विश्वको ठूलो भैरवको मखुन्डो बन्दै

काठमाडौँ, माघ १३ । अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन लाग्नुभएको छ ।
नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५ औँ श्रृंखलामा शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदिने बताउनुभयो । “त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत गर्ने छ” उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कलाको इतिहास दुई हजार वर्ष लामो रहेको र त्यसले हामीलाई आफ्नो पहिचान दिन सकेको बताउँदै उहाँले भन्नुभयो – “नेपाली मूर्तिकलाको मौलिकताले हामीलाई समृद्ध र वैभवशाली बनाएको छ ।
हाम्रा पुर्खाको सीप र क्षमताले हामीलाई विश्वमै परिचित गराउन सकेको छ ।” उहाँले नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासबाट यसले प्राचीनकालदेखि नै आर्थिक विकासमा योगदान दिएको बताउनुभयो ।
परम्परागत रुपमा पारिवारिक पृष्ठभूमिबाटै यस क्षेत्रमा लाग्ने अवस्था अहिले अन्त्य भएको छ । अचेल अन्य समुदायबाट पनि परम्परागत कलाका क्षेत्रमा लाग्नेहरुको सङ्ख्या बढ्दै गएको छ । यसले सबैमा यसको पहुँच पु¥याउन सहयोग गरेको र आर्थिक विकासमा समेत मद्दत पु¥याएको छ ।
राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुत्व जमाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । “अहिले पनि कलाकारलाई अर्डर बमोजिम काम गर्न भ्याइनभ्याई छ ।
राज्यले यो कलालाई पनि उच्च शिक्षाको घेरामा ल्याएमा नयाँ पुस्ताको आकर्षण र रोजगारी अझै बढ्छ”, शाक्यले भन्नुभयोे। “नेपाली परम्परागत कलाको सीप र कालिगढी क्षमता विश्वमै विशिष्ट रहेको छ ।
नेपाली कलाकारको माग लिच्छविकालदेखि नै अन्तर्राष्ट्रिय रुपमै रहेको थियो, जुन आजसम्म कायम छ”, शाक्यले भन्नुभयो।
नेपाली कला परम्परामा धातुको पातामा सिधै मूर्ति बनाउने मूर्तिकारको छवि बनाउनुभएका शाक्यले भुटानमा एक सय २५ फिट अग्लो मूर्ति निर्माण गर्नुभएको छ ।
उहाँले नेपालका विभिन्न गुम्बा, स्तूप र मन्दिरमा आफ्नो कलाकृति बनाइसक्नुभएको छ भने भारतलगायत विश्वका विभिन्न स्थानमा आफ्ना सिर्जना पु¥याइसक्नुभएको छ ।
समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहनेमा उहाँले जोड दिनुभयो । कलाकारले बनाउने कलाले समाजका मानिसमा सकारात्मक प्रभाव पार्नेसमेत उहाँले बताउनुभयो ।
नेपाली परम्परागत कलाको विकासका साथै यसमा कलाकारको क्षमता अभिवृद्धिका विविध कार्यक्रम गर्ने उद्देश्यसहित स्थापित सुमेरु कलाग्रामका अध्यक्ष शाक्यले नेपालका साथै विश्वका विभिन्न स्थानमा आफ्ना कलाकृति प्रदर्शनी गरिसक्नुभएको छ ।
“संस्थागत रुपमा कला नबुझेका तर बुझ्न चाहनेलाई बुझाउने, कालीगढलाई कलाकार बन्न प्रेरित गर्ने र कलाकारलाई न्यायोचित स्थान दिनका लागि सुमेरुले काम गरिरहेको छ”– उहाँले भन्नुभयो ।
लिच्छविकाल, मल्लकालमै प्रगतिको चरममा पुगिसकेको नेपाली मूर्तिकलालाई पुनःजागृत गर्दै नेपाली कला विश्व सामु चिनाउने लक्ष्यका साथ नेपाली कलाकारले काम गरेको शाक्यले बताउनुभयो ।
नेपाली परम्परागत कला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको र त्यसले नेपाली मौलिक कलालाई बचाउन सकिएको बताउँदै शाक्यले भन्नुभयो – “बाबु बाजेबाट सिक्दै यहाँसम्म नेपाली कला आएको यसलाई अझ प्रभावकारी रुपमा विकास गर्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने अवस्था आएको छ ।”
कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गर्नुभएको थियो भने पत्रकार, कलाकार र कला अनुरागीले शाक्यसँग नेपाली परम्परागत कलाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।
मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।
हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं : अध्यक्ष प्रचण्ड
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।
सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।