सरकारलाई आजै पूर्णता दिने तयारी, यी हुन एमाले र माओवादीबाट मन्त्री बन्नेहरु

सरकारलाई आजै पूर्णता दिने तयारी, यी हुन एमाले र माओवादीबाट मन्त्री बन्नेहरु

काठमाडौं, चैत २ । प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्।

आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रधानमन्त्री ओलीले आफ्नै दलका शीर्ष नेतासँग बिहीबार छलफल गरे भने बालुवाटारमै माओवादी केन्द्र र संघीय फोरमलाई आन्तरिक पार्टी छलफल र अन्तरपार्टी छलफलको वातावरणसमेत मिलाइदिए। राष्ट्रपति चुनावपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रधानमन्त्रीले त्यसयताको तीन दिन माओवादी अध्यक्ष दाहालसँग लगातार छलफल गर्दै आइरहेका थिए।

मंगलबार, बुधबार मात्रै होइन, ओली–दाहालले बिहीबार पनि बालुवाटारमा छलफल गरेका थिए। यी भेटघाट हरेक दिन रुटिङ नै जस्तो एक घण्टासम्म चल्ने र उठ्ने गरेको थियो। शुक्रबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीसाथ बिहीबार भने ओली–दाहालबीच साँझ–बिहान दुई पटक भेटवार्ता भएको थियो। ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् विस्तार शुक्रबार नै गर्ने तयारी गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले अन्नपूर्णसँग भने, ‘कुनै परिघटना भएन भने शुक्रबार अब मन्त्रिमण्डलले पूर्णता पाउँछ।’

फोरम र राजपासँग पनि प्रधानमन्त्रीले औपचारिक÷अनौपचारिक छलफल गरेका कारण सकभर दुवै पार्टीलाई सरकारमा ल्याएर मन्त्रिमण्डललाई पूर्णता दिने गरी छलफल भइरहेको रिमालले बताए। राजपाका शीर्ष नेताको छलफल पनि बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै बसेको थियो। तीन वटै पार्टीले आ–आफ्ना पार्टी नेतासँग बिहीबारै आन्तरिक छलफल गरेपछि पुनः तीन शीर्ष नेताबीच मन्त्रालय भागबन्डा र संख्याका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। ‘सरकारले पूर्णता नै पाउने विषय अन्य दलको तयारीले के हुन्छ तर शुक्रबार दुई–चार जना भए पनि मन्त्रिमण्डल बिस्तार हुन्छ,’ माओवादी नेता शक्ति बस्नेतले भने।

सरकारमा संघीय फोरम पनि सहभागी हुने नै भएपछि एमाले–माओवादीले यसअगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुवैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ। त्यसो हुँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ।

त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ। ‘मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो भने लागिसकेको छैन,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘यी विषय छलफलकै क्रममा छन्, अझै टुंगिएका छैनन्।’

माओवादीका तर्फबाट यसअघि नै गृहमा रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादवले मन्त्रीको रूपमा सरकारमा काम गरिरहेका छन्। ६ मन्त्रालय पाउँदा उसले प्रदेश ७ बाट बिना मगर, प्रदेश २ बाट गिरिराजमणि पोखरेल, प्रदेश ५ बाट वर्षमान पुन र प्रदेश ६ बाट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एकलाई पठाउने तयारी गरेको छ।

एमालेबाट भने प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ। एमालेले अब पाँच वटा मन्त्रालयमा मन्त्री पठाउनुपर्नेछ।

उपराष्ट्रपति दोहोरिने, राष्ट्रियसभा उपाध्यक्षमा शशिकला
बालुवाटारमा बिहीबार बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहो¥याउन पार्टी बैठकमा सिफारिस गरेको छ। राष्ट्रियसभा उपाध्यक्ष भने प्रदेश २ की सांसद शशिकला दाहाललाई बनाउने विषयमा छलफल चलेको छ। ‘राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहालको सम्भावना बढी हुनेगरी छलफल चलेको छ,’ नेता देवेन्द्र्र पौडेलले बताए।

क–कसको सम्भावना ?

एमाले

प्रदेश १ भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ
प्रदेश २ रघुवीर महासेठ
प्रदेश ३ कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा
प्रदेश ४ रवीन्द्र अधिकारी
प्रदेश ५ प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा
प्रदेश ७ प्रेम आले र नारदमुनि राना

माओवादी

प्रदेश ७ बिना मगर
प्रदेश २ गिरिराजमणि पोखरेल
प्रदेश ५ वर्षमान पुन
प्रदेश ६ जर्नादन शर्मा र शक्ति बस्नेत

आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनुभयो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको पहल पुगेन : अध्यक्ष प्रचण्ड

असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ ।  काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।  प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रुपमा प्रभावितस्थलमा पुग्न नसकेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताउनुभयो । उहाँले मौसम पूर्वानुमानपछि सरकारलाई पूर्वतयारीका लागि लगातार सचेत गराए पनि सरकार गम्भीर हुन नसकाले क्षति बढेको औल्याउँदै अब सरकारको आलोचना गरेर बस्नुभन्दा पनि मुलुकलाई एकताबद्ध गरेर राहत र पुनर्निर्माणमा जुट्न आह्वान गर्दै आफूले प्रभावितस्थलमै पुगेर यथार्थ जानकारी लिने प्रक्रिया सुरु गरेको बताउनुभयो । सोहीअनुसार हिजो आफूले काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावितस्थलको अवलोकन गर्नुका साथै आज काभ्रे आएको पनि स्थानीयवासीलाई जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्न निर्देशन दिनुभयो । जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनस्र्थापनाका बारेमा भएका कामको जानकारी लिनुभएको थियो ।  त्यस्तै उहाँले धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको पलाती भूमिडाडाको अवस्थाको अवलोकन गर्नुभएको थियो ।

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

लोकप्रिय