महिला साफ फुटबलमा नेपालद्वारा भुटान ८–० ले पराजित
![महिला साफ फुटबलमा नेपालद्वारा भुटान ८–० ले पराजित](https://everestdainik.prixacdn.net/media/albums/football_nchE38fruU.jpg)
पुस ११ । नेपालका लागि सावित्रा भण्डारीले ५ गोल मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ८–० ले पराजित गरेको छ । भारतको सिलगुढी कञ्चनजंघामा आयोजित खेलमा पहिलो हाफसम्ममा नेपालले ४ गोल हानेको थियो । दोस्रो हाफमा पनि ४ गोल गरेर नेपाल फराकिलो अन्तरले विजयी भयो । , शर्मिला थापाले २ र कृष्णा खत्रीले एक गोल गरिन् ।
भण्डारी एकै खेलमा पाँच गोल गर्ने नेपालकी पहिलो खेलाडी हुन् ।
यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको हो । नेपालले समूह चरणमा मालद्विप्स र श्रीलंकासँग पनि खेल्नेछ ।
प्रतियोतिगामा सहभागी ७ देशलाई दुई समूहमा बाँडिएको छ । अर्को समूहमा भारत, अफगानिस्तान र बंगलादेश छन् । समूह चरणको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।
जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने बताउनुभएको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’– उहाँले भन्नुभयो– ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन संभव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’ जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो’– उहाँले भन्नुभयो– ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं ।’ जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताउनुभयो । ‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौं, आज त्यही स्थिति बनेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ ।’ विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिम लगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्दै उहाँले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको बताउनुभयो । आफ्नो वर्ग र समुदायतर्फ फर्कदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेका उल्लेख गर्दै उहाँले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गर्नुभयो । क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र बिफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उहाँले क्रान्तिकारी शक्तिहरुलाई एकता र ध्रुवीकरणका लागि आह्वान गर्नुभयो । राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको उल्लेख गर्दै उहाँले तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ सङ्कल्प गर्ने बेला आएको बताउनुभयो । ‘जनताको घर आँगनमा उज्यालो ल्याउने सङ्कल्प आजको मुख्य कार्यभार बनेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘भर्खरै सम्पन्न केन्द्रीय सम्पन्न बैठकले त्यस दिशातिर पार्टीलाई अघि बढाएको छ । म सबैलाई यो अभियानमा लाग्न अपिल पनि गर्दछु ।’
समाजवादी क्रान्तिको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको तयारीमा जुट्ने पार्टी नीतिभित्र गोलबन्द हुन जनसमुदायलाई आह्वान गर्नुभएको छ । ३० जौं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । शुभकामना सन्देशको पूर्ण पाठ २०५२ फागुन १ गते, नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणका विरुद्ध विद्रोह सुरु गरेको दिन । हाम्रा लागि यो दिन नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन हो । महान जनयुद्धको यस ऐतिहासिक दिनमा म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । जनयुद्धका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै, घाइते योद्धाहरूप्रति सम्मानसहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल ग¥यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरूले जनताको भाग्यको फैसला गर्ने गर्दथे । दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायतका वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन थियो । त्यो स्थितिमा टालटुल र सुधार गरेर समाजको आमूल रूपान्तरण सम्भव थिएन । यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको हो। इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीबासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि संघर्षमा होमिए । जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं । राजनीतिक अधिकारदेखि समाजमा यो स्तरको चेतनाको विकास हुने थिएन । त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना थियो, हामी यसमा गर्व गर्छौं । आदरणीय जनसमुदाय, जनताको यही प्रतिरोधका कारण आज राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । जनताले चुनेका प्रतिनिधिहरूबाट संविधान बनेको छ र शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको छ । सिंहदरबारमा मुट्ठीभर उच्च सम्भ्रान्त वर्गका हातमा रहेको शक्ति गाउँघरमा पुगेको छ । देशमा तीन तहको सरकारको स्थापना भएको छ । राज्यसत्तामा समानुपातिक समावेशिता सुनिश्चित भएको छ । धर्मनिरपेक्षता कायम भएको छ । आज शासनका हरेक तहमा महिलाहरूको प्रतिनिधित्व अनिवार्य भएको छ । दलितहरूको उपस्थिति सम्भव भएको छ। जनयुद्ध नभएको भए यसखालको अधिकारप्रतिको जागरण, प्राप्ति र यसको अभ्यास संभव थिएन । हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौं । यो हामीले गरेको नयाँ प्रयोग हो । इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भयौं । राज्यको पुनःसंरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो। यो जनयुद्धकै कारण सम्भव भएको हो । यो प्रक्रियामा हामीबाट कतिपय कमीहरू पनि भए तर हाम्रो नियतमा कहिल्यै खोट थिएन । हामी यथास्थितिमा बस्न चाहेनौं । हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौं । त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौं । आदरणीय जनसमुदाय, आजको दिन हामीले के हासिल ग¥यौं र के गर्न बाँकी छ भन्ने समीक्षाको दिन पनि हो । हाम्रो संघर्षले व्यवस्था बदलियो तर जनताको अवस्था बदल्ने हाम्रो कार्यभार भने अझै पूरा भइसकेको छैन । दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै छ । महिलाहरू अझै पनि पूर्ण रूपमा सुरक्षित र स्वतन्त्र हुन सकेका छैनन् । संघीयता अझै संस्थागत भइसकेको छैन। समावेशिता साँचो अर्थमा उपेक्षित र उत्पीडित वर्गलाई राज्यको मूलधारमा ल्याउने गरी पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । आज हामी क्रान्तिको शान्तिपूर्ण मोर्चामा छौं । हाम्रा सामु जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी छ । जनताप्रति इमानदार हुँदै, संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा हाम्रो अगाडि छ । इतिहासले सुम्पेको यो कार्यभार पूरा गर्न सुशासन र सामाजिक न्यायसहितको समृद्धिका लागि एकजुट हुन म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु ।
माओवादीले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्ने
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षित गर्ने भएको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको माओवादीले जनाएको छ। फागुन १० गते काठमाडौँमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले जानकारी दिनुभयो । भेलामा पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने उहाँको भनाइ छ । देशमा उत्कृष्ट काम गर्ने पालिकाहरुमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि नै अगाडि रहेको उल्लेख गर्दै पार्टीको नीतिअनुसार जनप्रतिनिधिलाई प्रशिक्षित गर्न र सम्पूर्ण स्थानीय सरकारलाई ग्रामिण समाजवाद तर्फ अगाडि बढाउन उक्त कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।
तराई मधेश जागरण अभियानको तयारीमा जुट्न अध्यक्ष प्रचण्डको निर्देशन
महोत्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले सुरु गर्न थालेको तराई मधेश जागरण अभियानको तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिनुभएको छ।साथै, उहाँले मधेशमा माओवादी पार्टी बलियो रहेको पनि बताउनुभएको छ। माओवादी केन्द्र मधेश प्रदेशमा कार्यरत केन्द्रीय तहका सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। पार्टीले जनतासँग माओवादी तराई मधेश जागरण अभियान सुरु गर्न थालेको जानकारी दिँदै उहाँले फागुन १२ गतेदेखि सुरु हुने यो अभियान सफल हुँदा मधेशमा राम्रो आधार हुने बताउनुभयो । झापाबाट सुरु गरेर कन्चनपुरमा हुलाकी मार्ग केन्द्रित अभियान सकेपछि पहाड र हिमाली क्षेत्रलाई केन्द्रित गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम् जागरण अभियान सञ्चालन गरिने जानकारी दिदै अध्यक्ष प्रचण्डले दुबै अभियान सकिएपछि काठमाडौमा देशभरिको पहिचान झल्कने गरी भव्य प्रदर्शन र सभा गर्ने बताउनुभयो । अहिले विभिन्न जाति समुदायको अधिकार खोज्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यी तीन वटै अभियान पूरा हुँदा नयाँ राष्ट्रिय एकता पैदा हुने र जनताको अधिकार खोस्न चाहने तत्वहरु पराजित हुने विश्लेषण सुनाउनुभयो। अभियानपछि केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने पछिल्लो केन्द्रीय समितिको बैठकको निर्णय स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अब नेतृत्व चुनावबाटै निर्वाचित हुने भएकाले सबैलाई कार्यकर्ता र जनतासँग जोडिएर काम गर्न पनि निर्देशन दिनुभयो। पहिले मधेशमा माओवादी पहिलो पार्टीको रुपमा रहेको र अहिले पनि नेता कार्यकर्ताको संख्या तथा जनमतका हिसाबले बलियो रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्ताबीच बलियो एकता कायम गर्न सके फेरि पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो।