विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण

विशाल खड्काको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण

काठमाडौं । माओवादी केन्द्रका युवा नेता तथा केन्द्रीय सदस्य कमरेड विशाल खड्काले लेखेको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तकको लोकार्पण गरिएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खड्काद्धारा लिखित उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यावरणको मुद्दा प्राविधिक विषय मात्र नभएर माक्र्सवादी अर्थराजनीतिको मुल मुद्दा बनेको बताए ।

प्रधानमन्त्री प्रचण्डले विश्वको साझा समस्याका रुपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरुलाई नै सबैभन्दा धेरै जोखिममा पुर्‍याएको बताए ।

उनले नेपालजस्ता मुलुकहरुमा प्रतिवर्ष ०.३ देखि १ प्रतिशतका दरले हिमालहरु पग्लिरहेको हिमालयाजः क्लाइमेट चेन्ज, ब्लयाक कार्बन एण्ड रिजनल रेजिलियन्स’ प्रतिवेदनले उल्लेख गरेको जानकारी दिए।

यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त वक्तव्यको पूर्णपाठ

हाम्रो पार्टीका युवा नेता तथा केन्द्रीय सदस्य कमरेड विशाल खड्काले लेखेको ‘पर्यावरणीय संकटः आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक त्यस्तो बेला प्रकाशित भएको छ, जतिबेला नेपालसहित विश्वका अधिकांश देशहरुले कोप–२८ को तयारी गरिरहेका छन्। कोप–२८ मा नेपालले राख्नुपर्ने सरोकारका बारे हामी निरन्तर अन्तरसंवादमै छौँ।

पुस्तकमा खड्काले आठ अर्ब मानिसको साझा पृथ्वी, पर्यावरण र जलवायु परिवर्तनले विश्वभर निम्त्याएको संकटबारे विषद् चर्चा गर्नुका साथै यसको समाधानका लागि माक्र्सवादी वैचारिकी नै किन आवश्यक छ भनेर बडो सरल ढंगले, सबैले बुझ्ने गरी पुस्तकमा चर्चा गर्नुभएको छ।

विश्वकै कम उमेरकी पर्यावरण अभियन्ता ग्रेटा थनवर्गले आममानिसलाई पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय नभई यो साझा मानिसको चिन्ता हो भनेर भनेझै लेखक विशाल खड्काले पनि यो मुद्दा आममानिसको र विशेष गरेर माक्र्सवादीको चिन्ता र चिन्तन गर्नुपर्ने विषय हो भनेर जोड दिनुभएको छ।

विश्वको साझा समस्याका रुपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरुलाई नै सबैभन्दा धेरै जोखिममा पु¥याइदिएको छ। नेपालजस्ता मुलुकहरुमा प्रतिवर्ष ०.३ देखि १ प्रतिशतका दरले हिमालहरु पग्लिरहेको हिमालयाजः क्लाइमेट चेन्ज, ब्लयाक कार्बन एण्ड रिजनल रेजिलियन्स’ प्रतिवेदनले उल्लेख गरेको छ।

सबैभन्दा धेरै हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित मुलुकहरुले अविकसित र अल्पविकासशील मुलुकमा पुगेको अपुरणीय पर्यावरणीय क्षतिलाई रोक्नका लागि क्लाइमेट फाइनान्स कोषको स्थापना गरी सन् २०२० सम्म १०० विलियन डलर उपलब्ध गराउने बाचा गरे पनि उक्त रकम उनीहरुले जम्मा नगरेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाउँछ।

