यूएन क्षेत्रीय कार्यालय हट्ने

यूएन क्षेत्रीय कार्यालय हट्ने

काठमाडौ,माघ १८ । संयुक्त राष्ट्रसंघले मार्चदेखि काठमाडौं उपत्यकाबाहिरका तीन क्षेत्रीय कार्यालय (फिल्ड अफिस) हटाउने भएको छ । नेपालको निरन्तरको ताकेतापछि राष्ट्रसंघले विराटनगर, नेपालगन्ज र धनगढीस्थित फिल्ड अफिस हटाउने निर्णय लिएको कूटनीतिक स्रोतले बताएको छ । ती कार्यालयले स्थानीय तहमा राजनीतिक गतिविधि गरेको सरकारको निष्कर्ष छ ।

नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक भ्यालेरी जुलियान्डले परराष्ट्र मन्त्रालयलाई क्षेत्रीय कार्यालहरू बन्द गर्ने तयारी भइसकेको मौखिक जानकारी दिएकी छन् । ‘यस सम्बन्धमा लिखित जानकारी पनि राष्ट्रसंघले चाँडै गराउला’, जानकार स्रोतले भन्यो ।
परराष्ट्रका एक उच्च अधिकारीले राष्ट्रसंघका क्षेत्रीय कार्यालयहरू चाँडोभन्दा चाँडो हटाउन राष्ट्रसंघीय आवासीय संयोजकलाई आग्रह गरिएको जानकारी दिए ।
‘राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको बहिर्गमनपछि पनि लामो समय ती फिल्ड अफिसहरू जिल्लामा राख्नुको औचित्यबारे हामीले पटकपटक सोधेका थियौं’, उनले भने । ती फिल्ड अफिसहरू कायमै राख्न सत्तारूढ दलका मधेसी नेता निकै सक्रिय रहेको स्रोतले बतायो । ‘तर अब राष्ट्रसंघीय मुख्यालयले ती कार्यालय राख्नु उचित नहुने निष्कर्ष निकालेर बन्द गर्ने निर्णय लिएको बुझ्न सकिन्छ’, जानकार अर्का सरकारी अधिकारीले भने । नेपालको शान्तिप्रक्रियालाई सघाउन आएको राष्ट्रसंघीय राजनीतिक मिसन (अनमिन) को स्थापनालगत्तै नेपालमा राष्ट्रसंघको कामलाई सहयोग गर्ने भन्दै विराटनगर, नेपालगन्ज, धनगढी, डँडेल्धुरा र हेटौंडामा ती फिल्ड अफिस खोलिएका थिए ।
६ वर्षअघि नेपालबाट राष्ट्रसंघीय राजनीतिक मिसन बाहिरिएपछि राष्ट्रसंघले डँडेल्धुरा र हेटौंडास्थित फिल्ड अफिस बन्द गरेको थियो । तर बाँकी तीन स्थानमा भने फिल्ड अफिस कायमै थिए ।
पूर्वपरराष्ट्रसचिव एवं राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्यले बिनाकुनै म्यान्डेट राष्ट्रसंघले क्षेत्रीय कार्यालय नेपालभर राख्नु औचित्यपूर्ण नरहेको बताए । ‘राष्ट्रसंघले नेपालको विकास निर्माणसँग सम्बन्धित मुद्दामा सरकारलाई सघाउनेमात्र हो’, उनले भने ।
यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय