मनकामना केवलकार ५ दिन बन्द हुने

मनकामना केवलकार ५ दिन बन्द हुने

मुग्लिन : यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।

मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए । गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए ।

यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।

उक्त कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केवलकारको अवस्था अनुगमन गर्दै आएकामा सोहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको, उसकै निगरानीमा मर्मत हुन लागेको र मर्मतपछि नियमित सञ्चालनमा आउने उनले जानकारी दिए ।

यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्युन चापीय प्रणाली अवस्थित रहेको देखिन्छ । महाशाखाका अनुसार हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर ३१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

आज यस्तो रहने छ मौसम

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ आगामी २४ घण्टामा कोशी, बागमती  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक –दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

नेपाल–भारत सैन्य सहकार्य वार्ता हुँदै

काठमाडौं । नेपाल र भारतका सैनिकबिच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार नेपाल आउनु भएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलिबच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले आजै द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । गत १६ गते असारमा सेनाध्यक्ष नियुक्त हुनु भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो । भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

तोलामा एक हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

लोकप्रिय