यस्ताे छ सिलबन्दीको विषयमा अर्थमन्त्री र आपूर्तिमन्त्रीकाे चर्काचर्की

यस्ताे छ सिलबन्दीको विषयमा अर्थमन्त्री र आपूर्तिमन्त्रीकाे चर्काचर्की

काठमाडौं, भदौ २४ । बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ ।

कारबाही सुरु गर्ने क्रममा अर्थका प्रतिनिधि नभएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने अडान अर्थका अधिकारीले राखेपछि चर्काचर्की भएको थियो । पसलको सिल खोलेर अनुसन्धान अघि बढाउन व्यवसायीले माग गरेपछि चाँडै सिल खोल्ने दबाब आपूर्तिमाथि परेको छ ।

अर्थका अधिकारीका अनुसार साढे १ बजे अर्थमन्त्रीको कार्यकक्ष पुगेका आपूर्तिमन्त्री शिवकुमार मण्डलले पसलको सिलखोल्न र प्रारम्भिक अनुसन्धानमा सघाउन अर्थमन्त्रीलाई प्रतिनिधि पठाइदिन भनेका थिए । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोधेपछि राजस्वसचिव शिशिरकुमार ढुंगानाले सिल लगाउने बेलामा अर्थका प्रतिनिधिलाई नबोलाइएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने तर्क गरेका थिए ।

उनले न्यून बिजकीकरणको शंका लागेका कागजपत्र अर्थमा पठाइदिए राजस्व अनुसन्धान विभागले अनुसन्धान गरी कारबाही गर्ने बताएका थिए । सिल खोल्ने प्रयोजनका लागि अर्थका प्रतिनिधि पठाउन नमिल्ने बताएपछि माओवादी केन्द्रको कोटामा मन्त्री बनेका मण्डल च्याँठ्ठिन थालिहाले । ‘म बजार अनुगमनमा अर्थ मन्त्रालयले असहयोग गर्यो भनेर पत्रकार सम्मेलन गर्दिन्छु’, त्यही उपस्थित एक उपसचिवले मन्त्रीलाई उद्धृत गर्दै भने ।

मण्डल ‘च्याठ्ठिन’ थालेपछि भद्र स्वभावका कार्की पनि अलि झोक्किएका थिए । उनले पसलमा सिलबन्दी गर्दै हिँड्ने काम मन्त्रीको होइन, विभागलाई अह्राउन पर्नेमा मन्त्री गएर के स्टन्ट गर्न खोजेको भनेका थिए ।

ती उपसचिवका अनुसार कार्कीले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई सिलबन्दी गर्न मन्त्रीलाई किन लगेको भन्दै झपारे । ‘मन्त्रीलाई यस्ता कुरा थाहा नहुन सक्छ, जान्छु भने पनि जानुहुन्न भन्नुपर्नेमा तपाईंहरू मन्त्रीलाई अघि लाएर बजार अनुगमनमा जाने’, कार्कीलाई उद्धृत गर्दै ती उपसचिवले भने ।कार्कीले बोल्न थालेपछि मन्त्री मण्डल पनि शान्त भए । उनले फेरि पनि अर्थको प्रतिनिधि माग गरेका थिए, अर्थका अधिकारीले मिल्दैन भने ।

बजार अनुगमनका क्रममा आपूर्ति मन्त्रालय गम्भीरताभन्दा स्टन्ट गर्न खोजेको देखिएको आरोप अर्थका अधिकारीको छ । अनुगमनका क्रममा कैफियत देखिए बिलबिजक, खातापाता, नमुना आदि लिएर प्रारम्भिक अनुसन्धान गर्नुपथ्र्यो, व्यवसाय रोक्का गर्नै पर्ने अवस्था थिएन । प्रारम्भिक अनुसन्धान गर्दा न्यून बिजकीकरण गरेको देखिए राजस्वसम्बद्ध निकायलाई र कालोबजारी देखिए आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउनुपथ्र्यो भन्ने अर्थका अधिकारीको भनाइ छ ।

अनुगमनका क्रममा राजस्व विचलनको इस्यु देखिए पनि अनुसन्धान गर्न अर्थले असहयोग गरेको आरोप मन्त्री मण्डलले लगाए । ‘राजस्व छलीमा अर्थका कर्मचारीको मिलेमतो भएकाले तिनले सहयोग गर्न मानेका छैनन्’, मन्त्रीले टेलिफोनमा  भने ।

अनुगमन टोलीले खरिद बिल र बिक्री बिल भिडाई २० प्रतिशत बढी देखिए कालोबजारी भन्दै पसल सिलबन्दी गरेको छ । जबकि कानुनले खरिदको २० प्रतिशत नभई खरिदपछि व्यापारीको हुने सबै लागत (घरभाडा, ब्याज, ह्रासकट्टी आदि) कटाएपछि २० प्रतिशतभन्दा बढी मुनाफा लिन निषेध गरेको हो ।

बजार अनुगमनमा मन्त्री अघि लाएर पसलमा सिलबन्दी गर्दै हिँडेको आपूर्तिलाई सिल घाँडो भएको छ । अनुसन्धानका क्रममा व्यवसाय बन्द गर्न जरुरी नभएको भन्दै पसल खोलेर अनुसन्धान अघि बढाउन दबाब परेपछि सिल कसरी खोल्ने भन्नेमा मन्त्रालय छ । दरबारमार्ग विकास बोर्डले सिल खोल्दिए अनुसन्धानमा सघाउने र गल्ती गरेको भए कारबाही भोग्न तयार भएको बताएको छ । ‘प्रारम्भिक अनुसन्धानमै केही दिन लाग्ने अवस्था छ, यत्तिकै सिल खोल्दा घुस लिएको बात लाग्ने अवस्था छ’, आपूर्तिका एक अधिकारीले भने ।

मन्त्री मण्डलले प्रमाण नष्ट गर्न सक्ने भएकाले कानुनको अधिकार प्रयोग गरी सिलबन्दी गरिएको बताए । ‘सकेसम्म चाँडै सिल खोलेर अनुसन्धान अघि बढ्छ’, उनले भने । -अन्नपूर्ण पाेष्टबाट 

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´  उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।

बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

लोकप्रिय