यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा सुधार – पत्रकार महासंघ
काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा सुधार भएको पाइएको छ ।
नेपाल पत्रकार महासंघले अंग्रेजी वर्ष २०१६ को समीक्षा गर्दै सार्वजनिक गरेको सूचना अनुसार वर्ष २०१५ को तुलनामा यस वर्ष निर्वाधरुपमा प्रेस तथा स्वतन्त्रताको अवस्था सुधार भएको पाइएको हो ।
महासंघले जारी गरेको प्रतिवेदनको सार संक्षेप यसप्रकार छ–
सन् २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न संघसंगठनको आन्दोलनका कारण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा कमि देखिएको छ । यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतका हनन्का ५६ वटा घटना महासंघको मडिया मोनिटरिङ्ग इकाईमा दर्ता भएका छन् । जसमध्ये १० जना पत्रकारहरू पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहँदा विभिन्न समयमा पक्राउ परेका छन् भने १० जना पत्रकार आफ्नो कार्यक्षेत्रमा क्रियाशील रहँदा विभिन्न व्यक्ति तथा समुदायबाट आक्रमणमा परेका छन् ।
त्यसैगरी सन् २०१६ मा १५ जना पत्रकारहरूलाई दुव्र्यवहार गरिएको र ४ सञ्चारसंस्थामा आक्रमण भएको महासंघ मिडिया मोनिटरिङ्ग एकाईमा दर्ता भएको छ । २ जना पत्रकारका सञ्चार सामग्री तोडफोड भएको छ भने २ वटा सञ्चारगृहलाई राजनीतिक दलले नियन्त्रणमा लिइ आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् ।
त्यस्तै ५ जना पत्रकारलाई धम्कीका आएको थियो भने पत्रकारिताको विषयलाई लिएर प्रहरीले ५ जना पत्रकारलाई नियन्त्रणमा लिएको महासंघको अभिलेखमा देखिन्छ । एक सञ्चारमाध्यलाई धम्की, एक रेडियोको प्रसारणमा अवरोधको पु¥याइएको छ भने १ जना पत्रकारलाई जागिरबाट निष्काशन गरिएको छ ।
यसैगरी २०१६ को मध्यतिर चर्चित पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ ग¥यो भने गाँउले मासिकका प्रधानसम्पादक भद्रगोल किराती साइबर अपराधको मुद्दामा पक्राउ परे ।
त्यसैगरी समयवोध मासिकका पत्रकार शेषनारायण झालाई सिंहदरबारको फोटो खिँचेको निहुँमा र पत्रकार रमेश महतारा र जय दाहाललाई माओवादीको एक घण्टे चक्काजामको रिर्पोटिङको क्रममा प्रहरीले पक्राउ गरेका थिए । दाङको गणतन्त्र दैनिकका पत्रकार गणेश आर्चायलाई दाङबाट र युनिटी भ्वाइस मासिकका सम्पादक रामचन्द्र खड्का भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आगमनको रिर्पोटिङ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्रेका थिए । त्यस्तै साइवर अपराधको मुद्दामा सोलुखुम्बुका पत्रकार महेश रानामगरलाई चितवनबाट र अर्जुन थपलियालाई सिराहा जिल्लाबाट पक्राउ गरिएको थियो ।
पत्रकार तथा लेखक स्नेह सायमी र सुदिप बर्देवालाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएका थिए भने पत्रकार मोहन बास्तोला, लोकराज जैशी तथा पत्रकार दिनेश सिंह महरालाई पनि प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएर छोडेको थियो ।
यसैगरी २०१६ मै जनादेश साप्ताहिकको कार्यालयमा नयाँ शक्ति र महासंघ सप्तरी शाखा भवनमा सद्भावना पार्टीको कार्यालय राखिएको विषय विवादित रह्यो ।
