मनोरम चित्लाङ
मकवानपुर: ‘कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने ? साथ कसोरी लाने हो…?’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध र रविन शर्माको आवाजमा स्वराङ्कन भएर आजभन्दा ३६ वर्ष अगाडिको चर्चित चलचित्र ‘वासुदेव’ मा समावेश गरिएको यो मिठो सङ्गीतमा पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चाबहिलमा स्नातक तहमा अध्ययनरत सर्लाहीकी स्मीता थापा ‘टिकटक भिडियो’ छायाङ्कन गर्दै थिइन्।
त्यहाँ उनी जस्तै भिडियो बनाउने अरु धेरै थिए तर सबैले यही एउटा मात्र गीतमा भिडियो बनाइरहेका थिए। एउटा ढुङ्गेधारा उनीहरुको एकमात्र ‘सुटिङ स्पट’ थियो। धाराको डिलमा बसेर कापी कलम बोकेर केही लेखेजस्तो गरेर फोटो खिच्नेहरु पनि प्रशस्त थिए।
केहीबेर त्यहाँ बसेर त्यो गतिविधि नियाल्ने जो कोहीलाई पनि त्यो धारा र त्यो गीतसँग पक्कै पनि केही न केही अन्तरसम्बन्ध छ भन्ने कुराको भान परिहाल्छ। मनमा पलाएको कौतुहलता मेट्न धारा नजिकै भएको बोर्ड अध्ययन गर्न पनि सकिने रहेछ। बोर्डमा लेखिएको छ, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘यात्री’ कविताको रचनास्थल ‘गुर्जुधारा’।’
मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चित्लाङस्थित ‘गुर्जुधारा’ चन्द्रागिरिको फेदीमा मकवानपुरपट्टि पर्छ। यातायातको विकास हुनुअघि भारत तथा नेपालका विभिन्न क्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने एक मात्र नाका चित्लाङ भएकोले यही मार्ग भएर आउजाउ गर्नु थुप्रै नेपाली र विदेशीको एकमात्र विकल्प थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटा त्यही मार्ग हुँदै कयौँ पटक आवतजावत गर्थे। कुनै कवि सम्मेलनमा सहभागी हुन भारत जान लाग्नुभएका महाकवि देवकोटा एकदिन गुर्जुधारा नजिकै धर्मशालामा बास बस्नुभएको थियो।
बास बस्ने क्रममा उनले पशुपति दर्शनका लागि भारतदेखि आएका तीर्थयात्रु पहाडी बाटोमा हिँड्न नसकेर भरियामार्फत बोकिएर हिँडेको, उनीहरुसँग अशक्त, अपाङ्ग तथा माग्नेले भिखको लागि हारगुहार गरेको तर उनीहरुले बेवास्ता गरेको देखे। हेर्दा निकै नै धनाढ्य देखिने ती यात्रीहरुले धर्मशाला वरिपरि बसेका भिखारीको भिख र सहयोगको अनुरोध भने नसुनेझैँ गरी बेवास्ता गरेकोप्रति भावुक भएर महाकविले ‘यात्री’ कविता लेखेको अग्रजहरुबाट सुनेको बताउँछन् स्थानीय स्वछन्द्र भैरव माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा होमस्टे सङ्घका केन्द्रीय सल्लाहकार बुद्धरत्न मानन्धर। स्थानीय होमस्टे सञ्चालकसमेत रहनुभएका मानन्धरका अनुसार ऐतिहासिक व्यापारिक बाटो (सिल्क रोड) मा रहेको गुर्जुधारा चन्द्रागिरि पर्वतको फेदीमा अवस्थित छ। यहाँ महाकवि देवकोटाले रचना गरेका अनेकौँ रचनामध्ये ‘यात्री’ कविता सुप्रसिद्ध भएको छ र यसै प्रसिद्धिको नाताले मानन्धरले यहाँ एउटा होमस्टे सुरु गरे। जसको नाम ‘गुर्जुधारा होमस्टे’ राखिएको छ।
