माओवादीले जितेको देशकै उत्कृष्ट सर्लाहीको बागमती नगरपालिकाबारे टिप्पणी

माओवादीले जितेको देशकै उत्कृष्ट सर्लाहीको बागमती नगरपालिकाबारे टिप्पणी
  • दीपक शर्मा

सर्लाही ।सर्लाहीको बागमती नगरपालिकाको केही बर्ष अघिसम्म मध्यपूर्वी तराईका अन्य आम पालिकाजस्तै सरदर परिचय थियो। तर, गत वर्षदेखि यसको परिचयमा विशेषता थपिएको मात्र छैन, यसले अन्य पालिकाहरुलाई उदाहरण नै प्रस्तुत गरेको छ।
यस नगरपालिकाका मेयर भरत थापाले १२ नम्बर वडामा रहेको सुख्खा बगरमा ठूलो ताल निर्माणको सोच बनाएनन् मात्र त्यसलाई साकार नै बनाए। झण्डै १४ वटा फुटबल मैदान बराबरको आकारको विशाल तालमा हाल स्टिमर र ढुंगा चल्छन्। अहिलेसम्म उक्त तालमा पाँच लाखभन्दा धेरै स्वदेशी र विदेशी पर्यटक पुगिसकेका छन्। यो ताल नगरपालिकाको स्थायी आम्दानीको स्रोत बन्ने लक्षण देखिइसकेको छ।
स्थानीयवासीले ताल निर्माणको बहुआयामिक फाइदा पाउन थालिसकेका छन्। वरपरका बस्तीका इनार र चापा कलहरुमा सुकेका मूलहरु फुट्न थालेका छन् भने छेउछाउका जमिनको उर्बरा शक्ति बढ्न थालेको छ । चराचुरुङ्गी, वन्यजस्तुदेखि लिएर वातावरणमा पनि सकारात्मक प्रभाव पर्दै गएको छ।
सामाजिक, आर्थिक र पर्यावरणीय महत्वको यस्तो कामको अगुवाई गर्ने मेयर भरत थापा २०७४ को स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन्। मधेश प्रदेशमै नमूना र सिर्जनशील कामको सुरुवात गरेर मेयर थापाले स्थानीय तहमार्फत् मानिसको जीवन र प्रकृतिमा परिवर्तन ल्याउन सक्ने देखाएका छन्।
सीमान्तकृत र पछि पारिएको थारु जातिको बाहुल्य रहेको बर्दियाको बारबर्दिया नगरपालिकाको नेतृत्व गरिरहेका दुर्गाबहादुर थारू ‘कबिर’ले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको शान्तिपूर्ण क्रान्तिको हाल उल्लेख्य चर्चा भइरहेको छ। पूर्वजनमुक्ति सेनाका कमाण्डर ‘कबिर’ले मानिसको जीवनलाई परिवर्तन गर्ने आधारभूत तत्व नै शिक्षा भएको महशुस गर्दै आफ्नो कार्यकालको ४ वर्ष ९ महिनामा उदाहरण स्थापित गरेका छन्।
मेयर थारुले नगरपालिकाकै अनुदानमा ११५ जना शिक्षक राखेर, पुराना भवन मर्मत गरेर, भवन नभएका ठाउँमा नयाँ बनाएर, विद्यालयमा घेराबारा गरेर, चरनस्थललाई खेलमैदानमा रूपान्तरण गरेर आफ्नो अभियान थालेका थिए। त्यस्तै, नगरपालिकाले छात्रवृत्तिअन्तर्गत एक–एक जनालाई एमबीबीएस, इञ्जिनियरिङ र सीए (चार्टर्ड अकाउन्टेन्सी) पढाउने सम्पूर्ण खर्च व्यहोर्ने नीति पारित गरे। नगरपालिकाले हरेक वर्ष ५० जनालाई अन्य विभिन्न विषयमा उच्च शिक्षा हासिल गर्न पूर्ण छात्रवृत्ति दिएको छ।
शिक्षामा गरेको लगानीको प्रतिफल आउन केही समय लाग्छ। तर, अन्य पार्टीबाट नेतृत्व गरेका पालिका प्रमुखहरुले मानिसको जीवनमा खासै सकारात्मक प्रभाव नपर्ने संरचनामा खर्च गरिरहँदा वा भ्रष्टाचार गरिरहँदा माओवादी केन्द्रबाट निर्वाचित यी मेयरले शिक्षामा नमूना नै पेश गरेका छन्।
शिक्षामात्र होइन बारबर्दिया नगरपालिकामा स्वास्थ्य क्षेत्रमा पनि लोभलाग्दो काम भएको छ। यस नगरपालिकाले आफ्नै अस्पताल सञ्चालन गरेको छ, जुन बर्दियाका अन्य कुनै पालिकाले हालसम्म गर्न सकेका छैनन्। नगरपालिकाले सञ्चालन गरिरहेको १५ शैयाको आरसी चौधरी मेमोरियल अस्पतालले २५ शैयाको अस्पतालसरह सेवा दिइरहेको छ। यसलाई निकट भविष्यमै ५० शैयामा स्तरोन्नति गर्ने मेयर थारुको योजना छ।
चितवनको भरतपुर महानगरपालिका राजनीतिक कारणले मात्र होइन, ठूला विकास निर्माणका कारणले पनि चर्चामा आएको छ। माओवादी केन्द्रकी युवा नेता रेणु दाहालले जनताप्रति समर्पित भएर काम गर्दा परिणाम निकाल्न सकिंदो रहेछ भन्ने प्रमाणित गरेकी छन्। मेयर दाहालको कार्यकालमा महानगरपालिकाभित्र ६५० किलोमिटर नयाँ सडक बनेको छ। यही अवधिमा ६१० किलोमिटर सडक कालोपत्रै भइसकेको छ र ४० वटा स्वास्थ्य संस्था स्थापना भएका छन् । सिटी हल निर्माण भइरहेको छ, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणमा महानगरले भरपुर सहयोग गरिरहेको छ।
यी त केही उदाहरणमात्र हुन्। माओवादी नेतृत्वले जितेका अधिकांश पालिकाहरुले उदाहरणीय काम गरेका छन्।
गत महिना राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएका पालिकाहरुको सूची सार्वजनिक गरेको थियो। ती उत्कृष्ट पाँच पालिकामध्ये तीनवटा पालिकाहरुमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित प्रमुख छन्। पहिलो नम्बरमा आएको डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट छन् भने तेस्रो नम्बरमा आएको कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी छन्। त्यस्तै, पाँचौ नम्बरमा रहेको गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल छन्।
नेपालको संवैधानिक आयोगले गरेको मूल्यांकनले नै माओवादीबाट निर्वाचित मेयर÷अध्यक्षले नेतृत्व गरेका पालिकाहरुमा कार्यसम्पादन उत्कृष्ट भएको देखाएको छ। तथ्यांक आफै बोलिरहेको छ।
गोरखाको सहिद लखन गाउँपालिका कार्य सम्पादन मुल्याङ्कनको आधारमा जिल्लाको दोस्रो गाउँपालिका बन्न सफल भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा सहिद लखन जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो।
मुल्याङ्कनमा गोरखा जिल्लाका ९ गाउँपालिका र २ नगरपालिका गरी ११ वटा स्थानीय तहमा सहिद लखन गाउँपालिका दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको हो। माओवादी केन्द्रले जितेको उक्त गाउँपालिकाले ६३.४६ अंक प्राप्त गरेर जिल्लाको दोस्रो उत्कृष्ट गाउँपालिका बन्न सफल भएको आयोगले जनाएको छ। संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो।
कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक रहेका थिए। समयमै बजेट पेश गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरे÷नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थ मन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको विषयमा मूल्यांकनका आधारमा नम्बर दिइने गरेको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए।
आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो । आब ०७६÷७७ मा सहिद लखन गाउँपालिका सबैभन्दा कम बेरुजु देखिएर जिल्लाको ‘सर्वोत्कृष्ट’, नेपालभरीकै चौथो ‘उत्कृष्ट’ बन्न सफल भएको थियो। सहिद लखन गाउँपालिकामा ८७ करोड २१ लाख ६ हजारको लेखापरीक्षण हुदाँ ८ लाख ६८ हजार रुपैयाँ बेरुजु देखिएको छ। प्रतिशतका आधारमा यो ०.१० प्रतिशत हुन प्रतिशत हुन आउँछ।
यहाँ स्मरणीय छ, गत स्थानीय तहमा माओवादीले अन्य दुई ठूला दलभन्दा कम पालिका प्रमुखमा जित हासिल गरेको थियो। तर, जतिमा जीत हासिल गरेको छ, अधिकांशमा अन्य पार्टीले नेतृत्व गरेका पालिकाभन्दा राम्रो काम भएको छ।
माओवादी केन्द्रबाट निर्वाचित पालिका प्रमुखहरुले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा जोड दिने, पर्यावरण जोगाउन ध्यान दिने, विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्ने काम गरिरहेका छन्। उनीहरु ज्यादा सिर्जनशील देखिएका छन् र जनताको पक्षमा काम गरौं भन्ने भावना उनीहरुमा बढी देखिएको छ।

