विदेशमा अपराध नेपालमा अनुसन्धान !

विदेशमा अपराध नेपालमा अनुसन्धान !
एक नेपाली युवालाई टर्कीमा अपहरण गरेर बंगलादेशमा फिरौती असुल गरिएको घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । नेपाल प्रहरीको पहलमा अपहरणकारीको बंगलादेशमा रहेको बैंक खाता रोक्का गरिएको छ । इन्टरपोलमार्फत प्रहरीले अपहरणकारी पक्राउ गर्न पहल गरेको छ ।

रुकुमका झलक नकाल ६ महिनाअघि टर्कीको इस्तानबुलमा अपहरणमा परेका थिए । नौ हजार अमेरिकी डलर दिएपछि उनलाई मुक्त गरिएको थियो । फिरौती भने बंगलादेशमा लिइएको थियो । नकालले नेपाल फर्किएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी गरेपछि घटनाको अनुसन्धान अघि बढाइएको हो । परराष्ट्र मन्त्रालयमार्फत फिरौती लिइएको रकम बैंकमा रोक्का राखिएको र अपहरणकारीलाई कारबाही गर्न टर्कीको प्रहरीसँग कुरा भइरहेको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए ।

कसरी भएको थियो अपहरण ?
रुकुम मुसिकोटकै प्रकाश वलीमार्फत झलक नकाल एक वर्षअघि भिजिट भिसामा टर्की गएका थिए । जसमा उनको १२ लाख रुपैया“ खर्च भएको थियो । वली टर्कीमा बस्दथे । उनले इस्तानबुलमा जागिर लगाइदिए । तर, सम्झौताअनुसार तलब नपाएपछि उनले छाडिदिए । अर्काे जागिरको खोजीमा रहेका वेला उनै वलीले अर्काे जागिर मिलाइदिने भन्दै उनलाई भेट्न डेरामा आए । उनीसहित तीनजना भारतीयलाई कम्पनी हेर्न लैजाने भन्दै एक घरमा पुर्‍याई बन्धक बनाएर पैसा माग्न थालियो । एक साता बन्धक बनाएपछि कोरियामा रहेका आफ्ना दाइमार्फत उनले नौ हजार अमेरिकी डलर पुबाली बैंकमा पठाएका थिए ।

पैसा पठाएर रिहा भएपछि उनले प्रहरीमा उजुरी गरे । तर, टर्कीको प्रहरीले चासो नदिएपछि उनी नेपाल फर्किए । सिआइबीले प्रकाश वलीसहित बंगलादेशी नागरिकहरू मोहम्मद अनवर मलिक र मोहम्मद मनन मलिकविरुद्ध मुद्दा दायर भएको छ । ‘उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएका छौँ,’ एसएसपी बस्नेत भन्छन्, ‘उनीहरूलाई नेपाल ल्याएर कारबाही गर्ने प्रयासमा छौँ ।’ टर्कीको प्रहरीसँग पनि कुरा भइरहेको सिआइबीले जनाएको छ । नेपाल प्रहरीकै पत्राचारका आधारमा फिरौती पठाइएको बंगलादेशको पुबाली बैंकमा रहेको मनन मालिकको खाता पनि रोक्का गरिएको छ । उनको खातामा सात लाख तीन हजार ८९ बंगलादेशी टा“का रोक्का छ । इन्टरपोलको सहयोगमा सो पैसा फिर्ता ल्याउने प्रक्रियासमेत परराष्ट्र मन्त्रालयमार्फत नेपाल प्रहरीले अघि बढाएको छ ।

यसअघि पनि भएको थियो अनुसन्धान
विदेशमा भएको अपराधको नेपालमा अनुसन्धान गरेर मुद्दा दायर गरिएको यो पहिलो घटना होइन । विगतमा पनि नेपाल प्रहरीले विदेशमा भएका अपराधको नेपालमा अनुसन्धान गरी मुद्दा दायर गरेको छ । तीन वर्षअघि नेपालका मेनपावर व्यवसायी रामप्रसाद नेपालको मलेसियामा अपहरण भएको थियो । व्यापारसम्बन्धी छलफल गर्न भन्दै मलेसिया बोलाएर अपहरण गरी फिरौती मागिएको थियो । जुन घटनाको पनि सिआइबीले अनुसन्धान गरेको थियो । जसमा संलग्न कमल गौलीलाई सिआइबीले नेपालबाटै पक्राउ गरी अपहरण मुद्दा दायर गरेको थियो । अपहरणकारीले उनलाई चढाएको गाडी दुर्घटनामा परेका वेला उनी भागेर नेपाल आएका थिए ।