चित्लाङमा गुर्जुधारा मात्रै हैन थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरिरहेका छन्। मानन्धरका अनुसार चित्लाङ नेपालको पुराना शहरमध्ये एक हो। लिच्छवीकालीन राजा अंशुवर्माले सातौँ शताब्दीमा यो शहर बसालेको इतिहासकारलाई उद्धृत गर्दै मानन्धर बताउँछन्। चन्द्रगिरिबाट एक घण्टाको पैदल दूरीमा पर्ने चित्लाङ प्राचीन बस्तीको झल्को दिनेखालका घरले मनमोहक देखिन्छ। सम्राट अशोकको प्रतिबद्धताअनुसार उनकी छोरी चारुमतीले बनाएको अशोक चैत्य अर्थात चारुमती बिहार यहाँको प्रमुख पर्यटकीय गन्तव्यअन्तर्गत पर्दछ। तीनवटा गजुर भएको ढुङ्गैैढुङ्गाले बनेको पौराणिक शिव मन्दिर पनि यहाँको अर्को आकर्षक गन्तव्य हो। मानन्धरका अनुसार चित्लाङको प्राचीन नाम चित्रापुर हो।
उसबेला थानकोटको नाम शोणितपुर थियो। त्यहाँका राजा बाणासुरको पुत्री राजकुमारी उषामैयाको सहेली ‘चित्रा’ ले यहाँको प्राकृतिक सुन्दरतालाइ मन पराएर दैनिक आउने गरेकीले यो ठाउँको नाम चित्रापुर रहन गयो। पछि भारतका सम्राट अशोकपुत्री चारुमती स्वयम्भूको दर्शनार्थ आउँदा चित्रापुरको बाटो हुँदै स्वयम्भूको दर्शन गरिन् र काष्ठमण्डपको उत्तरको विशाल मैदानबीचमा एउटा बौद्ध बिहार बनाइन् जसको नाम क्रमशः चाबहीर चाबहिल र चाबेल रहन गयो। यो घटनाक्रम २२ सय वर्ष अघिको थियो र सोही बखत चारुमतीको सहयोगमा यता चित्रापुरमा पनि एउटा ‘चैत्य’ निर्माण भयो जसलाई अशोक चैत्य भनिन थालियो। चारैतिरका मान्छेहरुले चैत्य दर्शन गर्न आउन थाले। नेवारहरुले चैत्य आउँदा प्रयोग गरेको यहाँको बाटोलाई चैत्य लँ भन्न थाले। लँ को अर्थ बाटो हो। चैत्यलँ भनिँदै जाँदा यो चित्रापुर भन्ने ठाउँको नाम नै चैत्यलँ बाट चैत्यलङ चेतलङ हुँदै चित्लाङ हुन गएको बताइन्छ। यस ठाउँको नाम चित्लाङ नामकरण भएको करिब दुई हजार दुई सय वर्ष जति भएको मानन्धर बताउँछन्।
समुन्द्री सतहबाट दुई ५०० मिटरको उचाइमा रहेको चन्द्रागिरि पर्वतको दक्षिणी पानीढलोपट्टिको भाग चित्लाङमा पर्छ। ऐतिहासिक भालेश्वर महादेवको प्राचीन मन्दिर चित्लाङतिर पर्छ तर हाल नयाँ विशाल मन्दिर बनेपछि पुरानो मन्दिरको भने बेवास्ता भएको पाइन्छ। चित्लाङको मुख्यबस्ती समुन्द्री सतहबाट एक हजार ७५० मिटरको उचाइमा पर्दछ। दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौँसँग जोडिएको यस क्षेत्र सुन्दरताले भरिपूर्ण छ। देशकै सबैभन्दा ठूलो चरनक्षेत्र भएको पहाडी चउर चित्लाङमै पर्दछ। यहाँ सरकारले विगतमा सञ्चालन गरेको भेडा फार्म र प्रदेश सरकारले बाख्रा विकास फार्मको रुपमा सञ्चालन गरिरहेको छ। बाख्राको दूध र त्यसबाट बनेको ‘चिज’ का लागि पनि चित्लाङ प्रसिद्ध छ। विगतमा मुलाको लागि प्रसिद्ध चित्लाङ खुर्सानीका लागि पनि उत्तिकै परिचित छ।
