राष्ट्रिय सभा: ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी

राष्ट्रिय सभा: ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी

काठमाडौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार सातै प्रदेशमा उम्मेदवारी दर्ता भएको छ । निर्वाचनबाट चयन हुने कुल ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनमा ९ राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।

विभिन्न प्रदेशका महिलालगायत क्लस्टरमा निर्धारित सिट संख्याजति नै उम्मेदवारी परेकाले १७ जना निर्विरोध निर्वाचित हुने देखिएको छ । उम्मेदवारमाथिको दाबीविरोध लगायतका प्रक्रिया बाँकी रहेकाले उनीहरुलाई निर्वाचित भएको घोषणा गरिएको छैन । उम्मेदवारको अन्तिम नामावली माघ १५ गते प्रकाशित गर्ने कार्यक्रम रहेकाले सोही दिन निर्विरोध निर्वाचितको औपचारिक घोषणा हुनेछ ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले सबै प्रदेशमा शान्तिपूर्ण ढंगले उम्मेदवारी मनोनयन भएको बताए । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना महिलासहित ३ जना मनोनीत हुने संवैधानिक व्यवस्था छ । त्यसवाहेक प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित, १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य ३ जना गरी ८ जना निर्वाचित हुने प्रावधान छ ।

आयोगका अनुसार प्रदेश १ मा महिला समूहको ३ सिटमा त्यति नै संख्यामा उम्मेदवारी परेकाले उम्मेदवारी दिएकाहरु निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश २, ५ र ७ मा पनि महिला समूहमा सिट संख्याअनुसार नै ३/३ जनाको मात्र उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध हुनेछन् । महिला समूहमा प्रदेश १ मा कांग्रेस, एमाले र माओवादी केन्द्रका १/१ जनाको उम्मेदवारी परेको हो । त्यस्तै, प्रदेश २ मा कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै उम्मेदवारी दिएकाले ती पार्टीबाट महिला समूहका उम्मेदवार निर्विरोध हुनेछन् ।

प्रदेश ५ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्र उम्मेदवारी परेकाले तीनै जना निर्विरोध हुनेछन् । प्रदेश ७ मा पनि महिला समूहमा कांग्रेसबाट १ र एमालेबाट २ जनाको मात्रै उम्मेदवारी परेको छ । उनीहरु पनि निर्विरोध निर्वाचित हुने देखिएको छ ।

अन्य समूहको ३ सिटका लागि प्रदेश ७ मा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको छ । कांग्रेस, एमाले र माओवादीबाट १/१ जनाको उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध हुनेछन् । बाँकी प्रदेशमा अन्य समूहमा ३ भन्दा बढी उम्मेदवारी परेकाले निर्वाचन हुनेछ ।

प्रदेश २ को दलित समूह तथा अपांगता वा अल्पसंख्यक समूहको १/१ सिट पनि निर्विरोध हुने देखिएको छ । ती सिटमा १/१ जनाको मात्रै उम्मेदवारी परेको छ । संघीय समाजवादी फोरमले दलित र राजपाले अल्पसंख्यक सिटमा उम्मेदवारी दिएका छन् । त्यसबाहेक अन्य पार्टीबाट उम्मेदवारी नपरेकाले ती दुई पार्टीका उम्मेदवार नै निर्विरोध हुनेछन् ।

सबैभन्दा बढी उम्मेदवारी प्रदेश ३ मा परेको छ । ८ सिटका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । उक्त प्रदेशमा कुनै समूहमा कोही पनि निर्विरोध हुने सम्भावना छैन । प्रदेश १ मा १२, २ मा ९, ४ मा १२, ५ मा ११, ६ मा १२ र प्रदेश ७ मा १० जनाको उम्मेदवारी परेको छ ।

एमालेले ३०, नेपाली कांग्रेसले २६, माओवादीले १३, नेमकिपाले ४, राष्ट्रिय जनमोर्चाले ३, फोरमले २, राजपाले २, राप्रपाले २ र नेपाल संघीय समाजवादी पार्टीले १ सिटका लागि उम्मेदवारी दिएका छन् ।
Kantipur daily बाट

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

लोकप्रिय