भरतपुर महानगरकाेआर्थिक समिक्षा : सेवा प्रवाह चुस्त बनाउन मेयर दाहालको निर्देशन
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा गरेका उपलब्धीबारे समिक्षा गरेको छ । महानगरपालिकाले आर्थिक वर्षमा महानगरभित्र भएका विकास निर्माण, राजस्व संकलन, सुशासन लगायतका विषयमा समिक्षा गरेको हो ।
महानगरपालिकाको सभाहलमा भएको समिक्षा गोष्ठीमा २९ वडाका सचिवहरूले गत आर्थिक वर्षमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुतीकरण गरेका थिए । महानगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा बढी सडक पूर्वाधार निर्माण, सडकको स्तरोन्नती गरेको देखिएको छ । ५ वर्षअघि १ किलोमिटर कालोपत्रे पनि भएको वडामा अहिले औसतमा ३० किमी सडक कालोपत्र निर्माण भएको तथ्याङकमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाले विगत ५ वर्षको अवधिमा ६१० किमी सडक कालोपत्रे निर्माण गरेको थियो । सडक पूर्वाधारपछि महानगरले शिक्षा पूर्वाधार निर्माणमा रकम खर्च भएको पाइएको छ । महानगरभित्र रहेका विद्यालयको पूर्वाधार निर्माण गरी प्राविधिक शिक्षालाई जोड दिएको वडाहरुको तथ्याङ्कले देखाएको छ । महानगरमा रहेका विद्यालयहरुमा पछिल्लो समय आर्कषण वृद्धि भइ विद्यार्थीको संख्यामा क्रमश बढेको छ । महानगरमा विगतमा ५ वर्षको अवधिमा सामुदायिक विद्यालयको विद्यार्थीको संख्या ७ हजारले वृद्धि भएको छ । विद्यालयहरुको गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई प्रथामिकतामा राखेको थियो ।
महानगरपालिकाले कृषि उत्पादन वृद्धि गर्न सिँचाईको सुविधा, निकुञ्जसँग जोडिएको वडामा मेषजाली निर्माणमा रकम विनियोजन गरी काम गरेको देखिएको छ । गत आर्थिक वर्षमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, त्यसको प्रभाव र समस्याहरूको समिक्षा गरी असल अभ्यासहरूलाई यस आर्थिक वर्षमा प्रभावकारी ढंगले काम अगाडि बढाउन सहयोग पुग्ने महानगरपालिकाले बताएको छ ।
योजनाहरूको छनोट समयमै मुल्याङकन र अनुगमनका साथै भूक्तानी प्रक्रियालाई सरल बनाउँने र आन्तरिक नियन्त्रण प्रणालीको विकास गर्दै न्यूनिकरण गर्दै लैजाने समिक्षा बैठकमा छलफल भएको थियो । सो अवसरमा राजस्व असुली, करका दर र दायराहरूको विस्तार र विकासकासाथै सामाजिक सुरक्षा र सुशासन प्रवाह गर्न भूमिका खेल्ने बताइएको छ ।
वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवा प्रवाहमा सुस्त भएको प्रति असन्तुष्टी जनाइन् । मेयर दाहालले महानगर मातहतका कर्मचारीलाई कार्यतालिका बनाएर परिणाम देखिने गरी काम गर्न निर्देशन समेत दिइन् ।
‘सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउनुहोस,उनले भनिन् ,‘सेवाग्राहीमैत्री कार्य प्रणाली लागु गर्नुहोस् । कुनै पनि कार्यमा अवरोध भए त्यसको समधानतर्फ लाग्नुहोस् । काम गर्न चाहेँ असम्भव केही पनि छैन ।’
मेयर दाहालले पूर्वाधार निर्माणमा गुणस्तरीयता मुख्य विषय भएकाले नियमित अनुगमन र सुपरिवेक्षण गर्न सम्बन्धीत कर्मचारीलाई निर्देशन दिइन् । समयमै काम नगर्ने, गुणस्तरहिन काम गर्ने निर्माण गर्ने निर्माण व्यवसायी र उपभोक्ता समितिहरुलाई कारबाही समेत गर्न निर्देशन दिइन्। वार्षिक समिक्षा गोष्ठीमा वडा अध्यक्षहरूका साथै शाखा, महाशाखाका कर्मचारीहरूले विषयगत समिक्षा,समस्या र समाधानका विषयहरु प्रस्तुत गरेका थिए ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।