साझा बसको सेवाले बन्दको पीडामा केही राहत

साझा बसको सेवाले बन्दको पीडामा केही राहत

काठमाडौँ, २० पुस । पटक–पटक बन्द–हडतालबाट दुःख पाएका यात्रुले साझा यातायातको सेवालाई सुखका रुपमा लिएका छन् । बन्द, हड्तालबाट हैरान बनेका यात्रुले उपत्यकामा बुधबार भएको बन्दका क्रममा साझा यातायातलार्य सेवा थप गर्न सुझाएका छन् ।

सडक विस्तार गर्दा भत्किने घर र सडकमा पर्ने जग्गाको क्षतिपूर्ति माग गर्दै पीडित संघर्ष समितिले आज उपत्यका बन्दको आयोजना गर्दा विभिन्न पेसा र व्यवसायमा आवद्ध यात्राु समयमै गन्तव्यमा पुग्न पाएनन् । सडकमा फाट्टफुट्ट मात्र सवारी चलेका थिए । उपत्यका बन्द घोषणा गरिए पनि साझाले निरन्तर बस सञ्चालनमा लियो ।

सुरक्षाको प्रत्याभूति भएपछि उपत्यकाका चारवटा मार्गमा ३९ बस नियमित सञ्चालनमा ल्याइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए । बन्दका बेला चलेका सफा टेम्पो तथा अन्य सवारी साधनले तोकिएको गन्तव्यमा नपुर्याई यात्रुलाई आधा बाटोमा झारेर दोब्बर भाडा असुलेका छन् ।

जोरपाटीबाट सुन्धारातर्फ जानुपर्ने टेम्पोले चाबहिलमै यात्रुलाई झारेर भाडा भने सुन्धारसम्मकै लिएको यात्रु ग्याल्जेन शेर्पाले गुनासो गरे। यसअघि पुस ७ गते भएको बन्दमा पनि अन्य सवारी साधन आंशिकमात्र गुडेपनि साझाका ४० वटै सवारी साधनले सेवा दिएका थिए ।

‘साझा यातायातले ३६५ दिन नै यात्रुलाई सेवा दिने गरेको छ, अघिल्लो पटकको बन्दमा उपत्यकामा ४० वटा सवारी साधन चलेकामा आज एउटा सवारी साधन मर्मतमा रहकाले ३९ वटाले नियमित सेवा दिइरहेका छन्’– निमित्त कार्यकारी अधिकृत पाण्डेले भने ।

लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०, लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा १०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० साझा यातायात सञ्चालन हुँदै आएको छ ।

बिहान ६ः३० बजेदेखि बेलुकी ८ बजेसम्म नियमित रुपमा साझाका बस तोकिएका मार्गमा चलेको देखेपछि भक्तपुरमा पनि साझाको सेवा आवश्यक देखिएको सूर्यविनायक निवासी बलराम कोजुले बताए ।

‘अरु सवारी साधनले मन लागे चलाउँछन्, मन नलागे ग्यारेजमा थन्क्याउँछन्, तर साझाका सवारी साधन भने तालिकाअनुसार चलेको देख्दा भक्तपुरमा पनि यो सेवा विस्तार भए सुविधा पाइन्थ्यो, अरु यातायात व्यवसायीले भाडा पनि यातायात व्यवस्था विभागले तोकेभन्दा बढी उठाउने गरेका छन्, यातायात व्यवसायीले चलाएका साधनले सवारी तथा यातायात व्यवस्था ऐनमा भएको प्रावधान बमोजिम टिकट पनि दिन्नन्”– उनले रासससँग भने ।

आज उपत्यका बन्दका क्रममा तोडफोडका घटना नभएको र सडकमा बसेर टायर बाली यातायात अवरुद्ध गर्न खोज्ने ७६ जनालाई कालीमाटी, टोखा, जोरपाटी, थलीलगायतका स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

नयाँसडक क्षेत्रका सडकमा आजदेखि पार्किङ निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि नयाँसडक क्षेत्रमा सवारी साधन पार्किङ्मा रोक लगाउने भएको छ । महानगरले नयाँसडक क्षेत्रका कालोपत्रे सडकहरुमा पार्किङ निषेध गर्न लागेको हो । धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महावौद्ध, वीरअस्पताल तथा आसपासका कालोपत्रे सडकमा पार्किङ् निषेध लागू हुनेछ । त्यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ । उक्त स्थानमा तीन सय वटा चारपांग्रे र सात सय वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिने दाबी गरिएको छ । नयाँसडक क्षेत्रलाई पार्किङ् निषेध गरेर विशेष सरसफाइ अभियान थाल्ने महानगर प्रहरीले जनाएको छ ।

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्रे

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे सकिएको हो । सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए । त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ । उनले भने, “सबैगरी १९.५ किलोमिटर कालोपत्रे भएको छ । कालोपत्रेमध्ये ७।२ किमीमा दुईतर्फी कालोपत्रे सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रेको काम भइरहेको छ ।” त्यसपछि बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रेको काम हुने पाण्डेले बताए । उनका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ । रासस

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लियो

चितवन । निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम अगाडि बढेको छ । २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको उनले बताइन् । सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाईनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भईसकेको छ । महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाईन, दुई वटा कल्र्भट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाई भएको थियो । भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भएपनि मूख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ पुलचोक सडक तीब्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ । निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाईनल कालोपत्रे र सकेसम्म रङ रोगनको काम गर्ने अघि बढेको छ । निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाईल पठाईएको उनले जानकारी दिइन्। फागुनको पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेको भनाई छ । पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङगनाका अनुसार सडको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइन् । यस्तै, लायन्स चोकदेखि रोटरी भवनसम्म सब ग्रेड गर्ने कार्य सुरु भईरहेको छ भने फागनुको दोस्रो सातासम्म (डिबिएम फस्ट लेयर)पहिलो चरणको कालोपत्रे भईसक्ने म्यानेर ढुङ्गानाले बताए। २०७७ साल माघदेखि सुरु भएको ६.०८ किलोमिटर सडकको मंसिर महिनामै सकिएको छ । निर्माण कम्पनीले म्याद थप गर्ने प्रकृयामा छ ।

रेलमार्गको रेखाङ्कन गर्दा मानववस्ती प्रभावित नहोस् : माओवादी केन्द्र चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वी-पश्चिम (मेची-महाकाली) द्रुत रेलमार्ग रेखाङ्कन गर्दा मानववस्ती विकासको मोडेल र कम धन सम्पत्ती क्षति हुने गरी तयार गर्न आग्रह गरेको छ । माओवादी केन्द्र चितवनका संयोजका रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै विभिन्न संचार माध्यम, सरोकारवाला निकाय र पिडित संघर्ष समितिबाट प्राप्त जानकारी र सुचना अनुसार चितवन जिल्लाका राप्ती, खैरहनी, र.न.पा.र भरतपुरका विभिन्न वडामा मानवबस्तीलाई प्रभावित हुने गरी सबै एरिया रेखाङ्कन गरीएको भन्ने विषय प्रति नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्ति मार्फत उनले लमार्गको सिमा र प्रभावित क्षेत्रफल र रेखाङक्नको विषयमा स्थानिय सरकार, सरोकावाला निकाय, राजनीतिक दल, प्रभावित जनतासँग कुनै पनि संवाद, छलफल, अन्र्तक्रिया र सहमति बिना गरिएको कुराले यो निर्णय आफैमा अवैज्ञानिक, अव्यवस्थित र विकास निमार्णको मोडेलमा नै प्रश्न चिन्ह उठ्ने गरी भएको समेत बताएका छन् । साथै उनले रेलमार्ग रेखाङ्कनको वैकल्पिक, वैज्ञानिक, व्यवस्थीत र जनहित हुने बनाउने कुरामा प्रतिबद्ध रहेको समेत बताएका छन् । यस्तो छ विज्ञप्ति

लोकप्रिय