विकट गाउँका आठ सय घरमा ‘एक घर एक धारा’
फलेवास (पर्वत), १७ पुस । व्यवस्थित सहरबजार जस्तै यहाँको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ ।
उत्तरी पर्वतको माझफाँट गाविसका ८०० घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो ।
गाविसमा सञ्ंचालित पुङ्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ३ देखि ७ नंसम्मका वडा गरी पाँच वटा वडाका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतले जनाएको छ ।
अहिलेसम्म कुवा वा धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट वञ्चित बनेका मल्लाजवासीहरु अब भने लाभान्वित हुने भएका छन् । जिल्लाकै दोस्रो ठूलो योजनाका रुपमा रहेको उक्त खानेपानी आयोजना विस्तार भएपछि प्रत्येक घरमा आवश्यकताका आधारमा धारा जडान हुनेछ र उपभोक्ताले युनिटको आधारमा पैसा तिर्नु पर्ने छ । उक्त पानी झन्डै १२ किलोमिटर टाढा रहेको पुङ्दीखोलाबाट ल्याउन लागिएको हो ।
अहिले आयोजनाको काम धमाधम भइरहेको छ । २०६७÷६८ बाट सुरु भएको योजना पाँच वर्षमा सम्पन्न हुनेगरी क्रमागत रुपमा सञ्चालन भएको थियो ।
रु चार करोड ९३ लाखको लागतमा निर्माण हुन लागेको उक्त योजनामा स्थानीयवासीले झन्डै रु ३९ लाख बराबरको श्रमदान गरेका छन् । पाइपलाई विस्तार र विभिन्न ट्याङ्की निर्माणमा स्थानीय श्रमदानसमेत गरिरहेका छन् भने ८० जनाभन्दा बढी मजदुर क्रियाशील रहेको निर्माण व्यवसायी गिरिजा तिवारीले जानकारी दिनुभयो । चालु आवभित्रमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको तिवारीले जानकारी दिनुभयो । योजनाको लागतअनुसार बजेट कम भएको र भिरालो जमिनमा काम गर्नुपर्दा असहजता पैदा भएको उहाँको भनाइ छ ।
एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरुप बृहत् खानेपानी योजनामा समेटिएको उक्त योजनाको काम द्रुत गतिमा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार योजनालाई चालु आवभित्रै सम्पन्न गर्नका लागि यस वर्ष रु ८० लाख विनियोजन भएको छ ।
योबाहेक पर्वतको फलेवासमा रु सात करोडको लागतमा बृहत् फलेवास खानेपानी योजना पनि विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ । उक्त योजना निर्माण सम्पन्न भएपछि माझफाँट गाविसका सबैजसो घरधुरी लाभान्वित हुने अपेक्षा कार्यालयले लिएको छ । जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको उक्त गाविसमा यो खानेपानी योजना निर्माणपश्चात् नमुनाकै रुपमा लिन सकिने उहाँ बताउनुहुन्छ ।
घर घरमा धारा जडान गर्नका लागि आवश्यक खर्च पनि स्वयम् उपभोक्ताले तिर्नुपर्ने भएको छ । अहिले उक्त योजना व्यवस्थापन समितिले एक धारा बराबर रु सात हजार तोकिसकेको छ ।
सदरमुकाम कुश्माबजारमा प्रतिधारा जडान शुल्क रु ३० हजारभन्दा बढी रहेका बेला ग्रामीण क्षेत्रमा विस्तार गर्न लागिएको योजनामा तत्कालका लागि रु सात हजार तोकिएको समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै उपभोक्ताको सहभागितामा धाराको मूल्य तोकिएको हो । रासस
तस्वीरः वल्र्ड नाइबर्स क्यानाडाको साइटबाट
नायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत
नारायणगढ। नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका अनोज अधिकारी, नवलपरासी विनयत्रिवेणीका सन्तोष भुषाल, सविना भुषाल र भारत घर भएर पोखरा बस्ने कुमार साह हुनुहुन्छ। भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
टेनिस खेलाडी सेलिशाको निधन
काठमाडौँ। नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो। ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा खेल्नुभएको थियो। उहाँले सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो। अखिल नेपाल टेबल टेनिस संघले सेलिशाको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता पनि आयोजना गरेको थियो। सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो।
सुर्खेतमा फोर्स गाडी दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, २५ घाइते
काठमाडौं । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । शुक्रबार अपराह्न सुर्खेतको वीरेन्द्र नगरपालिका–१४ स्थित रातानाङ्लामा भएको दुर्घटनामा घटनास्थलमै उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य २५ जना घाइते भएका छन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा आज बिहान भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएको थियो । माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको भरतपुर अस्पताल र तीनजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस