भ्रमणमा सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव

भ्रमणमा सम्झौता कार्यान्वयनमा प्राथमिकता दिन प्रधानमन्त्रीलाई सुझाव

काठमाडाैं, चैत २२ । निर्वाचनपछिको नयाँ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि गर्ने छिमेकी भारतको राजकीय भ्रमणमा राष्ट्रिय हित र चासोलाई प्राथमिकता दिई विगतका सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिन विज्ञहरुले सुझाएका छन् ।

नयाँ संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि वाम गठबन्धनको नेतृत्वमा बनेको सरकारले लिएको विकास र समृद्धिको चाहनालाई छिमेकी मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाई ती मुलुकलाई विकासमा साझेदार बनाउनुपर्ने आवाज पनि उठिरहेको छ ।

प्रधानमन्त्री ओली स्वयंले नयाँ सहमतिभन्दा विगतका सहमति र प्रतिबद्धताको कार्यान्वयनमा ध्यान दिने अभिव्यक्ति दिँदै आउनुभएको सन्दर्भमा रासससँगको कुराकानीका क्रममा परराष्ट्र मामिलाका जानकारले नेपालको आफ्नो राष्ट्रिय हित र चासो नै प्रधानमन्त्रीे ओलीको भारत भ्रमणको प्रमुख कार्यसूची हुनुपर्नेमा जोड दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्रीहरु, प्रबुद्ध व्यक्तिहरुको समूह, पार्टीका नेताहरु र विज्ञसँग परामर्श पनि गरिरहनुभएको छ । भ्रमणमा दुई देशबीच पटक पटक छलफल हुने तर सहमति नबने पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हवाई सञ्जाल विस्तार, सन् १९५० को सन्धिको पुनरवलोकन, अन्तरदेशीय प्रसारण लाइन, हुलाकी सडक, भूकम्पपछिको पुनःनिर्माणको अनुदान, पेट्रोलियम पाइप लाइन जस्ता विषयले प्राथमिकता पाउने देखिन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट नयाँ जनादेश प्राप्त भएको सन्दर्भमा आर्थिक कूटनीति तथा समृद्धिका विषयलाई प्राथमिकतामा राख्न उहाँहरुले सुझाव दिनुभएको हो । प्रधानमन्त्री ओलीले भ्रमणका प्राथमिकता र उद्देश्यबारे संघीय संसद्मा सार्वजनिक महत्वको वक्तव्य पनि दिइसक्नुभएकाले विज्ञहरु यो भ्रमण नेपालको हितमा हुनेमा आशावादी देखिएका छन् । नेपालको बढ्दो व्यापार घाटा नियन्त्रण, सम्पर्क सञ्जाल विस्तार (कनेक्टिभिटी), लगानीका नयाँ स्रोतको पहिचान तथा दुई देशको सम्बन्धलाई नयाँ परिस्थितिमा विश्वासिलो रुपमा अगाडि बढाउन भ्रमण फलदायी हुने ठानिएको छ ।

भ्रमणका अवसरमा क्षेत्रीय चासोका विविध मुद्दा तथा आयाममा समेत समान धारणा बनाएर दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षको हैसियतले नेपालले आफ्नो धारणालाई थप परिष्कृत बनाएर जानुपर्ने विज्ञहरु बताउँछन् । यसअघि प्रधानमन्त्री हुँदा ओलीले गर्नुभएको भारत भ्रमणका समयमा केही तीक्तता महसुस भए पनि यसपटक आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने आशा धेरैले गरेका छन् ।

सार्कका पूर्वमहासचिव अर्जुनबहादुर थापाले भन्नुभयो, “विगतमा केही असामान्य जस्तो देखिएको नेपाल–भारत सम्बन्ध पछिल्ला दिनमा सुधार हुँदै आएकाले यस पटकको प्रधानमन्त्रीको भ्रमण विशेष गरी द्विपक्षीय हित र चासोमै केन्द्रित हुन्छ भन्ने मेरो विश्वास छ ।” सार्कको १९औँ शिखर सम्मेलनको आवश्यक तयारी गरिएको भए पनि सदस्य राष्ट्रबीच मतैक्य हुन नसक्दा पछाडि धकेलिँदै आएको अवस्थामा अध्यक्षको हैसियतले नेपालले पहल गर्ने हो भने शिखर सम्मेलनको मिति तय हुन सक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

