समयमा चुनाव हुने/नहुने आशंकाबीच तीन ठूला दलले तयारीमा जु्ट्दै

लहान, चैत १७ । स्थानीय तहको निर्वाचनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको आन्दोलनका कारण समयमा निर्वाचन हुने/नहुने आशंकाबीच सिरहामा तीन ठूला दलले निर्वाचनको आन्तरिक तयारी थालेका छन्
मधेसवादी दलहरुको आन्दोलनका कारण यहाँ आगामी वैशाख ३१ गते निर्वाचन हुने वा नहुने आशंका रहेको भएपनि नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले स्थानीय तहको निर्वाचनको आन्तरिक तयारी थालेका हुन् । काँग्रेस निकट नेपाल महिला सङ्घले केही दिनअघि सिरहाको लहानमा प्रदेश स्तरीय प्रशिक्षण गरेदेखि नै निर्वाचनको तयारी थालेको काँग्रेस सिरहाले चुनाव केन्द्रित गतिविधिलाई गाउँ गाउँसम्म पु¥याइआएको छ ।
काँग्रेसका सिरहा जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवका अनुसार काँग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारहरुको छनोट, अगुवा कार्यकर्ताहरुको प्रशिक्षक तथा नियमित बैठक र छलफल लगायतका गतिविधि गरिरहेको छ ।
“मधेसवादी दलहरुले यथास्थितिमा हुने निर्वाचनलाई सशक्त रुपमा बहिष्कार गर्ने चेतावनी दिँदै आन्दोलन जारी राखेकाले समयमै निर्वाचन हुने वा नहुने अन्योलका बीच निर्वाचनको तयारी थालेका छौं,” सभापति यादव भन्नुहुन्छ – “निर्वाचन र
संगठन सुदृढीकरणलाई लक्ष्य गरी जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अहिले दिनहुँ नियमित रुपमा बैठक र छलफलमा हुने गरेको छ ।”
एमालेले केही दिनअघि सञ्चालन गरेको मेची–महाकाली अभियान कार्यक्रमको क्रममा सप्तरीमा झडप भएपछि एमालेका नेता कार्यकर्ताले सिरहामा खुलेर निर्वाचनको तयारी गर्न नसकेपनि आन्तरिक रुपमा तयारी भइरहेको एमाले नेताहरु बताउँछन् । एमालेले निर्वाचनलाई लक्ष्य गरी पार्टीको २ नम्बर प्रदेश स्तरीय भेला महोत्तरीको बर्दिवासमा आयोजना गरेपनि सप्तरीको घटना पछि एमालेले सिरहामा कुनै औपचारिक कार्यक्रम गर्न सकेको छैन ।
संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि निर्वाचनलाई लक्ष्य गरी आन्तरिक तयारी सुरु गरेको छ । निर्वाचनलाई दृष्टिगत गरी एक साताअघि सिरहाको गोलबजारमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको र स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको सूची तयारीको सन्दर्भमा बैठक तथा छलफलहरु नियमित रुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ – “निर्वाचन र सांगठनिक अभियान लिएर गाउँ गाउँका पार्टीका अगुवा नेता र कार्यकर्तासँग नियमित छलफल, अन्तरक्रिया गर्नुका साथै जिल्लाका स्थानीय तहमा उम्मेदवार हुने आकांक्षीहरुको समेत सूची तयार गरिरहेका छौं ।” ठूला तीन दल बाहेक अन्य केही दलले पनि छिटफुट रुपमा आन्तरिक चुनावी तयारी थाले पनि उनीहरुको गतिविधि औपचारिक रुपमा सार्वजनिक हुन सकेको छैन ।
स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालय सिरहाले म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेपछि सिरहामा आवेदन भर्ने मधेसी युवाको भीड बढेको छ।
म्यादी प्रहरी भर्नाका लागि आवेदन दर्ता गराउन सदरमुकाम सिरहास्थित जिल्ला प्रहरी कार्यालय सिरहामा दैनिक रुपमा ठूलो भीड लाग्ने गरेको छ ।
स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको भर्नामा युवा वर्गको बढ्दो आकर्षणले पनि आसन्न स्थानीय तहको निर्वाचनको वातावरण बन्दै गएको बुझ्न सकिन्छ । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी ठूला दलहरु गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चा सुरु भएको छ ।
तर पनि मधेसवादी दलहरुको आन्दोलनका कारण जिल्लामा खासै चुनावी माहोल बन्न नसकेको स्थानीय बासिन्दा बताउँछन् । संविधान संशोधन गरी मधेसवादी दलहरुलाई समेत निर्वाचनमा सहभागी गराउन सकिए निर्वाचनको वातावरण सहज रुपमा बन्ने स्थानीय बुद्धिजीवीहरुको विश्वास छ ।
सिरहा जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा तथा मधेसवादी दलहरु गरी ३२ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।
पूर्वराष्ट्रपति भण्डारी भन्छिन् -'म अझै पनि राजनीतिमा सक्रिय छु'