विकसित मुलुकहरुको मुल ध्येय पर्यावरण जोगाउनुका सट्टा युद्धमा लगानी गरेर मुनाफा कमाउनु रहेको छ भन्ने लेखकको निष्कर्षलाई यसै नकार्न सकिँदैन। त्यसैले लेखकले अविकसित र अल्पविकासशील मुलुकहरुले विकसित मुलुकबाट क्षतिपूर्ति पाउनु उनीहरुको अधिकार हो भन्ने कुरामा जोड दिनुभएको छ।
लेखकले पुस्तकमा लेख्नुहुन्छ– ‘वास्तवमा ठूला शक्तिराष्ट्रले निम्त्याएको पर्यावरणीय जोखिमको मार भूगोलको हिसाबले साना, जनसंख्याका हिसाबले अतिकम विकसित र विकासोन्मुख मुलुकले व्होर्नुपरिरहेको छ। त्यसैले नेपाल, बंगलादेश, फिलिपिन्स, नाइजेरिया, जिम्बाबे, दक्षिण सुडानजस्ता जोखिमपूर्ण अवस्थामा रहेका मुलुकले विशेष रुपमा क्षतिपूर्तिको माग गर्नैपर्छ र नेपालले त्यसको अगुवाई गर्नुपर्छ।’

यति मात्रै होइन पुस्तकमा लेखक, कमरेड विशाल खड्काले नेपालको ७० बर्षे क्रान्तिकारी वामपन्थी आन्दोलन र जनयुद्धको समीक्षा गर्दै– यो आन्दोलनले सर्वहारा वर्गका भूईमान्छेको गास–बास–कपास र आत्मसम्मानको आन्दोलनलाई अगाडि बढाउन भूमिका खेलेको गरिमामय इतिहास स्मरण गर्दै अबको पर्यावरणीय संकट र त्यसको समाधान पनि माक्र्सवादी विचारले दिन सक्ने र नेपालमा त्यसको नेतृत्व माओवादी केन्द्रले गर्नुपर्ने विचार व्यक्त गर्नुहुन्छ। जुन निकै महत्वपूर्ण छ।

नेपाली माक्र्सवादी र माओवादी आन्दोलनमा लागेका युवा तथा अग्रपंक्तिका नेता कमरेडहरुले यो पुस्तक पढ्नैपर्छ।

‘हामीले हाम्रो भावी पुस्तालाई विरासतमा कस्तो पर्यावरण दिएर जानेछौँ ?’– भन्ने उहाँको संकथनले मलाई निकै संवेदनशील बनायो। हामी माक्र्सवादी भएका नाताले, हामी इतिहासप्रति, हाम्रो वर्गप्रति असाध्यै गम्भीर हुनैपर्छ । र, कोप–२८ को पूर्वसन्ध्यामा म यहाँ तपाईंहरुलाई भन्न चाहन्छु– हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र मेरो नेतृत्वको सरकार पर्यावरणका मुद्दाप्रति निकै गम्भीर र संवेदनशील छ। हामी हाम्रो भावी पुस्ताप्रति पनि त्यति नै संवेदनशील छौँ, जति एउटी आमा आफ्नो बच्चाप्रति हुन्छिन्।

पुस्तकको अन्त्यतर्फ राखिएको ‘कोप–२८ लाई कसरी हेर्ने’ भन्ने लेखले मलाई विशेषरुपमा आकर्षित ग¥यो। लेखकले माक्र्सवादी दृष्टिकोणबाट कोपलाई कसरी हेरिनुपर्छ भन्ने विचार–विमर्श गर्नुभएको छ। यो लेखबारे यहाँ उपस्थिति मुर्धन्य समीक्षकहरुले अझै सटिक ढंगले आफ्ना केही कुराहरु राख्नुभएको छ। तर, मलाई लागेको के हो भने उहाँले यो लेख आफ्नो पुस्तकको अघिल्तिर राख्नुपर्ने थियो। उहाँले यस लेखमा निकै आलोचनात्मक ढंगले एउटा माक्र्सवादीले कोपलाई कसरी हेर्नुपर्छ भन्ने स्पष्ट र सटिक विश्लेषण पस्किनुभएको छ।

लेखक कमरेड विशाल खड्काले भने जस्तै पर्यावरणको मुद्दा कुनै प्राविधिक विषय मात्र नभएर यो माक्र्सवादी अर्थराजनीतिको मुल मुद्दा बनेर सबैका अघिल्तिर आइसकेको छ। त्यसैले म सबै कमरेडहरुलाई यो पुस्तक गम्भीरतासाथ अध्ययन गर्न र पर्यावरणीय संकटलाई माक्र्सवादी कोणबाट समाधानको बाटो पहिल्याउनका लागि यसको विषद् अध्ययनतर्फ लाग्न आह्वान गर्दछु। धन्यवाद।

बेपत्ता र सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन दिने म्याद थप

काठमाडौं । सरकारले द्वन्द्वकालीन घटना टुंग्याउन महत्त्वपूर्ण मानिएका दुई आयोगको अध्यक्ष र सदस्यमा आवेदन दिने म्याद थप गरेको छ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्न समिति गठन गरेको थियो । सोही समितिले २३ कात्तिकमा दुवै आयोगका अध्यक्ष र सदस्यमा आवेदन आह्वान गर्दै एक सूचना प्रकाशित गरेको हो । उक्त सूचनामा इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरिएको छ । सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । तर, आज फेरि अर्को सूचना प्रकाशित गर्दै समितिले मंसिर ४ सम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । आवेदन फाराम www.trc.gov.np, www.ciedp.gov.np, www.moljpa.gov.np बाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।

