संसद्‌मा ठग व्यक्ति चाहिँदैन भन्दै नेविसंघले जलायो रवि लामिछानेको पुतला

संसद्‌मा ठग व्यक्ति चाहिँदैन भन्दै नेविसंघले जलायो रवि लामिछानेको पुतला

काठमाडौं । सहकारीको रकम घोटाला प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछनेलाई कारबाही माग गर्दै नेविसंघले राँको जुलुससहित उनको पुतला जलाएको छ ।

नेविसंघले शनिबार राति ९ः१५ बजे बानेश्वर संघीय नेपाल कमर्श क्याम्पस संसद् भवन सडक खण्ड अगाडि सहकारी ठगिमा मुछिएका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध मसाल जुसुलसहित पुतला दहन गरेको हो । नेविसंघले यसअघि सहकारी विभागमा उजुरी दर्ता गरेर कारबाही माग गरेको छ ।

प्रदर्शनको क्रममा नेविसंघले सांसद लामिछनेविरुद्ध नाराबाजीसमेत गरेको थियो । उनीहरुले रवि लामिछानेविरुद्ध उजुरी दर्ता गर, ३६ हजार जनताको पैसा फिर्ता गर, जनताको पैसा लुट्न पाइँदैन, दोषी जोगाउन पाइँदैन,विभेद र पूर्वाग्रह मानिँदैन, ठग व्यक्ति संसद्‌मा चाहिँदैन जस्ता नारा लगाएका थिए ।

नेविसंघका नेताहरुले कोणसभामा घोटालाले नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा गम्भीर असर पारेको बताए ।

बिहीबार नेविसंघले सांसद लामिछाने सहितले विभिन्न सहकारी संस्थाहरूबाट ३२ करोड ४५ लाख रुपैयाँ लिएर आफू संलग्न गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लगाउँदै छानबिन गर्न माग गर्दै उजुरी दर्ता गरेको हो । संघले सहकारी विभागलाई सहकारी घोटालाबारे छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्न चेतावनी दिएको छ ।

दुई हजार आठ सयले घट्यो सुन

काठमाडौं  । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ।  यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ। महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ। यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो। 

चारदिने छठ पर्व आजदेखि सुरु

काठमाडौं ।विशेष गरी नेपालको मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक आजबाट सुरु भएको छ ।  चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिला क्षेत्र र देशैभरि धुमधामका साथ विधिपूर्वक सुरु भएको छ । तराईमा मनाईने यो पर्व पछिल्लो समय पहाडमा रहेका विभिन्न नदी किनारमा पनि मनाइन थालिएको छ ।   सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।        चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन ९विनानुन हालेको० खानेकुरा खाने चलन छ । षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।  षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अर्घयका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घय अर्पण गर्नेछन् । त्यसको भोलिपल्ट अर्थात् शुक्रबार बिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घय दिइ छठ पर्व सम्पन्न गर्नेछन् । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । 

पहाडी भू–भागमा बिहानैदेखि वर्षा, यस्तो हुनेछ दिउँसोको मौसम

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली छ । पहाडी भू–भागका एकदुई स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो  कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।विभागले राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ ।  वाग्मती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई  स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

तिहारको रौनक बढ्दै, घरघरमा गरियो लक्ष्मी पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा बिहीबार बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका भनिन्छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।  

लोकप्रिय