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू हाल पनि सक्रिय राजनीतिमा रहेको बताएकी छन्। शुक्रबार विराटनगरमा आयोजित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले 'म अहिले पनि सक्रिय राजनीतिमा छु' भन्दै आफ्नो भूमिकाबारे संकेत गरेकी हुन्। एमाले नेतृत्वबारेको चर्चामा उनले समय आएपछि प्रतिक्रिया दिने जनाइन्।कार्यक्रममा उनले गठबन्धनका कारण महिलाको सहभागिता घटेको र स्थानीय तहमा महिला नेतृत्व प्रभावकारी देखिएको उल्लेख गरिन्। भेलामा उपप्रमुख र उपाध्यक्षहरूको भूमिका र स्थानीय तहका समस्यामाथि छलफल हुने आयोजकले जनाएका छन्।
६४ यताका सबैलाई छानबिन गरौं भनेका छौँ, तर माधव नेपालप्रति पूर्वाग्रह देखियो : अध्यक्ष प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा विश्वासिलो छानबिनको वातावरण बने संसद् अवरोध हट्न सक्ने बताएका छन्। विपक्षी दलहरूको बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको प्रमुख सर्त नभएको संकेत दिए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेर समस्या समाधानतर्फ जानुपर्ने धारणा राख्दै एक–दुई दिनमै सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले सरकारको नियतमाथि प्रश्न उठाए। प्रचण्डले २०६४ सालपछि सत्ता सम्हालेका सबै प्रधानमन्त्री र मन्त्रीहरू छानबिनको दायरामा पर्नुपर्ने माग आफ्नै पार्टीले उठाउँदै आएको स्मरण गराउँदै भने, “तर, माधव नेपालप्रति छानबिनमा पूर्वाग्रह देखिएको छ।” उनले यसअघि ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको नाम चर्चामा आए पनि अख्तियारले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नीतिगत निर्णय’ भन्दै मुद्दा नचलाउने निर्णय गरेर पत्र पठाएको उल्लेख गरे। “त्यही अख्तियार अहिले प्रधानमन्त्रीमाथि नै मुद्दा दर्ता गर्न पुगेको छ। यो गम्भीर प्रश्न हो,” उनले भने, “माधव नेपाललाई जसरी पनि फसाउने नियत देखिन्छ। यो प्रतिशोध हो, जुन गलत छ।” प्रचण्डले प्रधानमन्त्रीका निर्णयहरू प्रायः नीतिगत हुने भन्दै माधव नेपालले आफैं पनि सो प्रकरणबारे आफूलाई थाहा नभएको धारणा राख्दै आएको उल्लेख गरे। “कहीँ न कहीँ प्रतिशोधको गन्ध आउँछ। अदालतमा मुद्दा पुगेको छ, न्यायको अपेक्षा गरौं,” उनले भने। उनका अनुसार माधव नेपालमाथि लागेको मुद्दाले अन्य थुप्रै विवादास्पद विषयहरू—जस्तै गिरीबन्धु, ओम्नी—समेत छानबिनको दायरामा ल्याउने सम्भावना बढाएको छ। “अब त सबै प्रधानमन्त्रीहरू खुला हुने भए। माधवलाई मात्रै हुने कुरा भएन,” प्रचण्डले हल्का शैलीमा हाँस्दै भने। तर उनले सरकारको व्यवहार नियोजित देखिएको भन्दै केहीलाई जोगाउने र केहीलाई फसाउने काम भएको आरोप लगाए। “एकथरिलाई दोष नदेखिए पनि कारबाही गरिएको छ भने, बढी दोष भएकाहरूलाई जोगाइएको छ। यो पूर्वाग्रहयुक्त कार्यशैली हो,” उनले निष्कर्ष टङ्ग्याए।
अध्यक्ष प्रचण्डद्वारा विश्व वातावरण दिवसको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै वातावरणीय एजेन्डालाई नीति निर्माणको केन्द्रमा राखेको बताएका छन्। विश्व वातावरण दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाएको उल्लेख गरेका छन्। “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय विषयवस्तुहरूलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिको सवाल दृढतापूर्वक उठाएको छु,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई जलवायु न्याय र वातावरणीय मुद्दाको सन्दर्भमा ऐतिहासिक मानिएको बताए। गुटेरसको भ्रमणको क्रममा उठाइएका जलवायु सम्बन्धी सवालहरू विशेष महत्वका रहेको उनको भनाइ थियो। उनले जलवायु अनुकूलन रणनीति, हरित ऊर्जा, र वातावरणमैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै नेपाललाई हरित विकासतर्फ डोर्याउने प्रयास गरिएको पनि स्मरण गरे।
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामामा सहमति नजुट्दा संसद बैठक स्थगित
काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग भइरहँदा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखको पहलमा सत्ता र विपक्षी दलबीच छलफल भए पनि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहे। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्नेमा अडिएको छ भने विपक्षीले छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने माग राखेको छ।