त्यस्तै, ग्रिसमा अपहरणमा परेका संखुवाभासमा कृष्ण गुरुङलाई पनि नेपाल प्रहरीकै पहलमा अपहरणमुक्त गराएको थियो । अपहरितका आफन्तले नेपालमा उजुरी गरेपछि ग्रिसको प्रहरीलाई आग्रह गरी गुरुङलाई मुक्त गरी अपहरणकारीलाई पक्राउ गराउन सफल भएको थियो ।

तीन वर्षअघि थाइल्यान्डमा गएर नेपाल प्रहरीले अनुसन्धान गरेको थियो । तीन नेपाली विद्यार्थी अपहरणमा परेको सिआइबीका एक अधिकारी थाइल्यान्ड गएरै अनुसन्धान गरेका थिए । फिरौती बुझेर थाइल्यान्ड पठाउन खोज्ने सुजन यादवलाई नेपालमा पक्राउ गरी अपहरण मुद्दामा कारबाही गरेको थियो । उनले अपहरणमा परेका एक विद्यार्थीको परिवारबाट एक करोड रुपैयाँ लिएर हुन्डीमार्फत पठाउने प्रयास गरेका थिए । ‘जुनसुकै ठाउँमा बसेर अपराध गरे पनि अब जोगिन गाह्रो छ,’ सिआइबीका एसएसपी बस्नेत भन्छन्, ‘जुनसुकै देशमा बसेर अपराध गरे पनि नेपालमा अनुसन्धान र कारबाही गर्न सक्ने भएका छौँ ।’

प्रहरीमा हटेन घुमुवा विकृति
संघीय प्रहरी इकाइ जनकपुरमा कार्यरत असइ रामरेखा यादव र हवल्दार राजीव पटेल अकस्मात् मुख्यालय झिकाइएका छन् । त्यस्तै, जिल्ला प्रहरी कार्यालय महोत्तरीका हवल्दार बच्चा यादवलाई पनि मुख्यालय तानिएको छ ।

प्रहरी मुख्यालयमा आवश्यकता परेर नभई गम्भीर उजुरी परेपछि अनुसन्धानका लागि उनीहरूलाई झिकाइएको हो । अहिले १ नम्बर गणमा राखेर उनीहरूमाथि छानबिन भइरहेको छ । व्यापारीहरूलाई धम्क्याएर रकम असुलेको तथा आपराधिक समूहसँग मिलेको आरोप उनीहरूमाथि छ । स्थानीय व्यवसायीले नै उजुरी गरेपछि प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत रहेको उजुरी छानबिन इकाइले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ । उनीहरू हाकिमको विश्वासपात्र बनेर सादा पोसाकमा कार्यरत थिए ।

प्रहरीविरुद्ध महानिरीक्षकको सचिवालयमा दर्जनौँ उजुरी
देशभरिकै प्रहरीविरुद्ध महानिरीक्षकको सचिवालयमा दर्जनौँ उजुरी परेका छन्, जसमध्ये झन्डै आधाजसो सादा पोसाकमा काम गर्ने घुमुवा प्रहरीविरुद्ध छन् । त्यसमा पनि धेरै तराईका जिल्लामा कार्यरत घुमुवा प्रहरीविरुद्ध छ । पछिल्लो दुई महिनामा मुख्यालयले तराईका सातजना सादा पोसाकमा काम गर्ने प्रहरीलाई निलम्बन गरिसकेको छ । कतिपयलाई त्यहाँबाट हटाइएको छ । प्रहरीमा उजुरी र छानबिन सामान्य प्रक्रिया भएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाने बताउँछन् । सूचना संकलनका नाममा हाकिमहरूले गोप्य रूपमा परिचालन गर्ने घुमुवा प्रहरीहरू प्रहरीभित्रको भ्रष्टाचारको प्रमुख कारण बन्दै आएका छन् ।

लुटपाटदेखि अपहरणसम्म
घुमुवा प्रहरीका कारण प्रहरी संगठनकै छवि बिग्रँदै गएको छ । उनीहरू विभिन्न घटनामा मुछिँदै आएका छन् । गत माघमा अपराध महाशाखाका सइ सम्बत लामा र सूर्य लामाले मेनपावर व्यवसायी बद्री राईको अपहरण गरेका थिए । चैतमा घटना बाहिर आएपछि उनीहरू पक्राउ परेका थिए । दुवै सादा पोसाकमा कार्यरत थिए ।

