भूकम्प पीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता वितरण
सिन्धुली, माघ ६ । सिन्धुलीका ७३ जना भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ता वितरण गरिएको छ । पहिलो किस्ता लिएर पहिलो चरणको निर्माण सम्पन्न गरेका भूकम्प पीडितलाई दोस्रो किस्ता दिइएको हो ।
दोस्रो किस्ताको कार्यविधि संशोधनमा ढिलाइ हुँदा ढिला गरी शीतलपाटी गाउँ विकास समितिका भूकम्प पीडितले दोस्रो किस्ता पाएको गाविसका सचिव कल्याण घिसिङले जानकारी दिए ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले एक आवास निर्माणको पहिलो किस्ताको चरण पार गरेका ७३ घरलाई दोस्रो किस्ताबापतको रु एक लाख ५० हजारका दरले एकमुष्ट रु.एक करोड नौ लाख ५० हजारको चेक राष्ट्रिय वाणिज्य बैंक शाखा झागाझोली रातमाटालाई हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत सिन्धुलीको शीतलपाटी गाविसमा पुनःनिर्माणसहितको काम अगाडि बढाइएको छ । एक सय ४९ जनालाई डकर्मी तथा सिकर्मीको तालिम दिई लाभग्राहीको सूचीमा परेकालाई वितरण गरिएको छ ।
लाभग्राहीको सूचीमा समावेश भएका ८८० मध्ये ८५३ जना लाभग्राहीसँग अनुदान सम्झौता भएको र उनीहरुलाई भूकम्प प्रतिरोध घर निर्माण गर्न रेडक्रसले अगुवाइ गरेको छ । सिन्धुलीका दुई नगरपालिका र ५० गाविसमा अनुदान सम्झौता भए पनि दोस्रो किस्ताको रकम प्राप्त गर्न शीतलपाटीका लाभग्राही पहिलो भएका छन् ।
अन्य गाविस र नगरपालिकामा पुनःनिर्माण सन्तोषजनक नभएको बताइएको छ । तर सितलपाटी गाविसमा ‘हाल निजी आवास निर्माण १६४ जनाले गाविसमा सुरु गरेको र दोस्रो किस्ताका लागि ११६ जना योग्य भइसकेको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ४८ जना लाभग्राहीले इन्जिनियरको प्रत्यक्ष निगरानीमा दोस्रो चरणको निर्माण कार्य सकिसकेकाले तेस्रो किस्ता दिनसमेत योग्य भइसकेका छन्। समुदायमा भूकम्पले क्षति पुर्याएको भौतिक संरचना निर्माणको साथमा खानेपानी तथा सरसफाइ, जीविकोपार्जन र स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।
यता जिल्लाका राजनीतिक दलले भुइँतले १३ फिट अग्लोमात्र भएकाले बस्न लायक नहुने तर्क गरेका छन् । निर्माण धमाधम भइरहेका घरका भान्छा घरमात्र भएकाले त्यस्तो नभएर मानिसको सामान्य व्यवहार सञ्चालन गर्न मिल्ने गरी बनाउनुपर्ने दलहरुको भनाइ छ ।
माटोको घर एक तलाको १३ फिट उचाइको मात्र बनाउनुपर्ने मापदण्ड भएकाले सरकारको मापदण्डअनुसार नै निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।
कमलामाई नगरपालिकामा भूकम्प प्रतिरोधी आवास बनाउन तीन हजार ७१० लाभग्राहीले अनुदान सम्झौता गरेको भए पनि अहिलेसम्म ५० जनाले मात्र आवास निर्माणका लागि नगरपालिकासँग अनुमति लिएका छन् ।
सिन्धुलीमा २७ हजार ८०० लाभग्राहीसँग अनुदान सम्झौता भएपनि ७३ जनाले मात्र दोस्रो किस्ताबापतको रकम पाएको जिविस सिन्धुलीका डिजास्टर फोकल पर्सन बवीन्द्रलाल माझीले जानकारी दिए ।
आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदै, कोशीमा बिदा
काठमाडौं । आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको हो । किराँत भाषा, लिपी, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नु भएका फाल्गुनन्दको २००५ सालमा निधन भएको हो । किराँत समाज सुधारमा फाल्गुनन्दले पु¥याएको योगदानको कदर गर्दै उहाँलाई २०६६ साल मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको योगदानको सम्मान गर्दै किराँती समुदायको बसोवास रहेका पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । यस अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईसँग खेल्ने
काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्व खेल्ने भएको छ । नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुनेछ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ आठ रनले हराएको थियो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदै छ । रासस
आजको मौसम पूर्वानुमान : केही स्थानमा हल्का वर्षा
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ। कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ शनिबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
नायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत
नारायणगढ। नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका अनोज अधिकारी, नवलपरासी विनयत्रिवेणीका सन्तोष भुषाल, सविना भुषाल र भारत घर भएर पोखरा बस्ने कुमार साह हुनुहुन्छ। भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।