यहाँ दुईवटा सुविधा सम्पन्न रिसोर्ट र २० वटा होमस्टे सञ्चालित रहेको र हप्तामा ७०० देखि एक हजारसम्मले बास बस्ने गरेको बताउनुहुन्छ चित्लाङ रिसोर्ट प्रालिका सञ्चालक रामशरण नेपाल। नेपालका अनुसार यहाँ दैनिक मोटरसाइकल वा गाडीमा घुम्न आउने र फर्कनेको सङ्ख्या सयौँ छ। केही विदेशी तथा अधिकांश नेपाली पर्यटकले भरिभराउ रहने चित्लाङमा एकरात बस्नेगरी जानेको सङ्ख्या बढी हुने होटल व्यवसायी बताउँछन्। शुक्रबार यहाँका अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छन्।
एशियामा नेपालमा मात्रै पाइने उँटे भेडा (अल्पाका) पनि चित्लाङमा पालिएको छ। रिस उठ्यो भने थुकेर रिस मार्ने यो प्रजातिको ऊन संसारमा सबैभन्दा महङ्गोे ऊन हो। यही जनावरलाई हेर्नका लागि मात्रै बर्सेनि यहाँ हजारौँ मानिस आउँछन्। यहाँको अर्को आकर्षण हो, जैतुन खेती। जैतुन स्वास्थ्यवद्र्धक तेलका लागि विश्व प्रसिद्ध छ। अत्यन्तै महङ्गाे मूल्यमा बिक्री हुने तेल उत्पादन हुने जैतुन वातावरणमा सबैभन्दा अक्सिजन फाल्ने वनस्पती मध्ये पर्दछ। चित्लाङमा विदेशको मरुभूमिमा मात्र देख्न पाइने क्वाड बाइक भनिने चारपाङ्ग्रे मोटरसाइकलको मज्जा पनि लिन सकिन्छ।
यहाँ आउने पर्यटकले भरपुर आनन्द लिएको पाइन्छ। काठमाडौँको थानकोटबाट एक दिनका लागि यहाँ आएकी सम्झना कोइराला चित्लाङको चित्ताकर्षणले लोभ्याएको बताउँछिन्। ग्रामीण स्वच्छ वातावरण, पौराणिक चिजबिज, बगान ऐतिहासिकस्थल आदिले उनलाई आनन्दित पारेको छ। ‘यो पटक साथीसँग आएँ अब परिवारसँग चाँडै आउँछु’, उनले बताइन्।
हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयकी शिक्षिका कुशुम थापालाई पनि चित्लाङ साह्रै मन पर्यो। सहकर्मीहरुसँग घुम्न आउनुभएकी उनलाई जैविक खेती, ऐतिहासिक सातधारा, गुर्जुधारा, चन्द्र दरबार, पौराणिक वस्तुहरु आदिको भ्रमणले आनन्दित बनाएको बताउनुहुन्छ। चित्लाङको विकास र पर्यटकीय प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकार लागि परेको थाहानगरका प्रमुख लवशेर विष्ट बताउँछन्। ‘हामीले सङ्घीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर चित्लाङको विकासका लागि थुप्रै योजना बनाएका छौँ, कतिपय काम भइरहेका छन् कतिपय हुँदैछन्’, उनले बताए।
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैनः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको बेलामा आफूहरुले फरक मतको रुपमा छाडेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनः आवश्यक भएको बताउनुभएको हो । ‘हामीले संविधान जारी हुँदा जे नोट अफ डिसेन्ट लेखेका थियौं, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगत दशको अनुभवले देखाइसकेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने संकल्प लिएको छु । त्यो आन्दोलन नयाँ समाजवादी आन्दोलनको आधार पनि हुने छ ।’ उहाँले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहितको नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गर्नुभयो । पुराना संसदवादी दलहरुसँगको संसर्गबाट माओवादी नेता कार्यकर्ताहरु पनि केही न केही रुपमा बिग्रिएको उल्लेख गर्दै उहाँले अब हुने आन्दोलनबाट नेता कार्यकर्तामा देखिएको फोहरमैला पनि सफा हुने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस एमालेसँग मिलेर प्रधानमन्त्री भएको बेला भन्दा जनतासँग मिलेर जाँदा प्रधानमन्त्रीभन्दा पनि माथिल्लो जिम्मेवारीमा रहेजस्तो अनुभव आफूलाई भएको उहाँले स्पष्ट गर्नुभयो । पार्टीलाई नयाँ वैचारिक मान्यता र नयाँ कार्यनीतिका साथ एकताबद्ध गर्ने जमर्को गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो बीचमा पार्टीभित्र विभिन्न खालका गुटबन्दी र अराजकता देखा परेकै हुन्, मैले नेतृत्वको हिसाबले त्यसलाई समाधान गर्न विगत डेढ महिनादेखि लगातार छलफल गर्दै आएको छु । अब पार्टीलाई एकताबद्ध गर्ने मात्रै होइन, हाम्रोबाट विभाजन भएका अन्य माओवादी धारा र समाजवादी आन्दोलनलाई एकताबद्ध गर्न सकारात्मक पहल भएको छ । म तपाईसँग विश्वासका साथ भन्न चाहन्छु– छिटै माओवादी धाराहरु एकताबद्ध हुनेछन् र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुने छ।’ ‘हामी अहिले नयाँ चुनौती र अवसरको दोसाँधमा छौं । मैले सरकारबाट बाहिरिदै गर्दा केही समीक्षाहरु गरेको छु’– उहाँले भन्नुभयो– ‘हामीले हाम्रो वर्ग, समुदाय र हिजोका एजेण्डालाई जुनरुपमा दह्रोसँग समात्नुपर्ने थियो, त्यहाँ कही न कही कमजोरी भएको छ, हामीले आत्मसमीक्षा गर्नैपर्दछ ।’ सरकार छाडेसँगै प्रतिनिधिसभामा गरेको सम्बोधनका क्रममा आफूले कमजोरी स्वीकार गर्दै आफ्नो वर्ग, समुदाय, एजेण्डा र जनताप्रति फर्कने संकल्प गरेको गरेको र त्यसपछि देशब्यापी नयाँ आकर्षण पैदा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्तालाई कहाँ कमजोरी भयो भनेर समीक्षासहित जनतासँग जोडिन आग्रह गर्नुभयो । ‘हामी पार्टीलाई समाजवादी आन्दोलनमा लैजान र वैज्ञानिक समाजवादको आधार तयार पार्न अहिले देशभरि परामर्श बैठक गरेर आन्दोलनको तयारीमा केन्द्रित हुँदैछौं’– उहाँले भन्नुभयो– ‘हामीले संसद र सडकबाट मात्र होइन, सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र पनि दिएका छौं । सरकारले हाम्रो खबरदारीलाई सुन्नेतिर होइन, झन पछि झन नकारात्मक दिशातिर अघि बढ्ने दुस्साहस गर्दैछ ।’ आफूले नेतृत्वले गरेको पहिलो सरकारले भौतिक पूर्वाधारको रुपमा मध्यपहाडी लोकमार्ग र अन्य कैयन उत्तरदक्षिण कोरिडोर निर्माणको थालनी गरेको, गरिब किसानको ३० हजारसम्मको ऋणमुक्त गरेको, दोस्रो कार्यकालमा मुलुकलाई लोडसेडिङको डरलाग्दो आतङ्कबाट मुक्त गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तेस्रो कार्यकालमा थालनी गरेको सुशासनको अभियान अब निरन्तर अघि बढ्ने बताउनुभयो । उहाँले अहिले सरकार भ्रष्टाचारीको रक्षा गर्ने र त्यसको विरोध गर्नेमाथि कुनै न कुनै रुपमा दमन गर्नेतिर केन्द्रित रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा थालेको अभियानकै कारण भ्रष्टाचारी जोगाउनकै