कोदोखेतीले धानेको खोरियागाउँ

सिरहा । मिर्चैया बजारबाट १० किलोमिटर उत्तरपट्टि चुरेको फेदमा अवस्थित छ खोरिया बस्ती । बस्तीमा दलित, जनजातिलगायत सीमान्तकृत समुदायका २६ परिवारको बसोबास छ । बस्तीमा सानो झुपडी, फुसको छानो, बाँसका भाटाले बेरेका टहरा छन् । मिर्चैया नगरपालिका–७ मा पर्ने यस गाउँमा जब प्रवेश सुरु हुन्छ, बारीभरि कोदोखेती देख्न सकिन्छ । यहाँका किसानका लागि यो निर्विकल्प खेती हो । वर्षमा एक पटक मात्रै यहाँका किसानले कोदो उत्पादन गर्छन् ।  चुरेको फेदमा अवस्थित यो गाउँ सुक्खा क्षेत्र भएको र सिँचाइ सुविधा नहुँदा कोदोखेतीको विकल्प नभएको यहाँका किसानको भनाइ छ । “बाउबाजेदेखि यही कोदो रोप्दै आएका छौँ । अन्य बालीका लागि सिँचाइको सुविधा छैन । पिउने पानी त नभएर छ महिना समस्या हुन्छ”, स्थानीय हर्कबहादुर परियारले भने, “जेजति उब्जनी हुन्छ यही कोदोको जोहो गर्नुपर्ने बाध्यता छ ।”  यतिबेला कोदो पाकेको छ । किसान बाली भित्र्याउने तयारीमा छन् । परियारले दुई कठ्ठा बारीमा कोदो लगाएका छन् । “यो अगौटे बीउको कोदो आजभोलि नै टिप्ने बेला भइसकेको छ । आफ्नो उत्पादनको दुई गेडा अन्न भए पनि स्याहार्नु त पर्यो”, परियारले भने । उनले उत्पादन गरेको १०/१२ पाथी कोदोले केही महिना मात्र जोहो टर्छ, बाँकी महिना ज्याला मजदुरी गरेर छ जना परिवारको जीविका चलाउनुपर्छ ।  परियारको जस्तै भनाइ छ सोही बस्तीकी धनसरी विश्वकर्माको पनि । खडेरीले अन्य बाली खाने हुँदा आफूहरूले कोदा रोपेर जीविका चलाउनुपरेको उनको भनाइ छ । उनले भने, “मान्छे र गाईवस्तुलाई खानेपानीका लागि छ महिना एक घण्टाको बाटो धाएर पानी बोक्नुपर्छ । भएका कुवा र इनार मङ्सिर नलाग्दै सुक्छन् । यस्तो ठाउँमा कोदोबाहेक अन्य अन्नपात उब्जदैन । मकै रोपे पनि खडेरीले खाइहाल्छ ।” कोदोबाहेक गहत, बोडी र तिललगायतका अन्नपात लगाउने गरेको उनले जानकारी दिए। उब्जने त्यही कोदो बालीमा पनि स्थानीय सरकार तथा अन्य निकायले उन्नत बीउ तथा अनुदान सहयोग नगरेको यहाँका किसानको गुनासो छ । उत्तरी भेगका करिब १० प्रतिशत किसानले कोदोखेती गरे पनि नगरपालिले हालसम्म कोदोखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै प्रकारको नीति र योजना नरहेको मिर्चैया नगरपालिका कृषि शाखा प्रमुख नागेश्वर हाथीले बताए ।  उनले भने, “यहाँका किसानलाई कोदोखेती विस्तार र संरक्षणमा सम्बन्धित नगरले अहिलेसम्म कुनै नीति बनाएको छैन । आगामी दिनमा नगरका तर्फबाट किसानलाई कोदो उत्पादनका लागि प्रोत्साहन, बजार व्यवस्थापन र व्यावसायीकरणका लागि सहयोग गर्न पहल गर्नेछौँ ।” यहाँका कर्जना, मिर्चैया, गोलबजार र धनगढीमाई नगरपालिकाका चुरेफेदका सुक्खा बस्तीका गाउँमा मुख्यगरी कोदोखेती गरिन्छ ।  कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्रकुमार महासेठका अनुसार जिल्लामा करिब छ सय ४५ हेक्टर जग्गामा कोदोखेती गरिने तथ्याङ्क छ । त्यस्तै नौ सय ६७ मेट्रिक टन कोदो बर्सेनि उत्पादन गरिन्छ ।  प्रमुख महासेठका अनुसार स्थानीय तहले नै कृषिसम्बन्धी हेर्ने भएकाले किसानको प्रोत्साहनका लागि आफूहरूको कुनै विशेष योजना नरहेको उनले बताए। उनले भने, “पहिले जिल्लाको दक्षिणी भेगमा पनि यहाँका किसानले कोदोखेती गर्ने गर्थे । तर अहिले उत्तरी भेगमा मात्र सीमित छ । स्थानीय तहले कृषि शाखामार्फत प्रत्यक्ष किसानलाई हेर्ने हुँदा अहिले हामी एक हिसाबले अधिकारविहीनजस्तो भएका छौँ । स्थानीय तहसँग समन्वय गरेर भए पनि किसानलाई कोदोखेतीमा आकर्षित गर्नुपर्ने आवश्यकता छ ।” जिल्लाका  परम्परागत बालीनालीको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।  पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुने गरे पनि अहिले मुख्य खाना भात भएकाले विभिन्न रोग पनि सँगसँगै आएको खोरिया बस्तीका खड्गबहादुर विश्वकर्माले बताए । उनले भने, “गाउँघरमा कोदोखेती विस्थापित हुँदै गएको छ । बजारका अन्य खानेकुराले मानिसलाई रोगी बनाउँदै छ । सरकारले कोदोखेतीको संरक्षणमा ध्यान नदिँदा सीमित किसानले आफ्ना लागि आवश्यक पर्ने मात्र कोदोखेती गर्ने गरेका छन् ।”

दार्चुलामा दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात

दार्चुला ।  दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।  मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो। दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेको छैन  । 

तराईका भूभागमा बाक्लो बाक्लो हुस्सु र कुहिरो लाग्न सुरु

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव छ। देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला (शुक्रबार बिहान) गण्डकी र कोसी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। देशको तराई भूभागका केही स्थानमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान छ। आज राति पनि कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ मंसिर १ गते शनिबार दिउँसोː कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। रातिः कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। २०८१ मंसिर २ गते आइतबार दिउँसोː कोसी, प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। रातिː कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु र कुहिरोको संभावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

लोकप्रिय