बैंकबाट ओडी लिएर जग्गाको वैना कारोबार गर्नेहरू बेघर हुँदै

बैंकबाट ओडी लिएर जग्गाको वैना कारोबार गर्नेहरू बेघर हुँदै

काठमाडौं । पोखराकी अन्जु लामगाडेले दुई महिना अघि बैंकसँग ऋणको कुरा गरेर ८० लाख रुपैयाँ पर्ने घर किन्न २४ लाख रुपैयाँ वैना दिइन्।

पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल छेउको घर किन्न लाग्नुको कारण थियो- केहि समय पछि बेचेर राम्रो नाफा कमाउने। तर, उनले सोचेजस्तो भइ दिएन। बैंकिङ क्षेत्रमा ‘क्रेडिट क्रन्च’ चर्किएपछि कबुले बमोजिम कर्जा दिन नसक्ने भन्दै बैंक टक्टकिए।
‘बैंकले ऋण दिन्छु भनेकैले ४५ दिनको भाका राखेर घरको वैना दिएँ, लामगाडेले बिजमाण्डू सँग भनिन्- पछि बैंकले ऋण दिन नसक्ने जवाफ दिए पछि घर नकिन्ने मनसाय बनाएकी थिएँ।’ उनले वैना दिएको २४ लाख रुपैयाँ फिर्ता गरिदिन घरधनी सँग आग्रह गरिन्। तर, घरधनिले ‘बरु केही समय पर्खिने तर पैसा फिर्ता दिन नसक्ने’ जवाफ दिए। ‘घरधनीले जहिले हुन्छ बेचेर बाँकी पैसा देउ तर वैना फिर्ता गर्न सक्दिन भनेपछि घर बेच्ने निर्णयमा पुगेकी हुँ’ उनले भनिन्।
घर बिक्रीका लागि लामगाडेले मंगलबार फेसबुकमा सूचना नै पोष्ट गरिन्। अहिले तत्काल ५० लाख रुपैयाँ दिनेलाई घर पास गरिदने र बाँकी पैसा बिस्तारै दिँदा हुने उनको भनाइ छ।
‘अव मलाई दुई/चार लाख घाटा त हुने नै भयो’ उनले सुनाइन्- ७०/७५ लाख आए पनि बेचिदिन्छु।’ बैना दिएको २४ लाख रुपैयाँ पनि ऋण सापटी खोजेको हुँदा जसरी पनि घर बेच्ने बाध्यता आएको उनले बताइन्।
पर्वतका रामचन्द्र पौडेलले पनि केहि समय अघि थानकोटमा प्लटिङ गरेका तीन वटा घडेरी किने। उनको उद्येश्य पनि दुई तीन महिनामा राम्रो नाफा खाएर बेच्ने नै थियो। तर, बैंकले ऋण लगानी नगरे पछि घरजग्गाको कारोबार सुस्त भयो। अहिले उनी घरजग्गा हैन शेयर बजारमा लगानी गर्ने भन्दै जग्गा बिक्रिको प्रयासमा छन्।
बानियाटार काठमाडौंकी लक्ष्मी उपाध्यायले ८ कोठाको दुई तले घर बिक्रीका लागि सूचना नै प्रकाशित गरेकी छिन्। चार आनामा बनेको घर एक करोड १५ लाख रुपैयाँमा बेच्न तयार भएको उनले उल्लेख गरेकी छिन्। बैंकबाट लिएको ४० लाख रुपैयाँ ऋण चुक्ता गर्न समस्या भएपछि घर बेच्ने निर्णयमा पुगेको उनले बताईन्। उनी किन्न आउने ग्राहकलाई ‘मिलाएर’ घर दिन तयार छिन्।
सिन्धुपाल्चोकका लक्ष्मण श्रेष्ठले पनि डेढ महिना अघि काठमाडौं थलीमा १५ कोठाको घर किने। तर, ‘फाइनान्सिङ’कै समस्या आएपछि मासिक ४०/५० हजार रुपैयाँ भाडा आउँदा आउँदै पनि घर बेच्ने निर्णयमा पुगेको उनको भनाइ छ। जति सक्दो चाँडो बैंकको लफडा सल्ट्याउन श्रेष्ठ दौडधुपमा लागेका छन्। एक करोड २० लाख मूल्य तोकेको घर मिलाएर दिन उनी पनि तयार छन्। ‘नाफाको त कुरै भएन सावाँ आउने बित्तीकै बेचिदिने हो’ उनले भने।
ईमाडोलका विवेश श्रेष्ठ भने जग्गा बेच्न आतुर छन्। उनीसँगै सिमा जोडिएको जग्गा दुई महिना अघि आनाको ४५ लाख रुपैयाँ दरले बिक्री भयो। अहिले उनले आनाको २९ लाखमा बेच्ने भनेर सूचना निकालेका छन्।
‘आनाको २७ लाख रुपैयाँ आए पनि बेच्ने हो, ल आउनुस, ग्राहकको रुपमा बिजमाण्डूले कुरा गर्दा उनले भने- मेरो धेरै ठाउँमा जग्गा छ दाई विदेश जान लागेकोले बेच्नु पर्ने बाध्यता छ, आउनुस अझै मिलाउनु पर्छ भने पनि मिलाउँला’।

बैंक तथा वित्तिय संस्थाले लगानी रोकेसँगै घर/घडेरी मूल्य घटाएर बेच्ने सूचना दिनहुँ प्रकाशित हुन थालेका छन्। जसले आफ्नै प्रयोजनका लागि घर जग्गा किनेका थिए उनीहरुलाई समस्या नभए पनि कमाउने उध्येश्यले लगानी गर्नेहरु भने समस्या पर्न थालेको व्यवसायीले बताएका छन्।

‘जसले आफ्नै गोजीको रुपैयाँ हालेर घरै बनाउने उद्येश्यले किनेका थिए उनिहरुलाई समस्या छैन, अनलाईनको माध्यमबाट घरजग्गा किनबेचको मध्यस्थता गरिरहेका अर्जुन छत्कुली भन्छन्- तर जसले बैंकबाट ओभरड्राफ्ट ऋण निकालेर नाफाका लागि जग्गा कारोबार गरिरहेका थिए उनिहरुलाई समस्या भैसकेको छ।’ अचेल विगत भन्दा दोब्बर संख्यामा घरजग्गा बेच्नेहरुले सम्पर्क गरि रहेको उनी सुनाउँछन्। पत्रिका देखि डीजिटल मिडिया घरजग्गा बिक्रिका विज्ञापनले भरिन थालेका उनको अनुभव छ।

बैंकमा क्रेडिट क्रन्चसँगै राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा गरेको कडाइले घरजग्गा कारोवार ८ वर्ष अघिकै दृश्य देखिन थालेका छन्। त्यसबेला पनि बित्तिय क्षेत्र तरलता संकटमा परेपछि धेरै घरजग्गा ब्यवसायी डुबेका थिए। सर्वसाधारणको पैसा डुबाएपछि सुधिर बस्नेत लगायत ‘ठूला’ रियलस्टेट ब्यवसायी अझै पनि जेलमा छन्।
बिजमाण्डूबाट साभार

पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।   त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।

१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५  रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कले स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५  पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ । आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा कायम गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३  पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैङ्कले जनाएको छ । यस्तै, थाईभाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ २२ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ९३ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४० पैसा तय गरेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ तथा बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको केन्द्रीय बैङ्कले जनाएको छ । ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ २० पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । केन्द्रीय बैङ्कले आजदेखि ओमानी रियालको खरिद बिक्री सुरु भएको जनाएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गर्नुभएको हो । ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताउनुभयो ।  सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्छ भन्नुभयो । उहाँले व्यवसाय दर्ता, नविकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिनुभयो । साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्युनिकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी ढकालले दिनुभयो । नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उहाँको टिप्पणी छ । ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराउनुभयो । ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् । महासंघले दशैं–तिहार लक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशत सम्म घटेको देखाएको जानकारी पनि उहाँले दिनुभयो । तर, ढकालले अर्थतन्त्र निराशाजनक नभएको र सुधारको सम्भावना रहेको औंल्याउनुभयो । उहाँका अनुसार केही सूचकहरूले सुधारलाई बल दिन सक्छन् । हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झटकाले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि यो सकारात्मक सन्देश रहेको उल्लेख गर्दै ढकालले महासंघको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको छ, जसमा अहिले निजी क्षेत्रलाई पनि समावेश गरिएको छ भन्नुभयो । यसले निजी क्षेत्रलाई थप अवसर र सम्मान दिनेछ ।

लोकप्रिय