लागि माओवादी नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाइएको बताउनुभयो । उहाँले जनयुद्ध, जनआन्दोलन र संविधानको रक्षाका लागि भएका आन्दोलनमा काभ्रेले अतुलनीय योगदान गरेको उल्लेख गर्दै उत्पादनसहितको नयाँ समाजवादी आन्दोलनमा पनि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य यशोदा सुवेदी, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङलगायतले पनि बोल्नुभएको थियो ।
भारतले भन्यो -'भारत हुँदै नेपाल-बंगलादेश विद्युत् व्यापार प्रचण्ड सरकारसँगको सहमतिमा ऐतिहासिक सफलता'
काठमाडौं । भारत सरकारले नेपालको बिजुली भारतीय ग्रीड हुँदै बंगलादेश पठाएको जश नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।नेपालको बिजुली औपचारिक रुपमा बंगलादेश निर्यात भएपछि भारतले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्ड सरकारसँगको सहमति कार्यान्वयन भएको भन्दै विज्ञप्ति जारी गरेको हो । पूर्व प्रधानमन्त्री प्रचण्डले ३१ मे देखि ३ जून, २०२३ मा भ्रमणका क्रममा बंगलादेशमा बिजुली निर्यातसम्बन्धी भारत सरकार र बंगलादेशबीच त्रिपक्षीय निर्णय गरेको भारतले स्मरण गराएको छ । ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफ्नो भारत यात्राका क्रमम नेपालबाट बंंगलादेशसम्मको पहिलो त्रिपषीय विद्युत् कारोबारलाई भारतीय ग्रीडमार्फत ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न सहज बनाउने निर्णय गरेको थियो,’ विज्ञप्तिमा छ । विज्ञप्तिअनुसार भ्रमणका क्रममा दुबै पक्षले सबै सरोकारवालाको पारस्परिक हितका लागि अर्थतन्त्रबीचको अन्तर्सम्बन्धलाई अभिवृद्धि गर्ने ऊर्जा क्षेत्र लगायत थप उपक्षेत्रीय सहयोगप्रति प्रतिबद्धता व्यक्त गरेका थिए । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ त्यसपछि, एनटीपीसी विद्युत व्यापार निगम, नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर विकास बोर्ड बीच त्रिपक्षीय विद्युत बिक्री सम्झौता ३ अक्टोबर २०२४ मा काठमाडौंमा हस्ताक्षर गरियो ।’ भारत सरकारले नेपालबाट भारत हुँदै बंगलादेशसम्मको यो विद्युत् प्रवाह सुरु भएसँगै विद्युत् क्षेत्रमा उपक्षेत्रीय कनेक्टिभिटी बढाउने अपेक्षा गरिएको जनाएको छ ।
समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब पढेर पनि आउँदैन । समाजवाद अरु कुनै देशको नक्कल गरेर बन्ने कुरा पनि होइन र समाजवाद कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर जनतालाई अर्ती उपदेश दिएर आउने पनि होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘समाजवाद थोपर्ने होइन, यो त जगैबाट उमार्ने कुरा हो । समाजवाद निर्माण गर्ने कुरा हो ।’ हाम्रो उत्पादन प्रणाली, इतिहास, संस्कृति र अर्थतन्त्रका ऐतिहासिक विरासतका आधारमा समाजवाद निर्माणको आधार खोज्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘कुनै बेलामा हामी विदेशमा खाद्यान्न र प्रविधि निर्यात गर्ने अवस्थामा थियौं, हामीले पचास साठी वर्षमा यति राजनीतिक गतिबिधि गर्यौं, कहाँ आइपुग्यौं भन्दा हामी हर क्षेत्रमा परनिर्भर बन्दै गएका छौं । हामीलाई हाम्र्रै जगमा, इतिहास र विशेषतामा, पूर्खाले विकास गरेको प्रविधिमा टेकेर आधुनिक समाजवाद निर्माण गर्नुछ ।’ नेपालमा समाजवादको बारेमा सार्थक बहस नभएको औल्याउँदै उहाँले बदलिंदो समाज र सूचना प्रविधिसमेतको प्रयोगलाई ध्यान दिएर समाज कसरी रुपान्तरण गर्न सकिन्छ र यसको नेतृत्व कसरी संभव भन्नेबारेमा धेरै अन्योल रहेको उल्लेख गर्दै उहाँले नेपाली विशेषताको समाजवाद कसरी निर्माण गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने बताउनुभयो । अहिले नेपालमा समाजवादको बहसबारे तीनवटा धारणा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘एउटा विशुद्ध सिद्धान्तवादी वा जडसूत्रवादी धारणा रहेको छ । अर्को असाध्य धेरै अनुभववादी र समन्वयवादी धारणा रहेको छ’– उहाँले भन्नुभयो– ‘अर्को प्रयोग र व्यवहारवादी धारणा रहेको छ, यसले सिद्धान्तलाई व्यहारमा उतार्नेतिर जोड दिन्छ । सोमत घिमिरेजीको पुस्तकले तेस्रो धारणालाई जोड दिएकाले यो वैज्ञानिक र वस्तुवादी रहेको छ ।’ संविधानले नेपाल अब समाजवादउन्मुख हुने भनिए पनि समाजवाद कस्तो हुनेछ भन्ने विषयमा विमर्श नभइरहेको बेलामा ‘सामुदायिक समाजवाद’ पुस्तक लेखेर घिमिरेले यो बहसलाई नयाँ उचाई दिएको टिप्पणी गर्नुभयो । यो पुस्तक पुस्तक अध्ययन गर्न लायक रहेको र सुरुदेखि अन्तिमसम्म यसले नयाँ प्राप्त गर्ने उत्सुकता पैदा गर्ने बताउनुभयो । आफूहरुले जनयुद्धको बेलामा समाजवादबारे अध्ययन र बहस थालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जतिबेला हामी जनयुद्धमा थियौं, त्यतिबेला आफ्नै संस्कृति, आफ्नै अर्थतन्त्र र आफ्नै न्यायालय निर्माण गर्ने प्रक्रियामा थियौं । त्यतिबेला विश्वमा कयौं समाजवादी सत्ताहरु ढलेका थिए भने कयौं नयाँ तरिकाले अघि बढ्दै थिए । ती सबै सत्ताहरुको अध्ययन गरेर, मैले अलि बढी मेहनत गरेर मैले एक्काइसौं शताब्दीको जनवाद भन्ने दस्तावेज तयार पारेको थिएँ ।’ अहिले आफूले त्यसको ब्याख्या गर्न नचाहे पनि त्यसमा राखिएको एउटा विषय जनता र सत्ताबीचको सम्बन्धमा स्पष्ट हुनैपर्ने उल्लेख गर्दै भन्नुभयो– ‘एक्काइसौं शताब्दीको जनवादमा एउटा कुरा स्पष्टका साथ राखेको थिएँ– जनताको निगरानी, नियन्त्रण र सक्रिय हस्तक्षेपसहितको सत्ता मात्रै वास्तविक समाजवादी सत्ता हुनेछ । अब पनि हामीले समाजवादको बहस गर्दा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित सरकार र जनताबीचको सम्बन्ध के हुन्छ भनेर स्पष्ट गर्नैपर्छ । जनताको निगरानी, नियन्त्रण र सक्रिय हस्तक्षेपविनाको सरकार जनताको सरकार हुन सक्दैन, त्यो अन्ततः जनविरोधी नै हुन्छ ।’ जनता दल वा सरकारका अनुयायी र बिरोधी मात्र होइन, सरकार कस्तो बताउने भन्ने विषयमा स्वयं जनताले सक्रिय हस्तक्षेप र नेतृत्व गर्नसक्ने संरचनाको विकासविना समाजवादी व्यवस्था दिगो नहुने पनि उहाँले स्पष्ट गर्नुभयो ।
निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’– उहाँले भन्नुभयो– ‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर प्रतिक्रान्ति गर्ने सपना पनि देखिरहेका छन् । त्यसैले दुबैतर्फ सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ साँचो अर्थमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरु सजग रहनुपर्नेमा जोड दिंदै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हिजो पनि संविधानमाथि बलात् आक्रमण गरेर दुईदुईपटक संसद बिघटन गर्ने प्रवृत्तिलाई हामी बामपंथी लोकतान्त्रिक शक्तिहरु मिलेर परास्त गरेका थियौं, फेरि पनि संविधान मिच्ने, संसद विघटन गर्ने हर्कत हुनसक्छन्, यस्ता हर्कतका विरुद्ध अझै पनि सतर्क रहनुपर्छ ।’ अर्को एक प्रसंगमा उहाँले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउने मुख्य दायित्व पनि यिनै शक्तिसँग भएको बताउनुभयो । गिरिजाले मृत्यु शैयामा पुगेको बेला आफूलाई ‘अब भरोसा तपाइँको छ, बाँकी राजनीतिक अवस्थालाई सम्हालेर लैजानुहोला’ भन्ने बाक्यांश नभुलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कहिलेकाही नेपाली उखानमा भएजस्तो बाघको छालामा स्यालको रजाइँ हुने हो कि भन्ने चिन्ता पनि छ तर मलाई लाग्छ अन्ततः त्यस्तो हुँदैन ।’ जसले परिवर्तनका लागि युगान्तकारी भूमिका निर्वाह गरे, यो परिवर्तन जोगाउन पनि उनीहरुले नै नेतृत्वदायी भूमिका निर्वाह निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । ‘यतिबेला लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशिताको रक्षा गर्नु र यसमा रहेका कतिपय सीमालाई परिवर्तन गर्दै अझै विकसित गर्नु मुख्य दायित्व हो’– उहाँले भन्नुभयो– ‘त्यसका लागि परिवर्तन पक्षधर शक्तिहरु गम्भीर हुन आवश्यक छ ।’ अहिले अध्ययन र वैचारिक बहसको संस्कृति हराउँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तीस र चालिसको दशकमा हुने शैक्षिक क्षेत्रमा हुने वैचारिक बहस निकै जीवन्त र उच्चस्तरका भएका स्मरण गर्नुभयो । अहिले नेपाली समाजमा वैचारिक बहस र सामूहिक चिन्तनभन्दा पनि व्यक्तिगत स्वार्थप्रेरित हुँदै गएकोप्रति प्राज्ञिक क्षेत्र गम्भीर बन्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । अध्यक्ष प्रचण्डले पञ्चायविरोधी आन्दोलनका बेलामा अखिल वा नेविसंघ जुन आस्थामा निकट भए पनि सामूहि चिन्तन र वैचारिक बहसमा केन्द्रित हुने गरेको उल्लेख गर्दै चिन्तन संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो । उहाँले आस्था, निष्ठा र आदर्शका धरोहर अखिलेश्वरलाल दास भिन्न प्रकृतिको र समाजवादी क्रान्तिका लागि प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । उहाँले दास औसतभन्दा माथिको व्यक्ति भएको बताउनुभयो ।