यस्तै धादिङ्गको रेडियो धादिङ्ग १०६ मेगाहर्जमा स्थानीय प्रशासनले आक्रमण गरी केही समय प्रसारणसमेत अवरुद्ध पारेको थियो भने सर्लाहीको रेहियो मधेशमा अज्ञात समुहले कार्यालयको कम्प्यूटरलगायत फर्निचर तोडफोड गरेका थिए । जसका कारण केही समय रेडियोको प्रसारणसमेत अवरुद्ध भएको थियो । त्यस्तै नारायणी एफ एम पर्सामा पनि अज्ञात समुहले आक्रमण गरेका थिए भने नेकपा माओवादी सल्यानले प्रेस विज्ञप्तीमार्फत सल्यानबाट सञ्चालनमा रहेको सल्यान केवल टेलिभिजनलाई प्रसारण बन्द गर्न धम्की दिएको थियो ।
यी माथिका घटनाहरु २०१६ का केही मुख्य प्रेस स्वतन्त्रता हनन्का घट्नाहरू रहेका छन् । माथिका घट्ना श्रृंखलाले नेपाली प्रेस जगत धम्कीपूर्ण तथा असुरक्षित रहेको देखाउँदछ । विभिन्न राजनीतिक पार्टी तथा संघसस्थाले गरेको विरोधको समयमा प्रहरी प्रशासनबाट भएको आक्रमण तथा अन्य व्यक्तिबाट भएको आक्रमणले सरकाबाटै नेपाली प्रेस असुरक्षित र अपहेलित भएको देखाउँदछ ।
प्रेस स्वतन्त्रता हनन्का घट्नाभन्दाबाहेक नेपाली पत्रकारिताको जगतमा केही खुसीका काम समेत भएका छन् । नेपाल पत्रकार महासंघको लामो समयको दबाबपछि नेपाल सरकारसंगको सहकार्यामा पत्रकार दुर्घटना वीमा सुरु भएको छ । जसअन्र्तगत पहिलो तथा दोस्रो चरणमा १४७१ ज्ना पत्रकाहरूले सुविधा लिएका छन् भने तेस्रो चरणको पत्रकार दुर्घटना बीमाको नामावली सङ्कलन सुरु भैसकेको छ । साथै, पत्रकारहरुको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत सहुलियतको घोषणा भएको छ यद्यपि सोको कान्र्यावन हुन भने बाँकी रहेको अवस्था छ । यस्तै यही अवधिमा नयाँ आमसञ्चार नीति पनि जारी भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले यो वर्ष नेपाली प्रेस जगतमा केही नीतिगत सुधार र प्रेस स्वतन्त्रताका दृष्टिले केही नयाँ कामहरू हुनु सकारात्मक पक्ष रहेको बताउनु भएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षा, पत्रकारको पेशागत सुरक्षा, दण्डहीनताको अन्त्य र सेल्फसेन्सरसीपको अन्त्यका निम्ति सम्बन्धित निकायले गम्भीरतापूर्वक कार्य गर्न जरुरी रहेको औंल्याउनु भएको छ ।
नेपाल प्रवेश गरेको भारतीय जेविसी नियन्त्रणमा
दार्चुला । दार्चुलामा नेपाल–भारत सीमा छुट्याउने महाकाली नदी पार गरेर अनुमति बिना भारतीय जेसिबी नेपालतर्फ आएको छ । महाकाली नदी पार गरेर भारतीय जेसिबी नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएपछि जेसिबी मेसिन र चालकलाई स्थानीयले पक्राउ गरेका छन् । दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरी आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय जेसिबी नदी पार गरेर नेपालतर्फ आएको भन्दै स्थानीयले आइतबार स्काइभेटर मेसिन र चालक (अपरेटर) लाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ । भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत स्काइभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । अन्तर्राष्ट्रिय सन्धि–सम्झौता अनुसार सीमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबिना भौतिक संरचना निर्माण गर्न पाउँदैन । तर भारतले अन्तर्राष्ट्रिय कानुन र आपसी सहमतिबेगर महाकालीको