दुई वर्षअघि जिल्ला प्रहरी कार्यालय बा“केका एसपी शेखर कोइराला घुमुवा प्रहरीकै कारण निलम्बनमा परेका थिए । घुमुवा प्रहरी सइ सुमन खरेल घुससहित पक्राउ परेपछि अख्तियारले उनलाई पनि निलम्बित गरेको थियो । चार वर्षअघि काठमाडौं परिसरमै कार्यरत घुुमुवाले सुन लुटेका थिए ।

मिलेमतोमा सुपारी तस्करी प्रकरणमा अञ्चल प्रहरी कार्यालय नारायणीका सइ राजेश यादवलाई गत वर्ष क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले निलम्बन गरेको थियो । त्यस्तै, पर्साकै मर्टिअवा चौकीका घुमुवा प्रहरी हवल्दार नागेन्द्र बैठा बर्खास्तमै परेका थिए । क्षेत्रीय प्रहरी प्रमुखका रूपमा आफूले हेटौँडामा काम गर्दा एक दर्जनभन्दा धेरै घुमुवा प्रहरीलाई कारबाही गरेको डिआइजी गणेश केसी बताउँछन् । तराईका सबै जिल्लाका प्रहरीविरुद्ध अहिले मुख्यालयमा उजुरी परेको छ । अन्य जिल्लामा पनि घुमुवा प्रहरीहरू पटकपटक विवादमा तानिने गरेका छन् ।

इन्टेलिजेन्स ब्युरो अन्योलमा
सूचना संकलनका नाममा हाकिमको निकट भएर सादा पोसाकमा काम गर्ने ‘घुमुवा प्रहरी’ हटाउन तीन वर्षअघि प्रहरी प्रधान कार्यालयले थालेको काम अलपत्र परेको छ । घुमुवा प्रहरीका कारण बदनाम भएको भन्दै सूचना संकलनका लागि इन्टेलिजेन्स ब्युरोअन्तर्गत परिचालन गर्ने योजना थियो । अहिले पनि देशभरिका प्रहरी कार्यालयमा सादा पोसाकमा घुमुवा प्रहरी कार्यरत छन् । जो सूचना संकलन र अपराध अनुसन्धानभन्दा बढी हाकिमलाई खुसी बनाउन केन्द्रित हुने गर्दछन् । बदनाम भएकै कारण उनीहरूलाई इन्टेलिजेन्स ब्युरोको कमान्डमा सञ्चालन गर्ने योजना बनेको थियो । अपराध अनुसन्धान विभागअन्तर्गत डिएसपीको कमान्डमा इन्टेलिजेन्स ब्युरो बनेको छ, तर उसको काम प्रभावकारी छैन ।

दुई वर्षभित्र कुल प्रहरी जनशक्तिको १० प्रतिशत अपराध–अनुसन्धानमा खटाउने योजना तीन वर्षअघि नै बनेको थियो । जुन अहिले ५.२५ प्रतिशतमै रोकिएको छ । अपराध अनुसन्धानको पुरातन शैलीलाई परिवर्तन गरी विशेषज्ञता दिन अपराध अनुसन्धान समूह गठनको प्रक्रिया अघि बढेको थियो । उनीहरूलाई प्रोत्साहन भत्ता दिनेसमेत प्रस्ताव गरिएको थियो । सुरुको कार्ययोजना पारित भए पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । सो कार्ययोजना बनाउने सुरेन्द्रबहादुर शाह हाल गृहमन्त्रीका सुरक्षा सल्लाहकार छन् ।

प्रहरीको अपराध अनुसन्धान विभागले बनाएको कार्ययोजनाअनुसार अहिलेसम्म देभभरिका घुमुवा हटिसक्नुपर्ने हो । विभागले तयार पारेको योजना सबैबाट स्वीकृत भई लागू गरेको थियो । सूचना संकलन र मुद्दा शाखाका प्रहरीलाई अपराध अनुसन्धान समूह गठन गर्ने प्रक्रिया अघि बढेको थियो । जुन यतिवेला अलपत्र परेको छ ।

