघका अध्यक्ष भट्टराईले मनोनित गर्ने दुई सदस्य पदमध्ये यसअघि एजाज अहमद अन्सारीलाई मनोनित गरिसकेका छन् । यो मनोनयसँगै बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमितिले पूर्णता पाएको छ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।
संसद भंग गरी २०८७ सम्म सरकारमा रहने ओलीको चाहना हुनसक्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर २०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो आशंका व्यक्त गर्नुभएको हो । अध्यक्ष नेपालले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्नेकुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले २०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताउनुभयो । उहाँले संसद भंग गरेर ठेलेको ठेल्यै गरी २०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष प्रचण्डसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारेमा छलफल भएको बताउनुभयो ।
रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सरकारी वकिलहरूको जवाफी बहससँगै उक्त मुद्दामा थुनछेक बहस सकिएको हो । बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए । थुनछेक बहस सकिएको र आजै ४ बजेभित्र आदेश आउने कास्की जिल्ला अदालतका श्रेष्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश राईको इजलासमा पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस हुँदै आएको थियो । प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहसपछि बुधबार सहकारीपीडितहरूका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । उक्त सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भएको हो ।