बहाव नेपालतर्फ फर्कने गरी विगतदेखि नै तटबन्ध बनाइरहेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । भारतीय पक्षले नेपाली सीमामा दादागिरी गर्दै आएको स्थानीय महेश भट्टले बताउनुभयो । केही दिन पहिले पनि भारतीयले नेपालीहरुलाई ढुगां हानेको स्थानीयको आरोप छ । गत वर्षपनि भारतले नेपालतर्फ नदीको धार फर्किने गरी खलंगास्थित नदी किनारमा तटबन्ध निर्माणको काम गरेको थियो । नेपालतर्फबाट स्थानीयले पटकपटक भारतीय दादागिरीको विरोध गरेपनि सरकारी पक्षको उदासिनताका कारण भारतीय पक्षले धमाधम काम गर्दै आएको छ । हिउँदमा महाकाली नदीमा पानीको सहत घटेको मौका छोप्दै नेपालतर्फ पानीको धार फर्काएर भारतीय पक्षले पारिपट्टि नेपालको भन्दा ठूलो तटबन्ध बनाउने गरेको स्थानीय कृष्ण धामीले बताउनुभयो । नेपालले यसअघि महाकाली नदी किनारको धेरै भाग छोडेर संरचना निर्माण गरेको थियो । "हामीले महाकाली नदीको धेरै भाग छोडेर नेपालतर्फकै भूमिमा तटबन्ध गरेका थियौं", स्थानीय सुन्दर धामीले भन्नुभयो, "तर भारतले भने महाकाली नदीको सीमाना मिचेर तटबन्ध निर्माण गरिरहेको छ।" २०७० सालमा बाढी आउनुअघि नेपालकै भूमि रहेको क्षेत्रमा अहिले भारतले कब्जा जमाएको उहाँले बताउनुभयो । दार्चुलाबासीले महाकाली नदीको धारसमेत परिवर्तन गरी नेपालतर्फको खलंगा बजारलाई क्षति पुग्ने गरी भारतले तटबन्ध निर्माण गरिरहेको भन्दै सो कार्य बन्द गराउन विगतदेखि नै जिल्ला प्रशासनसँग माग गर्दै आएका छन् । आइतबार पक्राउ परेको जेसिबी चालकलाई समेत कार्वाहीको माग गरिएको छ । पक्राउ परेको जेसिबी मेसिन नेपालतर्फ नै रहेको र चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताउनुभयो । नेपाली सीमाबाट पक्राउ परेका भारतीय स्काइभेटर चालकले प्रारम्भिक सोधपुछका क्रममा भूलबस (गल्तीले) जेसिबी नेपालतर्फ पुगेको बयान दिएको प्रजिअ जोशीले बताउनुभयो । स्थानीयबासीले भने नेपाल सरकार र प्रशासनले भारतीय विस्तारवादी प्रवृत्तिका विरुद्ध कडा कदम चाल्नुपर्ने माग गरेका छन् । जेसिबी नेपालतर्फ आएर पक्राउ परेपछि घटनाबारे अनुसन्धान भइरहेको र सीमामा देखिएको समस्या समाधान गर्न छलफल भइरहेको प्रजिअ जोशीले बताउनुभयो ।
राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार
काठमाडौं । पहिचान पुरस्कार कोषले ०८०/८१ को पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गर्ने भएको छ। मंसिर २८ गते बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट ‘ओ पेङ्दोर्जे’लाई नगद चार लाख दुई हजार दुई रुपैयाँ र ताम्रपत्रसहित पुरस्कार दिने घोषणा गरेको हो। ओ पेङ्दोर्जे कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानका लागि रगत–पसिना साथै जीवन आहुति दिने तामाङ जाति र अन्य भुइँमान्छेहरूले खेपेको शोषणबारे बताएको छ। उनका कविताले आफ्नो पहिचान रक्षार्थ आन्दोलन, विद्रोह बोलेका छन्। विशेषतः तामाङ जातिको आदिवासी सौन्दर्य जगेर्ना गर्न सफल छ। सांस्कृतिक जागरणको आह्वान गर्दै आफ्नो पहिचान रक्षाका लागि आवाज बुलन्द गरिएका छन्। विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी गराए। संस्थाले जनाएअनुसार, ०८१ चैत २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका– ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिनेछ। तीन सालअघिदेखि चखियामा पुरस्कार प्रदान गरिँदै आएको छ। चैत २४ गते एकदिने ‘काव्य मुन्दुम पथ यात्रा’गर्ने तालिका पनि तय गरिएको छ।
सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
काठमाडौं । सामाजिक सञ्जालको व्यापकता र प्रविधिको तीव्र विकास र प्रयोगसँगै आमसञ्चार क्षेत्र देखिएका सम्भावना र चुनौतीबारे बौद्धिक विमर्श गर्ने उद्देश्यले आजदेखि काठमाडौंमा सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा आजदेखि सुरु दुई दिने उक्त सम्मेलनमा व्यापक हुँदै गएको गलत सूचना प्रवाह, सामाजिक सञ्जालको प्रयोग, सञ्चारमाध्यममा देखिने पक्षधरता र सञ्चार साक्षरतालगायत सञ्चारसम्बद्ध एक दर्जनभन्दा बढी विषयमा कार्यपत्र तथा अनुसन्धान पत्रहरुमाथि छलफल हुनेछन् । सम्मेलनको उद्घाटन सत्रमा प्रमुख विषयवस्तु प्रस्तुत गर्दै प्राध्यापक पी खरेलले प्रविधिले पत्रकार र सञ्चारमाध्यमलाई जतिसुकै सुविधासम्पन्न बनाए पनि घटना क्रमको स्वच्छ तथ्य सङ्कलनमा आधारित समाचार सम्प्रेषण अझै पनि चुनौतीपूर्ण रहेको बताए । 'प्राप्त सूचनाको सत्यता परीक्षण र पुनःपरीक्षण हुनुपर्ने विचार बुद्धकै पालमा आएको हो तर अहिले पनि पुनःपरीक्षण नगरिएका समाचार सञ्चारमाध्यममा उल्लेख्य मात्रामा भेटिन्छन्,' उनले भने । यसबाहेक प्राकृतिक प्रकोप वा दुर्घटनाको समाचार सम्प्रेषणमा अपनाउनुपर्ने सचेतताको अभाव टडकारो देखिएको उनको भनाइ थियो । डिजिटल प्रविधिका कारण परम्परागत आमसञ्चारमाध्यमले आफूलाई अद्यावधिक गर्नुपर्ने उनले उल्लेख गरे । त्रिवि केन्द्रीय पत्रकारिता विभाग प्रमुख कुन्दन अर्यालले पाठक दर्शक र स्रोताहरु विगतको तुलनामा अत्यन्त सक्रिय रहेको उल्लेख गर्दै जिम्मेवारीपूर्वक सम्पादन गरिएका सञ्चार सामग्रीको आवश्यकता अझै टडकारो ढङ्गले महसुस हुन थालेको धारणा राखे । सम्मेलनको उद्देश्य नियमित पठनपाठनलगायत सञ्चारसम्बन्धी प्राज्ञिक गतिविधि, पाठक, दर्शक र स्रोतालाई एक अर्कासँग नजिक ल्याउनु रहेको पनि उनले बताए । सम्मेलनमा नेपाल र दक्षिण एसियाली मुलुकहरु भारत बङ्गलादेश र श्रीलङ्काका सञ्चारविद् सहभागी छन् ।
त्रिविका उपकुलपतिलाई एमालेनिकट विद्यार्थीहरुको अवरोध
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् । ३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि बराल कार्यालय जान छाडेका हुन् । बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर काम गर्ने गरेका छन् भने कहिलेकाहीँ घरबाटै पनि काम गर्दै आइरहेका छन् । गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा पनि उपकुलपति बराल रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए । उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् । उनीसहित केही विद्यार्थीले उनीमाथि मात्रै दोष थुपार्दै अवरोध गरेपछि उपकुलपतिको काममा बाधा पुगेको छ । उनीहरूले उपकुलपति कार्यालयअगाडि मागसहित कालो ब्यानर टाँसेका छन् । उपकुलपति बरालले अवरोधका कारण आफू कार्यालय जान नसकेको बताए ।