देशभरिका सबैजसो प्रहरी कार्यालयमा सूचना संकलनका लागि भनेर सादा पोसाकमा प्रहरीहरू कार्यरत छन् । कतिपय स्थानमा उनीहरूले राम्रो काम गरे पनि केही स्थानमा सूचना संकलनभन्दा पैसा संकलनमा केन्द्रित हुने भएकाले प्रहरीमा बदनाम छन् । प्रायः एउटै कार्यालयमा काम गर्ने खराब व्यक्तिहरूसँग उनीहरूको सम्बन्ध हुने गर्दछ । उनीहरूमार्फत नै प्रहरीका हाकिमहरूले ‘सेटिङ’ मिलाएर पैसा असुल्ने गरेका छन् । आफैँ पैसा लिँदा जोखिम धेरै हुने भएकाले प्रहरीका हाकिमहरूले घुमुवामार्फत नै पैसा असुल्ने गरेका छन् । कारबाहीमा परे पनि घुमुवा मात्र पर्ने भएकाले प्रहरीमा यस्तो विकृति नरोकिएको हो ।

डिएसपीलाई स्पष्टीकरण
८८ किलो सुन बरामदको घटनामा शंकास्पद भूमिका खेलेको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोखरेललाई महानगरीय प्रहरी परिसरले स्पष्टीकरण सोधेको छ । सुनबारे सूचना पाएर पनि बरामद गर्न चासो नदेखाएको भन्दै महानगरीय प्रहरी कार्यालयको निर्देशनमा परिसरले स्पष्टीकरण सोधेको हो । गत सोमबार बिहान क्षेत्रपाटीबाट महानगरीय अपराध महाशाखाले ८८ केजी सुन बरामद गरेको थियो । त्यसबारे महानगरीय प्रहरी कार्यालयले पहिले नै लैनचौर वृत्तलाई खबर गरी बरामद गर्न निर्देशन दिएको थियो । तर, डिएसपी पोखरेलले त्यसमा गम्भीरता नदेखाएको भन्दै स्पष्टीकरण सोधिएको परिसरका एक अधिकारीले बताए । पोखरेल गत महिना मात्र वृत्तमा सरुवा भएका थिए । सुनका मालिक मानिएका चिनियाँ नागरिक पनि प्रहरीबाटै सूचना पाएर भागेको आशंका गरिएको छ ।

एक किलो सुनसहित ताइवानी पक्राउ
एक किलो सुनसहित ताइवानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट काठमाडौं आएका ताइवानी नागरिक चिएचुन चाङलाई प्रहरीले पक्राउ गरेको हो । भन्सारको एक्सरे चेकिङका क्रममा उनी पक्राउ परेको एयरपोर्ट भन्सार प्रमुख नारायण सापकोटाले बताए । झोलामा लुकाएको अवस्थामा सुनका २७ वटा टुक्रा फेला परेको थियो ।

सुन करिब एक किलो रहेको सापकोटाले बताए । कुनै समूहले बाहकका रूपमा उनलाई तस्करीमा प्रयोग गरेको प्रहरी आशंका छ । चाङको नेपालमा पनि कुनै समूहसँग सम्बन्ध रहेको आशंकामा थप अनुसन्धान अघि बढाइएको सापकोटाले बताए । एक महिनाअघि दुई किलो सुनसहित भन्सारमा दुई बाहक र एक प्रहरी पक्राउ परेका थिए । -नयाँ पत्रिकाबाट

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’ उहाँले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताउनुभयो । ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारें, जो निर्माण सम्पन्न हुने चरण छ’– पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ ।’ त्यस्तै आफूले अघि बढाएको उत्तरदक्षिण कोरिडोर र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको बताउनुभयो । आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा हजारौं किसानको ऋण मिनाह गरेको स्मरण गर्दै उहाँले शंखधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो संख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आफूले दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई उर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको कालरात्रीबाट मुक्त गरेको बताउनुभयो । त्यति नै बेला संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलको बीचमा मधेशी दलहरुलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि गरिएको उहाँले स्पष्ट गर्नुभयो । आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताउनुभयो । ‘हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरु कारवाहीमा परेको पहिलोपटक हो’– उहाँले भन्नुभयो– ‘सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौं श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।’ उहाँले आर्थिक समृद्धिको सवालमा लिएका महत्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्ने क्रम सुरु भएको बताउनुभयो। उहाँले तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको महासभाहुँदै कोप २८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरकरुपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताउनुभयो । आफूले अल्पविकसित राष्ट्रहरुको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको बताउनुभयो । उहाँले पछिल्लो सरकारको नेतृत्व गदौ शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताउनुभयो । त्रिविमा मेरिटोक्रेसी लागु गर्ने, वर्षौदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीय शिक्षा ऐन सदनमा पुर्याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गर्नुभयो । ‘अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं’ अध्यक्ष प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताउनुभयो । ‘सरबाट थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं’– उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ ।’ भर्खरै श्रीलंकामा भ्रष्टाचारविरोधी एजेण्डा स्थापित गरेर बामपंथी राष्ट्रपति निर्वाचिन भएको घटना विद्यार्थीहरुलाई सुनाउँदै उहाँले यो अभियान नेपालमा पनि शसक्तरुपमा अघि बढ्ने बताउनुभयो । सरकारमा रहँदा दलाल पूँजीपतिहरुको राइदाईमाथि जेहाद छेडेको उल्लेख गर्दै उहाँले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने बताउनुभयो । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो । बिरोधीहरुले सँधै षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने अध्यक्ष प्रचण्डको भनाई थियो । ‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो । अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौं । संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाइँ विद्यार्थीहरु तयार हुनुहोला ।’ ‘राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो’ अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरुको अस्वस्थ प्रतिष्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताउनुभयो । भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वब्यापीरुपमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरुलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गर्नुभयो । बिदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने बामपंथीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्न सक्ने उल्लेख गर्दै उहाँले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । ‘पार्टीभित्र विचार संश्लेषण र समाजवादी क्रान्तिको तयारीलाई प्राथमिकता’ अध्यक्ष प्रचण्डले एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौं राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताउनुभयो । अब धेरै विषय केन्द्रीय समिति बैठकले टुंग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उहाँले स्पष्ट गर्नुभयो ।  माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताउनुभयो । गुटबन्दीमा नलाग्ने निर्देशन अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि उर्जा हुने बताउनुभयो । उहाँले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीहरुले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि उर्जाको अवसरको रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधिमा जाने भएपछि जो जितेर आउँछ उही संगठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी गर्न विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।    

