भरतपुर महानगरपालिका र रूरूबीच भगिनी सम्बन्ध स्थापना
चितवन । भरतपुर महानगरपालिका र रूरू गाँउपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको छ । दुई पालिकाले शुक्रबार रुरु क्षेत्रमा एक कार्यक्रमका बीच सम्झौता गरेका छन् ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रूरू गाँउपालिका प्रमुख यदु ज्ञावालीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रमणीय तथा धार्मिक क्षेत्रको पहिचान बनाएको रूरू गाउँपालिकासँग भगिनी सम्बन्ध कायम गर्न पाएकोमा खुसी व्यक्त गर्दै यस्ता सम्बन्धहरूले जनस्तरको सम्बन्धलाई सुदृढ गर्ने विश्वास गरिन ।
भरतपुर महानगरपालिकाले विदेशका विभिन्न देशका सहरहरूसँग भगिनी सम्बन्ध कायम गरी दुई पक्षिय हितमा काम गरिरहेको बताउदै अब देशका विभिन्न पालिकाहरूसँग भगिनी सम्बन्ध कायम गर्ने नीति लिए बमोजिम रूरू गाँउपालिकासँग भगिनी सम्बन्ध स्थापित गरेको उल्लेख गरिन । आगामी दिनमा अन्य पालिकाहरूसँंग पनि सम्झौता गर्दै जाने बताउँदै यस्ता सम्बन्धले जनस्तरको सम्बन्ध विकासका साथै समग्र विकासमा सहकार्य गर्न सकिने बताईन । अनुभ आदान–प्रदानका साथै गराई र भोगाईहरूको आदान प्रदानले कार्य क्षेत्रमा आईपर्ने समस्याहरू समाधान गर्न सहयोग पुग्ने बताईन् ।
प्रमुख दाहालले रूरू गाउँपालिकाको समग्र विकासमा भरतपुर महानगरपालिकाको सधै साथ र सहयोग हुने बताउदै रूरू पालिकाबाट समेत सोही अपेक्ष लिएको बताईन् ।
मध्य नेपालको सुन्दर सहर सभ्य र सुसंस्कृत भरतपुर महानगर र धार्मिक एवम् संस्कृत रूरू गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएसँगै दुई स्थान बीच धार्मिक सॉस्कृतिक आर्थिक एवम् बहुपक्षिय आयामहरूमा दुई पक्षिय सहयोग आदान प्रधान हुने बताईन् ।
भरतपुर महानगरपालिका विकास र समृद्धिको नयाँ आयम कायम गर्दै गैरहेको छ भने रूरू गाउँपालिका धार्मिक संस्कृतिक विकासका साथै ग्रामिण विकासमा अग्रसर हुँदै आईरहेको छ । यस सम्बन्ध कायम भएसँगै दुई तह बीच एक आपसका असल अभ्यासहरूलाई सिकाईको अवसर समेत हुने छ ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का जनसम्पर्क विज्ञ वुद्धि जिसीले भरतपुर महानगरपालिका र रूरू गाउँपालिका बीच भगिनि सम्बन्ध कायम गरेकोमा दुवै तहलाई धन्यवाद दिदै विकास र सुसासनको केन्द्र बन्दै गएको भरतपुरबाट रूरू गाउँपालिकाले लाभ हाँसिल गर्ने विश्वास व्यक्त गरेका थिए ।
सो अवसरमा रूरू पालिकाका प्रमुख यदु ज्ञावालीले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरी सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै दुई पालिकाको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रममा रूरू गाउँपालिकाकी उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।