सरकारी वकिल कार्यालयमा मुद्दाको चाप
काठमाडौँ, पुस ११ ।
‘वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको नेपालका सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन ३० बँुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
यही पुस ८, ९ र १० गते सम्पन्न भएको दोस्रो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा नेपालको संविधानमा व्यवस्था गरिएकोबाहेक सबै प्रकारका सरकारवादी मुद्दाको अभियोजन सरकारी वकिलबाट गर्ने गरी संविधान र संहितामा गरिएका व्यवस्थासँग मेल खाने गरी संशोधन गर्न सरकारसँग माग गरिएको छ ।
पाँच वर्षमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गर्नुपर्ने मुद्दाको सङ्ख्या ४० प्रतिशतले वृद्धि भएको हुँदा सरकारकी वकिलको दरबन्दीमा पुनरावलोकन गर्नुपर्ने माग घोषणापत्रमा उल्लेख छ । सरकारी वकिलको दरबन्दी ४५२ रहेकोमा हाल ४०० कार्यरत छन् ।
मुलुकी अपराध संहितामा नयाँ कानून तथा नयाँ कार्यविधिले सरकारी वकिलको कार्यक्षेत्रलाई निक्कै विस्तार गरेको र गम्भीर प्रकृतिका मुद्दाको सङ्ख्या पनि क्रमशः बढिरहेकोले सोहीअनुरुप जनशक्ति र पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता घोषणापत्रले उल्लेख गरेको छ ।
मुलुकी अपराध संहिता अपराध संहिताले बहुक्षेत्रीय क्षेत्राधिकारको व्यवस्था गरी क्षेत्राधिकार विस्तार गरेको सन्दर्भमा सोको प्रभावकारी कार्यान्वयनका लागि सपुर्दगी र पारस्परिक कानूनी सहायता प्राप्त गर्न सकिने गरी आवश्यक प्रबन्ध गर्न सरकारसँग प्रक्रिया अगाडि बढाउन पनि घोषणापत्रमा आग्रह गरिएको छ ।
फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन अपराधको अनुसन्धान र अभियोजन वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित गर्न र प्रमाणको वैज्ञानिक परीक्षण गर्न अनुसन्धानकर्ताको पहुँचमा प्रयोगशालाको विस्तार र आधुनिकीकरण गरी विश्वसनीयता अभिवृद्धि गरिनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
फौजदारी न्याय प्रशासनका लागि अनुसन्धान र अभियोजनबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुँदा अनुसन्धान अधिकृतको स्वायत्तता र विशेषज्ञताको सम्मान गर्दै अभियोजनकर्ताबाट अनुुसन्धान प्रक्रियाको वैधतामा प्रश्न उठ्न नसक्नेतर्फ विशेष ध्यान दिुनपर्ने घोषणापत्रमा उल्लेख छ ।
फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनले गरेको व्यवस्था मुताविक प्रोवेसन, प्यारोल, सामुदायिक सेवा, खुला कारागार तथा पीडित राहत कोषजस्ता नवीन मान्यतालाई प्राथमिकतापूर्वक कार्यान्वयनमा आउने अपेक्षासमेत सम्मेलनले राखेको छ ।
पछिल्लो समयमा विवादको विषयसँग सम्बद्ध नभएका सरकारी निकायलाई समेत विपक्षी बनाउने प्रचलन बढ्दै गएको हुँदा कुनै निर्णय वा काम कारवाही नगरिकनै मुद्दाको प्रक्रियामा सहभागी हुनुपर्ने अवस्थाले न्यायालय एवं अन्य सरोकारवाला निकायको कार्यबोझमा अनावश्यक विस्तार गरेको छ । रासस
तिहारको रौनक बढ्दै, आज साँझ लक्ष्मी पूजा गरिदै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा बिहीबार बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका भनिन्छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच साफ महिला च्याम्पियनसिप जारी
काठमाडौं । दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच हुने साफ महिला च्याम्पियनसिप जारी छ । दुई देश बीचको उपाधि भिडन्त हेर्न दर्शकको बाक्लो उपस्थिति छ। जारी खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम नाम सर्वसम्मतले अनुमोदन गरेको हो । बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो। उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।
आज काग तिहार
काठमाडौं । आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने मान्यता रहेको छ । आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने हिन्दुहरुमा चलन रहि आएको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धार्मिक क्षेत्रका विद्धानहरु बताउछन् ।