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गर्नुभएको हो । सम्मेलन उद्घाटनमा पार्टीका अधिकांश केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको छ । अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा नेताहरुले शुभकामना दिने क्रम सुरु भएको छ । सम्मेलनको बन्दसत्र भोलि ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । भोलि नै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ । असोज १२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समूहका नेताले प्रस्तुत गर्नेछन् ।   १२ गते निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।  असोज १३ गते उम्मेदवारी दर्ता दाबी बिरोध आदि सकेर असोज  १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको सो संगठनले जनाएको छ । 

गंगादेवको नाम र केन्द्र पुरानै कायम गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र पुरानै कायम गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो अदोश दिएको हो । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४(५)मा गाउँपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र नाम वा केन्द्र परिवर्तनका लागि एकपटकका लागि गाउँसाभाको बहुमतबाट नेपाल सरकारमा सिफारिस गर्नसक्ने र सो बमोजिम नेपाल सरकारले नाम वा केन्द्र परिवर्तन गर्नसक्ने व्यवस्था गरेको, गाउँपालिकाको पहिलो निर्वाचनपछि मिति २०७४ फागुन १४ गते सुकिदह गाउँपालिकाको नाम गंगादेव गाउँपालिका र केन्द्र जिनावाङबाट सानाडाँडामा सार्ने निर्णय भइसकेको अवस्थामा पुनः सो गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेकोमा अवस्था देखिदा प्रस्तुत निवेदनमा अन्तिम निर्णय नभएसम्म गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने गरी गंगादेव गाउँपालिकाको सभाको मिति २०७९ असार ३१ गतेको निर्णय तथा नेपाल सरकारको २०८१ भदौ २० को निर्णय तत्काल कार्यान्वयन नगर्नु, नगराउनु साविककै गंगादेव गाउँपालिकाको नाम तथा सानाडाँडा केन्द्रबाट पूर्ववत् गाउँपालिका सञ्चालन गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम प्रत्यार्थीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’ यो गाउँपालिकामो पहिलो निर्वाचनबाट नेकपा माओवादी केन्द्र बिजयी भएको थियो । तत्कालीन गाउँपालिकाको गाउँसभाबाट सहिदको नामाम गंगादेव गाउँपालिका बनाइएको थियो । २०७९ को स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस विजयी भएपछि उसले पुरानो निर्णय उल्ट्याउने निर्णय गरेको थियो भने पछिल्लोपटक संघीय सरकारमा एमाले–कांग्रेसको सरकार बनेपछि पालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको थियो ।

आजदेखि लगातार चारदिन वर्षा हुने, यी हुन् उच्च जोखिमका क्षेत्र

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । आज दिउँसोदेखि आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि धेरै ठूलो वर्षासम्म हुनसक्ने भएकाले ५६ जिल्ला यसको असर पर्नसक्ने भन्दै सचेत गराएको छ ।

लोकप्रिय