पूर्वमहासचिव थापाले भ्रमणका बेला क्षेत्रीयस्तरमा रहेको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि सकारात्मक पहल हुनसक्ने बताउनुभयो । नेपालको स्वभाव सबैसँग मिलेर नै जाने भएकाले नेपालको राष्ट्रिय हित तथा क्षेत्रीय हितमा पनि भारतसँग समानताका आधारमा सम्बन्ध स्थापित हुँदा नै राम्रो हुने थापाको भनाइ छ ।

प्रधानमन्त्रीले नेपाली जनताको चाहनाअनुसार नै आफूलाई प्रस्तुत गर्ने र नेपाल र भारतका समान चासो तथा हितका विषयमा नै भ्रमण केन्द्रित गर्ने उल्लेख गर्दै पूर्वपरराष्ट्र सचिवसमेत रहनुभएका थापाले नयाँ नयाँ परियोजनाभन्दा पनि विगतका सम्झौता कार्यान्वयन गर्नेतर्फ नै पहल हुने विश्वास व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति अध्ययन कार्यक्रमका संयोजक प्रा डा खड्ग केसी नेपाली जनताको समृद्धिको चाहनालाई सम्बोधन गर्नेतर्फ नै प्रधानमन्त्रीको भ्रमण लक्ष्यित रहेको बताउनुभयो । डा केसीले भन्नुभयो, “प्रधानमन्त्री स्वयंले नै नयाँ सम्झौता गर्दिनँ भनिसक्नुभएको छ । विगतका द्विपक्षीय हित र चासोको सम्बोधन तथा सहमति नै प्राथमिकतामा पर्ला भन्ने मलाई लाग्छ ।” नयाँ परियोजनाको खोजी तथा सम्झौता गर्ने भन्दा पनि विगतमा भएका सहमति कार्यान्वयन गर्ने, राजनीतिक विश्वासलाई थप सुमधुर बनाउने र नेपाली जनताको मनोविज्ञानको सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री लाग्नुपर्ने उहाँको सुझाव छ ।

चीन र भारत दुवै नेपालका छिमेकी भएकाले दुवैसँग समान सम्बन्ध कायम राख्नुपर्ने, दुवै देशको चासो र चिन्तालाई समेत सम्बोधन गर्नुपर्ने र नेपालको अवस्थालाई ख्याल गर्दै सद्भाव विस्तारमा भ्रमण केन्द्रित गर्नुपर्ने डा केसीले बताउनुभयो । भारत पनि नेपालसँग नयाँ आधारमा सम्बन्ध विस्तार होओस् भन्ने अवस्थामा पुगेको भन्दै उहाँले शक्तिशाली प्रधानमन्त्रीको हैसियतले यस पटकको भारत भ्रमण दीर्घकालीन महत्वको हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का विदेश विभागका सचिव युवराज चौलागाईं राष्ट्रहित नै प्रधानमन्त्रीको खास एजेण्डा हुने देखिएकाले यसमा सबै जनताको सद्भाव रहेको बताउनुहुन्छ । राजनीतिक तथा कूटनीतिक रुपमा जे जसरी तयारी हुनुपर्ने थियो त्यो भने राम्ररी हुन नसकेको टिप्पणी गर्दै उहाँले नेपालको बढ्दो व्यापार घाटा, सम्र्पक सञ्जालको विस्तार र दुई मुलुकका समान चासोलाई सम्बोधन गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रवादी नेताको छवि बनाउनुभएका प्रधानमन्त्री ओलीले नेपालको समग्र चासोलाई नै भ्रमणमा केन्द्रित गर्नुपर्ने सुझाव दिँदै उहाँले विगतका अनुभवबाट पाठ सिकेर नेपाल नयाँ उचाइमा पुगेको छ भन्ने सन्देश दिइनुपर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् । 

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ।  दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

लोकप्रिय