गाउँपालिका अध्यक्षद्वारा सवारी साधन फिर्ता
दाङ, २८ चैत । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ। माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित वलीले निर्वाचन आचारसंहिता घोषणा भएसँगै सरकारी सुविधाको गाडी फिर्ता गर्नुभएको हो।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्वरको बलेरो जीप आइतबार कार्यालयमा बुझाउनु भयो।
आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्ष वलीले गाडी फिर्ता गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिनुभयो। दाङ २ उपमहानगर, १ नगर र ७ गाउँपालिका रहेका छन्। १० पालिकामध्ये माओवादी केन्द्रले जितेको बंगलाचुली गाउँपालिका मात्रै हो। news bank)

चीनमा पानीजहानको ठक्करबाट पुल भत्किदा कयौं सवारीसाधन नदीमा डुबे

एजेन्सी, १० फागुन ।  दक्षिणी चिनियाँ शहर ग्वान्जाओमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा कयौं सवारी साधन नदीमा खसेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारको प्रयास जारी रहेको छ भने अहिलेसम्म क्षतिको विवरण एकीन हुन सकेको छैन। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीमा सार्वजनिक भएको तस्बिरमा पुलको एक भाग नदीमा खसेको र त्यसभन्दा मुनि पानीजहाज फसेका देखिएको छ। यद्यपि जहाजले सामान बोकेको भने देखिएको छैन। घटना स्थानीय समयअनुसार विहान साढे पाँच बजे भएको हो। पुल स्तरोन्नत्तिको योजना बने पनि तीन पटक सम्म पोस्टपोन्ड भएको सीसीटिभीको समाचारमा उल्लेख छ। 

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्ने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गरेका थिए भने अन्यले सम्मान र प्रमाणपत्र पाएका थिए। वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा भिडिओमार्फत वृहत् वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । यसमा सहभागीले भिडिओमा आफ्नो कुरा बोलेर पठाउन भनिएको थियो । ४ मिनेटको भिडिओमा जनयुद्धका उपलब्धिबारे बोलेर केन्द्रीय कार्यालयको फेसबुक पेजमा पठाउन भनिएकोमा ५१ जना सहभागीको भिडिओ छनौट गरिएको थियो ।

क्यानडाविरुद्धकाे जीतमा नेपालका अनिल र भीमको कीर्तिमानी साझेदारी र दुबैको शतक

काठमाडौं, २९ माघ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अनिलकुमार साह र भीम सार्कीले कीर्तिमानी साझेदारीसँगै शतक बनाएका छन् ।नेपालका कुनै पनि दुई व्याट्सम्यानले एकदिवसीय क्रिकेटको एउटै खेलमा शतक बनाएको यो पहिलो पटक हो । त्रिवि क्रिकेट मैदानमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।तर तेस्रो नम्बरमा गएका भीमले अनिलसँग कीर्तिमानी १८९ रनको साझेदारी गर्दै नेपाललाई ९ विकेटको जित दिलाए ।एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए । त्यसलाई तोडेका अनिलकुमार र भीमले शतक पनि पुरा गरे । अनिलकुमारले ११६ बलमा ११ चौका र एक छक्काको मदतमा शतक पूरा गरे ।भीमले १२१ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाए । अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । यो जित सँगै नेपालले तीन वटै खेल जितेर प्रतियोगितामा क्यानडा विरुद्ध क्लिन स्विप गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोडेको थियो । क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे। ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए। त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए। निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे। दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए। विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए। ४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो। रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे। बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए। उनले ८ ओभरमा ४९ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १(१ विकेट लिए। फागुन पहिलो सातादेखि त्रिवि मैदानमै हुने आइसिसी विश्वकप लिग–२ को सिरिजको तयारीका लागि नेपालले क्याडनासँग खेलेको हो। लिग–२ को यो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब भएको बताएका छन् । सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताएका हुन् । “म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।” आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।” पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।” उनले राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सोनाम ल्होछार–२८६० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु । तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो । नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् । सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो । हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ । संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ । नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ । राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन । त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ । पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ । मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् । अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

लोकप्रिय